काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) को भूमिकामाथि प्रश्न उठाएका छन्।
जेन–जी आन्दोलनपछि मुलुक अन्तरिम सरकारतर्फ जाने तयारी भइरहेका बेला साम्पाङले बालेनलाई “संकटको समयमा लुकेर सडकमा आउन नसक्ने डरपोक” भन्दै आलोचना गरेका हुन्।
उनले बिहीबार सामाजिक सञ्जालमार्फत नाम नलिई बालेनलाई लक्षित गर्दै लेखे, “संकटको बेलामा लुक्ने, अरुको काँधमा जिम्मा हाल्ने, असहज परिस्थितिको सामना गर्न नसक्ने मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न विकास।”
साम्पाङ बुधबार जंगी अड्डा पुगेका थिए, जहाँ उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका थिए। उनले आफूलाई जेन–जी युवाहरूले बोलाएर काठमाडौँ आएको दाबी पनि गरेका छन्।
युवा पुस्ताले बालेनलाई सरकारको नेतृत्व लिन सुझाए पनि बालेनले भने अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन जनाएका छन्। उनले साम्पाङलगायत आकांक्षी नेताहरूलाई अझ केही वर्ष तयारी गरेर मात्र जिम्मेवारी लिनुपर्ने सुझाव दिएका छन्।
बालेन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बन्ने लक्ष्यसहित नयाँ दल गठन गर्ने तयारीमा रहेको बुझिएको छ। त्यसैले पनि उनले अन्तरिम सरकारको नेतृत्व नलिने बताइएको छ।