काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

फोटो कथा

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा हाइटेन्सन लाइनमुनि सडक हुँदा सुरक्षा जोखिम

१४ बैशाख २०८३
तस्बिरहरू : बाबुराम विश्वकर्मा
अ+
अ-

हाइटेन्सन लाइन अर्थात् उच्च भोल्टेजको प्रसारण लाइन आसपासका क्षेत्र निकै जोखिमपूर्ण मानिन्छ। जसका कारण त्यसमुनि बस्ती वा सडक जस्ता संरचना निर्माणमा रोक लगाइने गरेको छ। जोखिमलाई ध्यान दिँदै हाइटेन्सन लाइनका दुवैतर्फ नौ नौ मिटर खाली छाड्नुपर्ने व्यवस्था छ। तर, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि सडक छ।

नगरपालिकाको वडा नम्बर २ सुन्दरटारदेखि वडा नम्बर ८ को अल्फा चोकसम्म साढे एक किलोमिटर व्यस्त सडक हाइटेन्सनमुनि छ। यस सडकबाट दैनिक सयौँ गाडी गुड्छन् भने हजारौँ मानिस ओहोरदोहोर गर्छन्। जसले यी यात्रुलाई दैनिक र हरेक पल जोखिममा पारिरहेको छ।

एक ठाउँबाट अर्कोमा विद्युत् पुर्‍याउन मुख्य भूमिका खेले पनि बस्ती र सडकमाथिबाट जाने हाइटेन्सन लाइनले गम्भीर सुरक्षा जोखिम निम्त्याउने गरेको छ।

भक्तपुरबाट १३२ केभी प्रसारण लाइनमार्फत बिजुली बूढानीलकण्ठ नगरपालिका-२ स्थित चपलीमा रहेको प्राधिकरणको सब-डिस्ट्रिब्युसन सेन्टरमा पुर्‍याइन्छ। उक्त विद्युत् ६६ केभी प्रसारण लाइनमार्फत बूढानीलकण्ठ वडा नम्बर २, ८, १०, ९ हुँदै काठमाडौँ महानगरपालिका-४ भएर चाबहिल गोपीकृष्णस्थित सब-ड्रिस्टिब्युसन सेन्टरमा लगिन्छ। त्यसरी लगिने क्रममा डेढ किलोमिटर सडकमाथिबाट हाइटेन्सन लाइन जाँदा सुरक्षा जोखिम कायम छ।