काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

४ श्रावण २०८३
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले प्रदेशमा संविधानको मर्मविपरीत सत्ता समीकरण बनाउन नहुने स्पष्ट पारेको छ।

बीपी स्मृति दिवसका बारेमा जानकारी दिन पार्टी कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिपक्षीविहीन प्रदेश सभाको कल्पना संविधानले नगरेको बताए। उनले संविधानको मर्मविपरीत सत्ता समीकरण बनाउन नहुने पनि स्पष्ट पारे।

शर्माले कांग्रेस प्रतिपक्षविहीन प्रदेशको परिकल्पना नगरीकन टुंगोमा पुग्नुपर्छ भन्ने मान्यतामा अघि बढेको बताए। आवश्यक परे प्रतिपक्षमा बस्न तयार रहेको उनको धारणा थियो। अहिलेको प्रतिकूल परिस्थिति र संविधान संशोधनको संवाद/छलफलहरू पनि चलिरहेको अवस्थामा संविधानको मूल मर्मबाट बाहिर जान नहुने उनको भनाइ छ।

त्यस्तै उपसभापति शर्माले पार्टीको १५औँ महाधिवेशनमा पार्टीका सबैले सहभागी बन्ने वातावरण सहज बनाउन संवाद, छलफलहरू भइरहेको बताए। “पार्टीको आन्तरिक विषय सकारात्मक ढंगले टुंगिन्छ भन्नेमा विश्वस्त छु‚” उनले भने।

उपसभापति शर्माले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस विविध कार्यक्रम साथ ६ र ७ साउनमा देशव्यापी आयोजना गरिने पनि जानकारी दिए।

प्रतिष्ठानको आयोजनामा ६ साउनमा जलवायु परिवर्तनसँग सम्बन्धित तथा ७ साउनमा पार्टीको ‘जरा अभियान’ पछिको अर्को नवीन अभियान घोषणासहितको कार्यक्रम हुने उपसभापति शर्माले बताए।