काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

हाम्रो बारेमा

नेपालन्युज (www.nepalnews.com) नेपालको पहिलो अनलाइन समाचार पोर्टल हो। यो सन् १९९८ जुलाई १६ मा दर्ता भएको थियो र सन् १९९९ देखि सञ्चालनमा थियो। नेपालन्युज पत्रकारिताको निष्पक्षताको सिद्धान्तप्रति प्रतिबद्ध छ। सर्वमान्य सम्पादकीय मापदण्डको पालनाले नै जवाफदेही पत्रकारिता सुनिश्चित गर्छ। यो गैरपक्षपातपूर्ण र स्वतन्त्र मिडिया संस्थाको रूपमा गुणस्तरीय, गहन, विश्लेषणात्मक र विश्वासिलो पत्रकारितामा सक्रिय छ।

प्रारम्भिक दिनमा नेपालन्युजले विश्वभरिका पाठकका लागि एक महत्त्वपूर्ण सूचना स्रोतका रूपमा काम गरेको थियो, जुन बेला नेपालमा डिजिटल मिडिया ज्यादै प्रारम्भिक चरणमा थियो। यसले नेपालको अनलाइन समाचारको जग बसाउन, आकार दिन, अनि डिजिटल पत्रकारिताको विश्वसनीयता र सान्दर्भिकता स्थापित गर्नमा अग्रणी भूमिका निर्वाह गर्‍यो ।

अहिले यो समाचार पोर्टलमा विशेष लेख, ताजा समाचार, समसामयिक मामिलाहरूको गहिरो खोज, विशेष टिप्पणी र तथ्यपरक विश्लेषण समावेश गरिन्छ। यो नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ।

मर्कन्टाइल कम्युनिकेसन्स प्रालिद्वारा www.nepalnews.com डोमेनमा सुरु भएको यो समाचार पोर्टलको त्यसबेला दोहोरो मिसन थियो- समयमै निष्पक्ष समाचार प्रदान गर्ने र नेपालको जानकारी चाहनेहरूका लागि विश्वव्यापी अनलाइन समुदाय निर्माण गर्ने।

नेपालन्युजले शुरूदेखि नै नेपाली तथा अंग्रेजी संस्करणलाई प्रतिलिपि अधिकार सम्झौतामार्फत सम्प्रेषण गर्थ्यो। यो मोडेलले नेपालन्युजलाई विश्वसनीय र गुणस्तरिय सूचना प्रदायकका रूपमा स्थापित गर्न सहयोग पुर्‍यायो ।

यसको पत्रकारिताप्रतिको शुरूआतकालीन समर्पणले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो। बीबीसीले नेपाल न्युजलाई नेपालको अग्रणी समाचार पोर्टलको रूपमा मान्यता दियो र यसलाई आफ्नो नेपाली भाषाको दैनिक प्रसारण खण्ड होस्ट गर्ने अनुमति प्रदान गर्‍यो। यो पोर्टललाई सीएनएन र अन्य अन्तर्राष्ट्रिय मिडियाबाट पनि मान्यता प्राप्त भयो।

प्रकारान्तरले यसले एक दशकभन्दा बढी समयमा विश्वव्यापी समाचार र सूचना स्रोतकारूपमा सेवा गर्‍यो। धेरै वर्षसम्म नेपालन्युजले निःशुल्क सामाग्री पस्क्यो-विज्ञापन र ई-कमर्स साझेदारीको माध्यमबाट।

सन् २०१५ को जनवरीमा आर्थिक नोक्सानीका कारण नेपालन्युजले मूल काम बन्द गर्‍यो। सन् २०१८ मा यो पोर्टल नयाँ व्यवस्थापनमा व्यावसायिक पत्रकारको टोलीद्वारा नेपाली भाषामा र सन् २०२१ को जनवरीमा अंग्रेजी संस्करण पनि पुनः शुरू भयो। त्यसयता आर्थिक चुनौती र अवरोधका बाबजुद नेपालन्युजले नेपाल र विश्वभरबाट प्रामाणिक र निष्पक्ष समाचार प्रदान गर्न आफ्नो समर्पण कायम राखेको छ।

सन् २०२४ को अन्त्यदेखि संचार उद्यमी प्रमोदराज सेढाईंले नेपालन्युजको स्वामित्व लिए। उनको नेतृत्वमा पोर्टल नयाँ रूपमा शुरू भएको छ। अनुभवी पत्रकार र दक्ष प्राविधिकहरूको समर्पित समूहले यसलाई नवीन शैलीमा अघि बढाएका छन् ।