काठमाडौँ
००:००:००
८ श्रावण २०८३, शुक्रबार

८ श्रावण २०८३
अ+
अ-

काठमाडौं। नेपालको ऊर्जा क्षेत्रको नियामक निकायका रूपमा स्थापित विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रालयमा आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक, जयराज भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

ऊर्जामन्त्री श्रेष्ठले आयोगमा अनुभवी पदाधिकारी आएको भन्दै नीतिगत र संरचना सुधारका लागि काम गर्न निर्देशन दिए। उनले मन्त्रालयबाट आयोगको कामलाई पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे। आयोगका पदाधिकारीले सरकारको स्पिरिटअनुसार सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका थिए।

आयोगका अध्यक्ष धितालले सरकारको सुशासनको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने बताए। मन्त्रालयको मार्गनिर्देशनमा नियामकीय भूमिका निर्वाह गर्ने, विद्युत्को राष्ट्रिय खपत बढाउन सहजीकरण गर्नेलगायत काम गर्ने उनको कथन थियो।

‘आयोगलाई मन्त्रालयको नीतिगत मार्गदर्शन, अभिभावकत्व हुनुपर्छ । मन्त्रालयसँग समन्वयमा रहेर काम गर्छौँ। यो टिमले निराश पार्दैन’, उनले भने।

आयोगका सदस्यहरूले पनि आफूहरू २०औँ वर्ष यही क्षेत्रमा काम गरेको भन्दै आफ्नो सिकाइ र अनुभवलाई प्रयोग गरेर नतिजामुखी परिणाम निकाल्न लाग्ने प्रतिबद्धता जनाएका थिए।