विप्रेषण अर्थतन्त्र
जापानमा सिकेको सीप, कमाएको पुँजी र स्वदेश फर्केर फैलाएको रेस्टुराँ व्यवसाय
चितवन। जापानको नागोयामा कृष्ण पौडेलका दुई वटा रेस्टुराँ चलिरहेका थिए। पार्टटाइमसहित ४० जनाले रोजगारी पाएका थिए। व्यवसाय विस्तार भइरहेको थियो। उनको ध्यान भने भरतपुरमा बन्दै गरेको आफ्नै घरतिर थियो।
त्यो बस्नका लागि बनाइएको सामान्य घर मात्र थिएन। भुइँतलामा जापानी रेस्टुराँ सञ्चालन गर्ने गरी नक्सा तयार गरिएको थियो। भान्सा र भित्री संरचना पनि रेस्टुराँकै आवश्यकताअनुसार बनाइएको थियो।
जापान गएको दिनदेखि नै कुनै दिन स्वदेश फर्किने सोच बनाएका कृष्णले त्यही घरबाट आफ्नो योजना पूरा गरे। एक दशक जापानमा बिताएर उनी पत्नी विनीता सेढाईं र जापानमै जन्मिएका दुई छोरासहित चितवन फर्किए। साथमा थियो, जापानी रेस्टुराँ ब्रान्ड ‘याप्पारी स्टेक’ को ‘फ्रेन्चाइज’ व्यवसाय चलाएको अनुभव र विदेशमा कमाएको पुँजी।
जापानी भाषामा ‘याप्पारी’ शब्दले ‘सोचे जस्तै’ वा ‘अपेक्षाअनुसार’ भन्ने भाव दिन्छ भने ‘स्टेक’ ले सेकाएर तयार गरिने मासुको परिकार जनाउँछ। जापानमा यही नामको रेस्टुराँका दुई फ्रेन्चाइज सञ्चालन गरेका कृष्ण पौडेलले त्यहाँ सिकेको स्वाद, सीप र व्यावसायिक अनुभव स्वदेश ल्याए। उनले असार २०८० मा भरतपुर महानगरपालिका-१०, स्याउलीबजारमा याप्पारी स्टेक सञ्चालनमा ल्याए।

कृष्ण पौडेल। तस्बिर : सबिता श्रेष्ठ
ग्राहकको प्रतिक्रिया राम्रो पाएपछि १० महिनामै पुरानो मेडिकल कलेज रोडमा अर्को शाखा खोलेका छन्। त्यसपछि अन्य तीन लगानीकर्तासँग मिलेर क्षेत्रपुरमा लिम्बा थकाली रेस्टुराँ पनि सञ्चालनमा ल्याएका छन्।
जापानमा सिकेको सीप र जोडेको पुँजीलाई स्वदेशमा उद्यमसँग जोडेका ३८ वर्षीय कृष्णको अबको लक्ष्य काठमाडौँ हो।
जहाज चढ्दा नै फर्किने निधो
जापान जानुअघि कृष्ण चितवनमा पत्रकारिता गर्थे। चार वर्ष संवाददाताका रूपमा काम गरेपछि राम्रो अवसर खोज्दै विदेश जाने निर्णय गरे। “बाहिर जाँदा अलि बढी कमाइ हुन्छ भन्ने लाग्यो। उमेर पनि अल्लारे नै थियो,” उनी भन्छन्, “अवसरकै लागि गइयो।”
सन् २०१४ को सुरुआतमा उनी अध्ययन भिसामा जापान पुगे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्ने बेलामै उनलाई आफ्नो निर्णयप्रति दोधार भएको थियो। “जहाज उड्ने बेलामा मैले गल्ती गरिरहेको छु भन्ने लागेको थियो,” पहिलो विदेश यात्रा सम्झिँदै उनी भन्छन्, “छिटै फर्किन्छु भन्ने सोचेको थिएँ।”
परिवारको आर्थिक अवस्था राम्रै भएकाले उनलाई कमाएर घर पठाउनुपर्ने ठूलो दबाब थिएन। तर, जापान पुगेर शून्यबाट काम सुरु गर्दा कठिन भएको थियो। विदेशमा भाँडा माझेर काम गर्नुपर्दा कतिपटक ‘किन आएछु’ भन्ने लागेको उनी सुनाउँछन्।

कृष्ण पौडेल।
बिस्तारै जापानको वातावरणमा अभ्यस्त हुँदै गए। त्यसपछि उनी अर्को दोधारमा परे। “धेरै काम गरेर पैसा कमाउने कि भाषा सिकेर भोलिका लागि राम्रो हुने काम गर्ने भन्ने भयो,” उनी भन्छन्, “अन्तत: खान, बस्न र पढ्न पुग्ने गरी कमाउँछु भन्ने सोचेँ। त्यसपछि जापानी भाषा सिक्न र त्यहाँको वातावरण बुझ्न समय दिएँ।”
भाषा राम्रो नभएसम्म जापानमा अघि बढ्न कठिन हुने उनले बुझेका थिए। अध्ययनलाई प्राथमिकता दिँदा कतिपय अवस्थामा खर्चका लागि परिवारसँग सहयोग पनि माग्नुपर्यो।
पछि, उनले पत्नी विनीतालाई आश्रित (डिपेन्डेन्ट) भिसामा जापान लगे। दुई जनाले कमाउन थालेपछि खर्च व्यवस्थापन गर्न र ऋण तिर्न सहज भएको उनी सम्झन्छन्।
अटोमोबाइलबाट रेस्टुराँतिर
भाषा कक्षा पूरा गरेपछि कृष्णले दुई वर्ष अटोमोबाइल इन्जिनियरिङ अध्ययन गरे। त्यो विषय रोज्नुका पछाडि पनि स्वदेश फर्किने सोच जोडिएको थियो। “जापान गाडी उत्पादनमा अगाडि छ। त्यहाँ प्रतिष्ठित कम्पनीहरू छन्,” उनी भन्छन्, “त्यसबारे पढेर सिकेको सीप नेपालमा प्रयोग गर्न सकिन्छ भन्ने सोचेको थिएँ।”
भाषामा दक्ष भएपछि उनले राम्रा कम्पनीमा काम गर्ने अवसर पाए। जापानी नागरिकसँग चिनजान बढ्यो र अटोमोबाइलसम्बन्धी काम पनि पाए।
अटोमोबाइल कम्पनीमा करिब ६ महिना काम गरेपछि उनले ‘हान्जो इन्क कर्पोरेसन’ कम्पनी खोले। कम्पनीमार्फत जापानमा रहेका नेपालीलाई भाषा, कोठा खोज्न र दोभासेको काममा सहयोग गर्थे।
त्यही क्रममा उनी याप्पारी स्टेकसँग जोडिए। सुरुमा रेस्टुराँका लागि परामर्शदाताका रूपमा काम गरे। याप्पारीका जापानी सञ्चालकले उनलाई फ्रेन्चाइज चलाउन सुझाए।

पोर्क मिक्स स्टेक।
उनी बस्ने नागोया सहरमा त्यतिबेला याप्पारीको शाखा थिएन। सञ्चालकबाट सहयोगको प्रतिबद्धता पाएपछि उनले रेस्टुराँ खोल्ने आँट गरे। “आफैँ बसेको सहरमा एउटा चलाउन भनेपछि मैले आँटेँ,” सुरुआती दिन सम्झिँदै उनी भन्छन्, “त्यस क्रममा जापानीहरूबाट धेरै सहयोग पाएँ।”
नागोयामा खोलेको रेस्टुराँको व्यवसाय राम्रो भएपछि उनले अर्को शाखा पनि खोले। दुई रेस्टुराँमा पार्टटाइमसहित काम गर्नेहरू ४० जना पुगे।
अटोमोबाइल पढेका कृष्ण काम गर्दै जाँदा रेस्टुराँ व्यवसायमै रमाउन थाले। भाषा, स्थानीय सम्पर्क र जापानी कार्यसंस्कृतिसँगको परिचयले उनलाई व्यवसाय विस्तार गर्न सहयोग गर्यो।
नेपालमा सम्भावना खोज्दै
जापानमा याप्पारीका दुई शाखा चल्न थालेपछि कृष्णलाई नेपालमा पनि रेस्टुराँ सञ्चालन गर्न सकिन्छ भन्ने लाग्यो। नेपाल आएका बेला उनले भरतपुरका व्यवसायी र आफन्तसँग सल्लाह गर्न थाले। “नेपाल आएका बेला आफ्ना योजना सुनाउँथेँ र परिकार बनाएर चखाउँथेँ,” उनी भन्छन्, “राम्रो हुन्छ भन्ने सुझाव पाएपछि आँट आयो।”
जापानमा व्यवसाय स्थापित भइसकेकाले नेपाल फर्किने निर्णय गर्न भने सहज थिएन। तर, विदेश जाने बेलादेखिको फर्किने अठोट र नेपालमा केही गर्ने चाहनाले उनलाई निर्णयमा पुग्न सघायो।
नेपाल फर्किनु दुई वर्षअघिदेखि नै उनले तयारी थाले। भरतपुरको पुर्ख्यौली जग्गामा बन्ने घरको नक्सामा रेस्टुराँका लागि आवश्यक संरचना समेटे। पैसा जुटाए। भित्री सजावट र उपकरणको योजना बनाए। “रेस्टुराँ नै चलाउँछु भनेर घर बनाएँ। त्यसका लागि भूमिगत पाइप जडान गर्ने र सबै टेबलमा ग्यास पुग्ने व्यवस्था मिलाएँ,” उनी भन्छन्, “चाहिने पूर्वाधारको योजना बनाएरै निर्माण सुरु गरेको हुँ।”
घर र रेस्टुराँको भित्री संरचना तयार भएपछि जापानबाट आवश्यक सामग्री पठाए। परिवारसहित नेपाल फर्किएर याप्पारी सञ्चालनमा ल्याए। भरतपुरको रेस्टुराँ सञ्चालनमा आएपछि मात्र उनले जापानमा रहेका आफ्ना फ्रेन्चाइज बिक्री गरेका थिए।
जापानी सिप, नेपाली स्वाद
याप्पारी स्टेकमा तातो कालो ढुंगामाथि मासु राखेर ग्राहकलाई दिइन्छ। कृष्णका अनुसार रेस्टुराँमा प्रयोग हुने ढुंगा जापानको माउन्ट फुजी क्षेत्रको ज्वालामुखीय ढुंगा हो।
उनले ढुंगा, त्यसलाई तताउने मेसिन र केही मसला जापानबाटै ल्याएका छन्। करिब दुई किलोग्राम तौलका २०० वटा ढुंगा नेपाल ल्याएको उनी बताउँछन्। तर, ढुंगा ल्याउने प्रक्रिया सहज भएन। “ढुंगा के हो भनेर बुझाउनै समय लाग्यो। पठाउँदा के भनेर पठाउने भन्ने समस्या भयो,” उनी भन्छन्, “नेपाल ल्याउन पुरातत्त्व विभागमा लैजानुपर्छ भन्नेसम्मका कुरा आए।” यसअघि त्यस्तो ढुंगा आयात नभएकाले प्रक्रिया लम्बिएको उनको भनाइ छ। पछि ‘बार्बिक्यु स्टोन’ उल्लेख गरेर ल्याउन सफल भए।
मासुका परिकारसँगै दिइने जापानी सस भने उनले ल्याउन सकेनन्। जापानी भाषामा मात्र विवरण भएका सस आयात गर्न खाद्यसम्बन्धी प्रक्रिया पूरा गर्न नसकिएको उनी बताउँछन्। त्यसपछि नेपालमै उपलब्ध सामग्री प्रयोग गरेर सस तयार गरे।
आवश्यक सामग्री जापानबाट ल्याए पनि स्वाद भने जस्ताको तस्तैले काम चलेन। सुरुमा कृष्णले जापानकै स्वादका परिकार तयार गरेका थिए। नयाँ रेस्टुराँ र परिकार हेर्न आउनेको भिड लाग्यो। तर, केही समयपछि ग्राहक घट्न थाले।
जापानी परिकार नेपाली ग्राहकको स्वादअनुकूल नभएको उनले बुझे। त्यसपछि मूल शैली कायम राख्दै मसला र स्वादमा परिवर्तन गरे। “जापानको जस्तै परिकार यहाँ खासै रुचाइएन,” उनी भन्छन्, “न पूर्ण रूपमा नेपाली मसलेदार, न जापानी शैलीको कम मसला भएको। अहिले नेपाली र जापानी स्वादको मिश्रण बनाएका छौँ।”
परिकारमा स्थानीय स्वाद मिसाएपछि नियमित ग्राहक बढ्न थालेको उनी बताउँछन्। ग्राहकको प्रतिक्रियाकै आधारमा एक वर्ष नपुग्दै दोस्रो आउटलेट सञ्चालनमा ल्याएका छन्। “घाटामा गएको छैन। तर, धेरै नाफा भएर पनि होइन। ग्राहकको राम्रो प्रतिक्रियाका कारण अर्को आउटलेट सुरु गरेको हुँ,” उनी भन्छन्।

कृष्ण पौडेल।
दुवै आउटलेटमा दैनिक पोर्क र चिकेन गरी करिब २० किलो तथा मटन पाँच किलो खपत हुने गरेको उनी बताउँछन्। पोर्क स्टेक, चिकेन स्टेक र चिकेन नान कोचु उनको रेस्टुराँमा बढी रुचाइने परिकार हुन्।
प्रत्येक आउटलेटमा एक करोड रुपैयाँ जति लगानी रहेको कृष्ण बताउँछन्। जापानमा गरेको बचतमा केही ऋण थपेर उनले लगानी गरेका हुन्।
तातो ढुंगामाथि पस्किने भएकाले खाना चाँडै नसेलाउने र ग्राहकले खान सुरु गर्दादेखि सक्दासम्म तातोपन कायम रहने उनी बताउँछन्। खानाको स्वच्छता र स्वादमा एकरूपता कायम गर्ने कुरामा ध्यान केन्द्रित गरिएको उनको दाबी छ।
याप्पारीपछि लिम्बा
याप्पारीका दुई आउटलेट सञ्चालनमा आएपछि कृष्णले भरतपुरमै अर्को व्यावसायिक योजना अघि बढाए। उनले अन्य तीन जना लगानीकर्तासँग मिलेर भरतपुर महानगरपालिका-२, क्षेत्रपुरमा लिम्बा थकाली रेस्टुराँ सञ्चालनमा ल्याएका छन्।
परम्परागत थकाली खाना पस्किने उद्देश्यले लिम्बा सुरु गरेको उनी बताउँछन्। रेस्टुराँ खोल्नुअघि परिकार र थकाली खानाको शैली बुझ्न धेरै पटक मुस्ताङ पुगेको उनको भनाइ छ।
व्यवसाय विस्तारमा पत्नी विनीताले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। जापानमा करिब सात वर्ष याप्पारीमै काम गरेकाले उनी भान्सादेखि व्यवस्थापनसम्म सक्रिय हुन्छिन्। “विनीताले पनि जापानमा करिब सात वर्ष याप्पारीमै काम गरेकी हुन्। आवश्यक पर्दा भान्सामा पनि सहयोग गर्न सक्छिन्,” उनी हाँस्दै भन्छन्, “म खोल्दै जाने, उनले सहयोग गर्दै जाने भएको छ।”

विनीता सेढाईं।
विदेशमा दुई जनाले सँगै काम गरेर कमाएको रकम अहिले उनीहरूले स्वदेशमा लगानी गरेका छन्। जापानमा सिकेको सीप पनि दुवैका लागि उद्यम सञ्चालनको आधार बनेको छ।
जापानले बदलेको कामप्रतिको सोच
कृष्ण जापानबाट रेस्टुराँको फ्रेन्चाइज र पुँजी मात्र लिएर फर्किएका छैनन्, त्यहाँको कार्यसंस्कृति पनि बुझेर आएका छन्। त्यसले कामप्रतिको आफ्नो दृष्टिकोण नै बदलिदिएको उनी बताउँछन्।
जापानमा रेस्टुराँ सञ्चालकदेखि कर्मचारीसम्मले आवश्यकताअनुसार सबै काम गरेको उनले देखे। कामलाई ठूलो वा सानो भनेर छुट्याइँदैनथ्यो। “सबैले सबै काम गरेको देखेपछि मेरो सोच नै बदलियो,” उनी भन्छन्।
रेस्टुराँ सञ्चालक स्वयंले समेत भाँडा माझेको देखेपछि उनले पनि जुनसुकै काम गर्न सिके। “वेटरका रूपमा काम गर्दा खाना पुर्याउन, भाँडा उठाउन, अर्डर लिन र काउन्टरमा पैसा लिन पनि जानुपर्थ्यो,” उनी भन्छन्, “भाँडा थुप्रिएको छ भने माझ्नुपर्थ्यो। सञ्चालकले नै सबै काम गरिरहेको अवस्थामा कामदारले पनि गर्नुपर्छ।”
जापानमा सिकेको अभ्यास उनले भरतपुरमा पनि छाडेका छैनन्। आवश्यक पर्दा आफैँ रेस्टुराँका सबै काममा खटिन्छन्।
व्यवसायबाट सञ्चालक र कर्मचारी दुवैको घर चल्ने अवस्था बन्नुलाई उनी सफलताको आधार मान्छन्। “लगानी गरेपछि व्यवसाय चल्न र चलाउन सक्नु नै ठूलो कुरा हो,” उनी भन्छन्, “मेरो र कर्मचारीको घर चल्छ भने पैसा बैंकमा राखेर ब्याज लिनुभन्दा व्यवसायमै लगानी गरेर आम्दानी गर्नु उचित हो भन्ने लाग्यो। त्यसैले थप लगानी गर्न मन लागेको हो।”
अबको गन्तव्य काठमाडौँ
जापानका याप्पारी रेस्टुराँमा बिफको परिकार बढी बिक्री हुन्थ्यो। भरतपुरमा भने पोर्क र चिकेनका परिकार बढी रुचाइएको कृष्ण बताउँछन्।
यसले उनलाई विदेशी व्यवसायको ढाँचा र स्वादलाई स्थानीय बजारअनुसार बदल्नुपर्ने पाठ सिकाएको छ। ब्रान्ड, उपकरण र प्रविधि विदेशबाट ल्याए पनि उपभोक्ताको रुचि बुझेर परिकार परिमार्जन नगरे व्यवसाय टिक्न कठिन हुने उनको अनुभव छ।
आफूले भरतपुरमा फ्रेन्चाइज सञ्चालन गरेपछि याप्पारी अस्ट्रेलिया, सिंगापुर र फिलिपिन्सलगायत देशमा पनि विस्तार भएको उनी बताउँछन्। यसले उनलाई नेपालमा थप शाखा खोल्न हौसला दिएको छ।
दुई याप्पारी र एउटा थकाली रेस्टुराँपछि अब उनको व्यावसायिक नजर काठमाडौँमा छ। सम्भावित स्थानको अध्ययन र समूह निर्माणको काम भइरहेको छ। “काठमाडौँमा ठाउँ खोज्ने काम भइरहेको छ,” उनी भन्छन्, “अबका आउटलेट समूहमा सञ्चालन गर्ने गरी जापानबाट फर्किएकाहरूसँग छलफल भइरहेको छ।”