क्रिकेटले सफलता चुमिरहँदा कहाँ चुक्यो फुटबल?
काठमाडौं। नेपाली खेलकुदमा बिर्सन नहुने एउटा नाम हो, अशोक केसी। २०३० सालको दशक उनी फुटबल मात्र होइन, क्रिकेट पनि दमदार खेल्थे। तर उनले फुटबल रोजे।
नेपाली पुरुष क्रिकेटमा सफल कप्तानको हैसियत बनाएका पारस खड्का कुनै बेला फुटबल खेलाडी बन्न युथ–१७ छनोट स्पर्धामा सहभागी भएका थिए। तर, उनी क्रिकेटतर्फ लागे। अशोकले फुटबल रोजेका बेला आय–आर्जनको हिसाबले क्रिकेटभन्दा धेरै राम्रो अवस्थामा थियो, फुटबल। त्यसैले उनी फुटबलतर्फ मोडिए। तर, पारस यतिबेला नयाँ पुस्ताका लागि सफलताको पर्याय बनेका छन्।
यी दुवै खेलाडी नेपाली खेलकुदका प्रतिनिधि पात्र हुन्, जसले फुटबल र क्रिकेटको कथा बयान गर्छन्। अहिले अवस्था फेरिएको छ। नाम र दाम कमाउने मामिलामा फुटबल खेलाडीलाई क्रिकेटरहरूले उछिनेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डे भन्छन्, “नेपालमा फुटबल र क्रिकेटको सुरूवात लगभग उस्तै समयमा भएको हो। तर, पछिल्लो समय फुटबलको तुलनामा क्रिकेट माथि उठ्नुमा व्यवस्थापकीय दक्षता प्रमुख कारण हो।”
नेपालको सन्दर्भमा फुटबललाई गरिब र क्रिकेटलाई धनीको खेल मान्ने गरिन्छ। क्रिकेटमा ब्याट, बल, विकेट र पीचमा चर्को लगानी गर्नुपर्ने हुन्छ। तर, यति हुँदाहुँदै पनि युवाको लगाव यतिसम्म चुलिइसकेको छ– नेपाली क्रिकेटले आन्तरिक द्वन्द्व, राजनीतिक हस्तक्षेप, आर्थिक संकट र प्रतिबन्धसम्मको यात्रा पूरा गरिसक्दा टी–२० को विश्वकप खेलेर कीर्तिमान बनाइसकेको छ। त्यो पनि एक पल्ट होइन, दुई–दुई पल्ट।
विडम्बना, नेपाली फुटबलले सात दशक लामो यात्रा पूरा गरिसक्दा पनि दक्षिण एसियाभन्दा माथि उठ्न सकेको छैन।
समान स्तर, फरक कथा
सरकारी चासोका कारण फुटबलले सुरूदेखि नै बलियो जग बनाएको कुरा सर्वविदितै छ। २००७ साल अगाडिदेखि व्यवस्थित क्लबको रूपमा न्युरोड टिम (एनआरटी) को जन्म भइसकेको थियो। पछि रानीपोखरी कर्नर टिम (आरसीटी) जोडियो। २००८ सालमा रामजानकी कप आयोजना गर्न राज्यले नै लगानी गर्यो। सहिद स्मारक लिग २०११ सालदेखि सञ्चालन हुँदा दशरथ रंगशाला आफ्नो मुहार फेर्ने अभियानमा थियो।
फुटबलको तुलनामा क्रिकेटलाई तलबाट माथिसम्मको संरचना निर्माण गर्न ४३ वर्ष लाग्यो। क्रिकेटमा पहिले विष्णु ट्रफी र मदन मेमोरियल शिल्डको आयोजना हुन्थ्यो। ती प्रतियोगितामा भाग लिने अधिकांश क्लब काठमाडौं केन्द्रित थिए। तर, २०३७ सालदेखि जय ट्रफीको नाममा सबै अञ्चललाई समेटेर क्रिकेटको छुट्टै राष्ट्रिय प्रतियोगिता आयोजना हुन थाल्यो। यसले व्यापकता पायो अझ् सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) को मान्यता पाएपछि नेपाली क्रिकेट देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पुग्यो।

अमेरिकामा सडकमा बसेर विश्वकप क्रिकेट हेर्दै नेपाली समर्थक । तस्बिर- आइसीसी ।
फेरिएको संरचनामा क्रिकेटले आफूलाई जिल्लादेखि गाउँसम्म केन्द्रित गर्यो। फुटबल भने त्यही साँघुरो घेरामा रह्यो। लिगलाई काठमाडौंभन्दा बाहिर फैलाउन सकेन। क्लबका अधिकांश संरचना राजधानी केन्द्रित रहे। ‘क्रिकेटका लागि हामी गाउँगाउँमा प्रतिभा खोज्न गयौं। त्यसैले पारस खड्का, शक्ति गौचनजस्ता खेलाडी उत्पादन गर्न सफल भयौं। विश्वकप खेल्न सफल भयौंं’, पाण्डे भन्छन्।
विगत केलाउने हो भने ४० वर्ष नेपाली क्रिकेट जयकुमारनाथ शाह र विनयराज पाण्डेको वरिपरि घुमिरह्यो। यस्तै अवस्था फुटबलको पनि देखिन्छ। फुटबलमा पनि ३० वर्ष थापा परिवार (कमल थापा र गणेश थापा) को रजाई देखिन्छ।
क्रिकेटले आफ्नो प्रशासन बलियो बनाउँदै गर्दा फुटबलमा भने वंशवाद हावी भयो। दुई दशक अखिल नेपाल फुटबल संघ (एन्फा) चलाएका गणेश थापालाई भ्रष्टाचार कारण फिफा (विश्व फुटबल महासंघ) ले १० वर्ष लामो प्रतिबन्ध लगायो। कुनै बेला दक्षिण एसियाको बलियो प्रतिस्पर्धी नेपाल अहिले मुर्झाएको अवस्थामा छ।
कुनै बेला भारतका स्टार क्रिकेटर विराट कोहलीलाई टेलिभिजन स्क्रिनमा देखेर क्रिकेट खेल्न थालेका सोमपाल कामीले सन् २०२३ मा एसिया कपमा एउटै क्रिजमा उनीसँग क्रिकेट खेल्न भ्याए।
‘पैसाको कुरा आउँदा विवाद पनि आउने रहेछ। हाम्रोमा पनि त्यस्तो विवाद नआएको होइन तर समाधान गरेर हामी यहाँसम्म पुगेका हौं,’ राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा प्रशिक्षक दीपेन्द्र चौधरी भन्छन्। गणेश थापाको कार्यकालमा प्रशिक्षकलाई कामचलाउ जस्तै बनाइयो। कुरा मिल्दासम्म पदमा राखिरहने नत्र हटाइहाल्ने। ठिक उल्टो क्रिकेटले लामो समय एउटै प्रशिक्षकलाई निरन्तरता दियो। नेपाली क्रिकेटको कायापलट हुनुको एउटा मुख्य पक्ष यो पनि हो। श्रीलंकाली प्रशिक्षक रोय लुक डायसले एक दशक नेपालको राष्ट्रिय तथा उमेर समूह दुवै टिम हेरे। उनकै कार्यकालमा उमेर समूहको क्रिकेटको मुहार फेरियो। उनी हुँदा पाँच पटक नेपालले यु–१९ एसिया कपदेखि विश्वकपसम्म खेल्यो।
यसपछि मात्र फुटबलका लगानीकर्ता क्रिकेटतर्फ आकर्षित भए। ‘कुनै बेला फुटबललाई विज्ञापन दिन भ्याइनभ्याइ गर्ने व्यवसायी त्यहीबाट क्रिकेटमा आकर्षित हुन थाले। संघलाई आफ्नो वार्षिक क्यालेन्डर सञ्चालन गर्न त्यति गाह्रो भएन,’ उनी थप्छन्।
एन्फा अध्यक्ष गणेश थापा सन् २०१५ मा फिफाबाट भ्रष्टाचारको मुद्दामा दोषी ठहर भए। रोचक कुरा त अर्को वर्ष नै आइसीसीले नेपाली क्रिकेटलाई प्रतिबन्ध लगायो। यसको केही वर्ष क्रिकेट र फुटबलको गतिविधि समान देखियो। बीचका केही वर्ष क्रिकेट खेलाडीले आफ्नो स्तरलाई माथि उठाउन जुन प्रकारको मिहिनेत गरे, त्यो फुटबलमा देखिएन। यसैको कारण नेपालले क्रिकेटमा एक दिवसीय मान्यता मात्र पाएन, २१ वर्षपछि एसिया कप र १० वर्षपछि दोहोर्याएर टी–२० विश्वकप खेल्यो।
कुनै बेला भारतका स्टार क्रिकेटर विराट कोहलीलाई टेलिभिजन स्क्रिनमा देखेर क्रिकेट खेल्न थालेका सोमपाल कामीले सन् २०२३ मा एसिया कपमा एउटै क्रिजमा उनीसँग क्रिकेट खेल्न पाए। ‘फुटबलमा विदेश जाने लहर र अनेकौं विवाद आउँदा हाम्रा खेलाडीहरू भने मौका कुरेर बसे। त्यो नै हाम्रो ताकत थियो,’ चौधरी भन्छन्।
क्रिकेटर पनि विदेश पलायन नभएका होइनन्। युरोपेली देश माल्टाको राष्ट्रिय महिला क्रिकेट टोलीबाट प्रतीभा भण्डारी, सुस्मा खत्री, ज्योती न्यौपानेलगायत नेपालका ६ महिला खेलाडीले ‘डेब्यु’ गरिसकेका छन्। अस्ट्रेलिया र अमेरिका पुग्नेको संख्या पनि १० जना भन्दा बढी छ। तर, क्रिकेटको तुलनामा फुटबलको तथ्याङ्क विकराल छ। राष्ट्रिय टोलीबाट खेलिसकेका ४० भन्दा बढी खेलाडी अस्ट्रेलियामा छन्। केही युएई र न्युजिल्यान्ड पुगेका छन्। अझ ‘ए’ डिभिजन लिग खेलिरहेका पाँच दर्जन बढी खेलाडीले सिनियरलाई पछ्याउँदै विदेशको बाटो तय गरिसकेको अवस्था छ तर एन्फाले यसतर्फ चासो राखेको देखिदैन।
एन्फा महासचिव किरण राई पलायनको समस्या फुटबलभन्दा देशको स्थितिले सिर्जना भएको बताउँछन्। भन्छन्, ‘फुटबलर मात्र विदेश गएका छन् र ? लाखौं नेपाली गएका छैनन् ? यो देशको समस्या हो। फुटबलको मात्र होइन।’
एन्फा उपाध्यक्ष विराटजङ्ग शाही क्रिकेटले जति स्पष्ट नेतृत्व देखायो, फुटबलले देखाउन नसकेको स्वीकार्छन्। कुनै बेला मिडफिल्डबाट खेल्ने उनी भन्छन्, ‘फुटबल द्वन्द्वमा फसिरहँदा क्रिकेटले छलाङ लगायो। फुटबल संघमा आउनेहरू कुर्सी, विदेश भ्रमण, दैनिक भत्ता र आर्थिक मोहमा फसे। फुटबल उकास्ने भिजन कतै देखिएन।’
फुटबलमा अचाक्ली बजेट
फुटबलको वार्षिक बजेट एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४ सय ५० रूपैयाँ छ। यसको तुलनामा क्रिकेटको बजेट वर्षको करिब ७० करोड मात्र छ। फिफा र दक्षिण एसियाली फुटबल महासंघ (एएफसी) ले एन्फालाई वार्षिक ६५ देखि ७० करोडको हाराहारीमा अनुदान दिने गर्छ। यसबाहेक पनि घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलाएर विभिन्न शीर्षकमा एन्फाले आम्दानी गरिरहेको छ।
अहिले क्रिकेटरलाई वर्षमा ४५/५० लाख रूपैयाँ कमाउन खासै समस्या देखिदैन । नेपाल प्रिमियर लिग (एनपीएल) जस्ता फ्रेन्चाइज लिगबाट १०–२० लाख कमाउँछन् ।
आइसीसीले क्यानलाई वार्षिक २४ करोड ५५ लाख २० हजार रूपैयाँ उपलब्ध गराउँछ, एसीसीले तीन करोड ९६ लाख रूपैयाँ। राष्ट्रिय खेलकुद परिषद्ले पनि क्रिकेटलाई वार्षिक एक करोड १० लाख रूपैयाँ अनुदान दिँदै आइरहेछ। प्रायोजकबाट ९ करोड ३५ लाख रूपैयाँ, टिकट बिक्री, बैकको ब्याज, मैदान भाडा, टेलिभिजन अधिकार, चन्दालगायत अन्य शीर्षकबाट क्यानले आम्दानी गर्दै आइरहेको प्रवक्ता छुम्बी लामा बताउँछन्।
यस वर्ष एसीसीबाट सोधभर्ना अनुदान थप नाै करोड ३२ लाख ९१ हजार आठ सय ५० रुपैयाँ प्राप्त हुने क्यानको अनुमान छ। फुटबलमा फिफाको ‘कन्ट्रोल फन्डिङ’ ठूलो थियो तर अहिले त्यो हटेको छ। एन्फाले चन्दा र विज्ञापनबाट गत वर्ष ३५ करोड ४८ लाख ४२ हजार सात सय ४६ रूपैयाँ आम्दानी गरेको थियो। ‘कर्मसियल राइट्स’ बाट दुई करोड तीन लाख २२ हजार चार सय ५६ र शुल्क तथा लेभीबाट एक करोड ४५ लाख चार हजार तीन सय रूपैयाँ पाएको थियो।
यस्तै, अन्य शीर्षकमा दुई करोड ४० लाख एक हजार सात सय ३६ रूपैयाँ आम्दानी गरेको थियो। ‘जति खेल खेलायो त्यति फिफा र एएफसीबाट पैसा आउने हो। अझ घरेलु मैदानमा खेलाए टिकटदेखि टेलिभिजन अधिकार र अन्य शीर्षकमा पैसा बनाउन सकिन्छ,’ एन्फा प्रवक्ता सुरेश शाह भन्छन् ।

नेपाली राष्ट्रिय फुटबल टाेलीका डिफेन्डर अनन्त तामाङ । तस्बिर- एन्फा ।
नेतृत्वको अक्षमता, पारदर्शिता अभाव र दूरदर्शिताको कमीले एन्फालाई थप कमजोर बनाइरहेको एन्फा उपाध्यक्ष शाही बताउँछन्। ‘पैसा आयो तर योजनाबद्ध रूपमा खर्च हुन अझै सकेको छैन। फुर्सदमा मैत्रीपूर्ण खेल खेल्दै आएका छौं। तर, भविष्यका लागि मैदान र एकेडेमी बनाउन सकेनौं,’ उनी भन्छन् ।
फुटबल खेल्न थालेको सात दशक बितिसक्दा पनि एन्फासँग आफ्नो एउटा मैदान छैन। भएको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाका लागि पनि प्रतियोगिता खेलाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग झगडा गरिरहनु पर्छ। बहुउपयोगी भएका कारण मैदानमा बाहिरी व्यक्तिको सहज प्रवेशले अन्तर्राष्ट्रिय खेल खेलाउन अयोग्य भएको १९ महिना बितिसकेको छ। मैदानमा उमेर समूहको खेल खेलाउन सक्ने पनि स्थिति छैन। दुईपल्ट विश्वकप खेलिसकेका जापानी फुटबलर केसुके होन्डाले दशरथ रंगशालाजस्तो खराब मैदान विश्वमा आफूले कतै नदेखेको भन्दै आलोचना गरेका थिए।
क्रिकेटले भने पूर्वाधारको मामिलामा काँचूली फेर्दैछ। सन् १९९८ मा त्रिवि क्रिकेट मैदानमा भारतको जी टेलिभिजनले चेञ्जिङ रूम र सानो भिआइपी लाउन्ज मात्र निर्माण गरेको थियो। तर २७ वर्षपछि त्रिवि मैदान हेर्नलायक बन्दैछ। यसबाहेक पनि मूलपानीमा अर्को अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार भइसकेको छ।
फुटबलमा भने अन्तर्राष्ट्रिय मापदण्ड नपुग्दा घरेलु मैदानमा खेल्नुपर्ने खेल कहिले बहराइन त कहिले मलेसिया पुगेर खेल्नु पर्ने अवस्था छ। ‘यो देख्दा भक्कानिन् मन लाग्छ। के गर्नु ? यत्रो समर्थक र खेलाडी रुँदा पनि नेतृत्वले देखेको छैन,’ शाही आफ्नै संघको कार्यक्षमतामाथि प्रश्न उठाउँछन्।
तलब भत्तामा असमानता
जुनबेला नेपाली क्रिकेट अन्तर्राष्ट्रिय प्रतियोगितामा सम्मिलित हुँदै थियो, फुटबलले आफ्नो राष्ट्रिय खेलाडीलाई तलब दिने सुरसार गर्दै थियो। २०५९/०६० सालबाट क्लबले खेलाडीलाई राम्रो तलबमा अनुबन्ध गर्न थालेका थिए। जसको सुरुआत मनाङ मर्स्याङ्दी, आरसीटी, एनआरटी र थ्रिस्टारजस्ता क्लबले गरेको नेपाली फुटबल एजेन्ट सुगनकुमार तन्डुकार स्मरण गर्छन्।
‘सागर दाइ (पूर्वकप्तान सागर थापा) जुन होटलमा बस्नुहुन्थ्यो, पारस खड्का पनि त्यही बस्थे। त्यो बेला नेपाली फुटबल खेलाडी मासिक ५०–६० हजार बुझ्थे। सागर दाइ गाडी चढेर आउँदा क्रिकेटर खिन्न हुन्थे,’ उनी भन्छन्, ‘आज क्रिकेटर गाडी चढ्ने भएका छन्। महिनाकै एक लाख रुपैयाँ तलब बुझ्छन्। फुटबलरको हालत भने दयनीय भएको छ।’
अहिले क्रिकेटरलाई वर्षमा ४५/५० लाख रूपैयाँ कमाउन खासै समस्या देखिदैन। नेपाल प्रिमियर लिग (एनपीएल) जस्ता फ्रेन्चाइज लिगबाट १५–२० लाख कमाउँछन्। महिनाको तलब छदैछ। क्यानले जस्तै एन्फाले खेलाडीलाई सम्झौतामा बाँधेर राख्न सकेको छैन। क्यानले ५२ खेलाडीलाई तलब सुविधासहित केन्द्रीय सम्झौतामा राखेको छ। पुरुषतर्फ ‘ए’ ग्रेडमा कप्तान रोहितकुमार पौडेलसहित पाँच क्रिकेटरले मासिक एक लाख रूपैयाँ तलब बुझ्छन्। ‘बी’ ग्रेडमा पाँच खेलाडीले ७० हजार, ‘सी’ ग्रेडमा चार खेलाडीले ५५ हजार, ‘डी’ ग्रेडमा १२ खेलाडीले ३५ हजार र ‘इमर्जिङ’ खेलाडीको रूपमा सात खेलाडीले २५ हजार रूपैयाँ तलब बुझ्छन्।
महिलातर्फ पनि ‘ए’ ग्रेडमा चार खेलाडीले ५० हजार, ‘बी’ ग्रेडमा एक खेलाडीले ३५ हजार, ‘सी’ ग्रेडमा दुई खेलाडीले २५ हजार र ‘डी’ ग्रेडमा १२ खेलाडीले २० हजार रूपैयाँ मासिक तलब बुझ्दै आइरहेका छन्। चुनावको बेला पंकजविक्रम नेम्वाङले आफू एन्फा अध्यक्ष निर्वाचित भएपछि फुटबल खेलेर २०/२५ लाख रुपैयाँ पारिश्रमिक पाउने वातावरण निर्माण गर्ने घोषणा गरेका थिए। तर, एन्फा महासचिव किरण राईले मासिक दुई लाख ६८ हजार रुपैयाँ तलब बुझ्ने बनिसक्दा फुटबल खेलाडी आफ्नो पारिश्रमिक समयमा नपाएर पलायनको बाटो रोजिरहेछन्।

भारतीय क्रिकेट टोलीका कप्तान राेहित शर्मासँग नेपाली क्रिकेट टाेलीका कप्तान राेहित पाैडेल । तस्बिर- एसीसी ।
खेलाडीलाई राष्ट्रिय जर्सी लगाएर अरू देशविरूद्ध खेल्नुभन्दा क्लबको जर्सी लगाएर मोफसलमा रमाउनु प्रियकर लाग्न थालेको छ। डिफेन्डर देवेन्द्र तामाङ भन्छन्, ‘भनेको बेला तलब पाइदैन। राष्ट्रिय टोलीमा फर्किएर के गर्नु ?’
एन्फाले तलब भनेर राष्ट्रिय खेलाडीलाई १८ हजार पाँच सय रूपैयाँ उपलब्ध गराउँदै आइरहेको छ। त्यो पनि टिममा समावेश भए मात्र। ‘भत्ता न पाएको कति भयो कति, बिर्सिन थालिसकें,’ उनी भन्छन्। एन्फाले पहिले उत्कृष्ट खेलाडीलाई बस्नका लागि अपार्टमेन्ट र चढ्नलाई कार दिने गरेको थियो। अहिले त्यो पनि छैन।
दोषी नेतृत्व
नेपालमा फुटबल अहिले पनि लोकप्रिय खेलको रूपमा सूचिकृत छ। तर, यो आफ्नो लोकप्रियता अनुरूप संस्थागत हुन सकिरहेको छैन। अहिले पनि धेरै क्लब व्यवसायिक हुन सकिरहेका छैनन्। उनीहरू समुदाय आधारित तहमै खुम्चिएका छन्। क्लबहरूलाई व्यवसायीकरणतर्फ लैजानुपर्ने आवाज पहिलादेखि सुनिँदै आएको हो। तर, क्लब व्यवस्थापन यसका लागि तयार देखिंदैन। यसले गर्दा फुटबल जुन हिसाबले विकास हुनुपर्ने हो, त्यो भइरहेको छैन।
‘समयसँगै हामी अपडेट हुन चुक्यौं। आज पनि ३० वर्षअघिको अवस्थामा छौं,’ विभागीय क्लब त्रिभुवन आर्मीका प्रशिक्षक मेघराज केसी भन्छन्। फुटबलमा समर्थकहरूको कमी छैन। धेरै समर्थक भएको खेलको रूपमा फुटबल नेपाली खेलकुदमा स्थापित छ। समर्थकले जति माया गरेपनि एन्फा नेतृत्व ती समर्थकको अनुहारमा हाँसो ल्याउने कुरामा सक्षम देखिंदैन।
अहिले पनि शीर्ष डिभिजनका १४ क्लबले ४० देखि ५० करोड रूपैयाँ लगानी गरिरहेका छन्। लगानी अनुसारको प्रतिफल प्राप्त गरेको कुनै क्लबका पदाधिकारीले बताउँदैनन्। उनीहरूको आफ्नै गुनासो छ। प्रशिक्षक केसी भन्छन्, ‘सबै क्लब काठमाडौं केन्द्रित हुँदा धान्न नसक्ने अवस्था छ।’
एन्फाले फुटबललाई संघीय स्वरूपमा पनि ढाल्न सकेको छैन। ‘नेतृत्व गर्नेले सानो स्वार्थका लागि फुटबललाई काठमाडौंमा खुम्चाएर राखे। यसले गर्दा क्रिकेटमा जस्तो प्रतिभा जन्मन पाएन,’ उनी भन्छन्।
क्रिकेटले अहिले जुन उचाइ छोएको छ, त्यो आकस्मिक पक्कै होइन। क्रिकेटको यो सफलता दशकौंदेखिको लगन, योजना र प्रयासको प्रतिफल हो। तर, फुटबलमा त्यस्तो देखिंदैन। राज्यले सबैभन्दा धेरै लगानी गरेको नेपाली फुटबलले किन आफ्नो शाख गुमाउँदै छ? यसतर्फ नेतृत्वकर्ता गम्भीर बन्ने हो कि!