शिक्षा
पढाइ रमाइलो बनाउन र भविष्य पनि उज्यालो बनाउन रुचि, क्षमता, सपना र अवसरलाई मिलाएर विषय छनोट गर्नुपर्छ।
काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भइसकेको छ। यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। अनुत्तीर्ण भएकालाई मौका परीक्षाको अवसर पनि छँदै छ।
यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा चाँडो नतिजा सार्वजनिक भएको हो। राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालको एसईईको नतिजा २८ वैशाखमा सार्वजनिक गरेको हो। उत्तीर्ण भएका विद्यार्थीहरू अहिले कुन विषय पढ्ने र कहाँ पढ्ने भनेर परामर्श गर्न थालिसकेका छन्।
एसईई उत्तीर्णपछि धेरै विद्यार्थीको मनमा आउने एउटा प्रश्न यो पनि छ कि- अब कुन विषय पढ्ने ? यही निर्णयले भविष्यको बाटो तय गर्ने भएकाले धेरैजना अन्योल, डर र दबाबमा हुन्छन्। कसैले विज्ञान राम्रो भन्छन्, कसैले म्यानेजमेन्ट, त कसैले प्राविधिक शिक्षा पढ्न सुझाउँछन्। सबैका लागि एउटै विषय सही हुँदैन। सही विषय त्यो हो, जुन रुचि, क्षमता, सीप र भविष्यको लक्ष्यसँग मेल खान्छ।
धेरै विद्यार्थीले अरूको प्रभावमा आएर विषय छान्ने गल्ती गर्छन्। साथीले विज्ञान लियो भनेर आफूले पनि विज्ञान लिनु, परिवारको दबाबमा आफ्नो रुचि त्याग्नु वा यो विषयमा धेरै पैसा छ भनेर मात्र निर्णय गर्नु पछि गएर तनावको कारण बन्न सक्छ।
कुन ग्रेड ल्याएका विद्यार्थीले के पढ्न पाउँछन्?
पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रमअनुसार निजी तथा सामुदायिक स्कुल तथा कलेजमा प्लस टुको पढाइ हुन्छ। एसईई र प्लस-टूपछिको प्रमाणपत्र बोर्डले नै उपलब्ध गराउँछ।
एसईईपछि एनजीबाहेक १.६ जीपीए प्राप्त गर्ने विद्यार्थीले जुनसुकै विषय अध्ययन गर्न पाउने व्यवस्था रहेको राष्ट्रिय परीक्षा बोर्डका सहसचिव तथा प्रवक्ता जयन्ती सत्याल बताउँछिन्।
समुदायिक कलेज बागलुङका शिक्षक दीर्घ कार्कीका अनुसार अहिले विभिन्न कलेजले आफ्नो आवश्यकता र विषयअनुसार फरक-फरक ग्रेड योग्यता निर्धारण गर्ने गरेका छन्। केही कलेजले समग्र जीपीएलाई प्राथमिकता दिने गरेका छन् भने केहीले विशेषगरी गणित, अंग्रेजी र विज्ञान विषयमा कम्तीमा सी-प्लस (ग्रेड) अनिवार्य हुनुपर्ने मापदण्ड राख्ने गरेका छन्। त्यसैले विद्यार्थीहरूले आफूले पढ्न चाहेको विषय र कलेजको योग्यता मापदण्डबारे पहिले नै जानकारी लिएर तयारी गर्नु आवश्यक रहेको कार्की बताउँछन्।
एसईईपछि नेपालमा विद्यार्थीहरूले मुख्य रूपमा सामान्य तथा प्राविधिक गरी दुई किसिमका शैक्षिक धार छनोट गर्न सक्छन्। सामान्य शिक्षाअन्तर्गत राष्ट्रिय परीक्षा बोर्डमार्फत कक्षा ११ र १२ को अध्ययन गरिन्छ भने प्राविधिक शिक्षातर्फ सीटीईभीटीअन्तर्गत प्रि-डिप्लोमा र डिप्लोमा तहका अध्ययन गर्न सकिन्छ। यसअन्तर्गत सिभिल इन्जिनियरिङ‚ कम्प्युटर इन्जिनियरिङ‚ एच ए (स्वास्थ्य)‚ नर्सिङ (स्वास्थ्य)‚ फार्मेसी (स्वास्थ्य)‚ होटेल व्यवस्थापन‚ कृषि‚ इलेक्ट्रिकल/मेकानिकललगायत विषय पढ्न पाइन्छ। परम्परागततर्फ संस्कृत र बौद्ध शिक्षा पढ्न पाइन्छ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरेका अनुसार यस शैक्षिक वर्षमा कक्षा ११ र १२ को पाठ्यक्रममा कुनै परिमार्जन गरिएको छैन। साथै विषय अध्ययन तथा छनोटसम्बन्धी नयाँ मापदण्डसमेत परिमार्जन गरिएको छैन। हाल विद्यार्थीले अघिल्लै व्यवस्था र मापदण्डअनुसार अध्ययन गर्न पाउने व्यवस्था कायम रहेको उनको भनाइ छ।
कुन विषय छनोट गर्दा के बुझ्ने ?
विज्ञान
अवसर धेरै, मिहिनेत पनि धेरै। विज्ञानलाई अहिले पनि धेरैले प्रतिष्ठित विषय मान्छन्। ११ कक्षामा पढाइ हुने विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ, कम्प्युटर साइन्स र एग्रिकल्चर पर्छन्। यसले डाक्टर, इन्जिनियर, औषधि विज्ञान, प्रयोगशाला, कृषि, सूचना, प्रविधिजस्ता धेरै क्षेत्रमा जाने बाटो खोल्छ। विज्ञानमा निरन्तर मिहिनेत, समय व्यवस्थापन र धैर्य आवश्यक हुन्छ। पढाइको दबाब पनि धेरै हुने भएकाले रुचि र क्षमता नभई केवल देखासिकीमा विज्ञान रोज्नु उचित हुँदैन। यदि गणित, विज्ञान, प्रयोग र नयाँ कुरा सिक्न रुचि छ भने विज्ञान राम्रो विकल्प हुन सक्छ। चुनौती स्वीकार गर्न र नियमित अध्ययन गर्न सक्ने विद्यार्थीका लागि यसले भविष्यमा धेरै अवसर दिन सक्छ। तर केवल विज्ञान पढेपछि मात्रै सफल भइन्छ भन्ने सोच गलत हो।
म्यानेजमेन्ट
व्यापार, नेतृत्व र आधुनिक पेसाको बाटो व्यवस्थापन अहिलेको समयको अत्यन्त उपयोगी र व्यवहारिक क्षेत्र बनेको छ। बैंकिङ, व्यापार, लेखा, होटेल व्यवस्थापन, उद्यम, बजार व्यवस्थापन, डिजिटल व्यापारजस्ता क्षेत्रमा यसको महत्त्व छ। अहिले विश्वभर व्यापार र आर्थिक क्षेत्र तीव्र रूपमा बढिरहेको छ। त्यसैले म्यानेजमेन्ट पढ्ने विद्यार्थीका लागि अवसर पनि धेरै छन्। नेतृत्व गर्न मन पर्ने, मानिससँग बोल्न रुचाउने, व्यापारिक सोच भएका वा नयाँ योजना बनाउन रुचि राख्ने विद्यार्थीका लागि म्यानेजमेन्ट विषय राम्रो हुन सक्छ। धेरै सफल व्यवसायी, बैंककर्मी र उद्यमी यही क्षेत्रबाट आएका छन्। त्यसैले व्यवस्थापनलाई कमजोर विद्यार्थीको विषय भनेर हेर्नु गलत सोच हो।
मानविकी
समाज, सोच र सिर्जनशीलताको क्षेत्र मानविकीले समाज, मानिसको सोच, व्यवहार र जीवनलाई बुझ्न सिकाउँछ। मनोविज्ञान, पत्रकारिता, सामाजिक सेवा, कानुन, शिक्षण, भाषा, साहित्यजस्ता क्षेत्रमा जाने बाटो यही विषयले खोल्छ। सिर्जनात्मक सोच भएका, लेख्न बोल्न रुचाउने र समाजका विषयमा चासो राख्ने विद्यार्थीका लागि मानविकी धेरै राम्रो क्षेत्र हुन सक्छ। अहिले मानसिक स्वास्थ्य, सञ्चार, परामर्श, सञ्चारमाध्यम र सार्वजनिक बोलाइको महत्व धेरै बढेको छ। त्यसैले मानविकी पढेर पनि राम्रो भविष्य बनाउन सकिन्छ। कुनै पनि विषय सानो हुँदैन, त्यसलाई प्रयोग गर्ने तरिका ठूलो कुरा हो।
शिक्षा
भविष्य निर्माण गर्ने क्षेत्र शिक्षा संकाय पनि अहिलेको समयको महत्त्वपूर्ण क्षेत्र हो। शिक्षक, प्रशिक्षक, शैक्षिक परामर्शदाता, अनुसन्धानकर्ताजस्ता क्षेत्रमा जान चाहने विद्यार्थीका लागि यो राम्रो विकल्प हुन सक्छ। त्यसैले शिक्षालाई केवल शिक्षक बन्ने विषय भनेर सानो रूपमा हेर्नु हुँदैन। अहिले शिक्षामा पनि प्रविधि, अनुसन्धान र आधुनिक सिकाइ प्रणालीको महत्त्व बढिरहेको छ। त्यसैले शिक्षा पढ्ने विद्यार्थीले पनि भविष्यमा धेरै अवसर पाउन सक्छन्।
प्राविधिक शिक्षा
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले एसईई पास गरेका विद्यार्थीहरूलाई प्रि-डिप्लोमा, डिप्लोमा र छोटो अवधिका विभिन्न कोर्सहरू पढाउँछ।
सीपसँगै छिटो अवसर अहिलेको समयको सबैभन्दा बलियो र व्यवहारिक विकल्पमध्ये एक हो – प्राविधिक शिक्षा। डिप्लोमा, सिभिल, विद्युतीय, यान्त्रिक, कम्प्युटर, होटेल व्यवस्थापन, कृषि, अटोमोबाइल, औषधि विज्ञान, प्रयोगशाला, स्वास्थ्य सहायकजस्ता क्षेत्रमा प्राविधिक शिक्षा लिएर छोटो समयमा सीप सिक्न सकिन्छ। प्राविधिक शिक्षाको सबैभन्दा ठूलो फाइदा भनेको पढ्दै गर्दा नै काम सिक्नु हो। यसले विद्यार्थीलाई केवल किताबमा सीमित राख्दैन, व्यवहारिक रूपमा सक्षम बनाउँछ। अहिले नेपालमै होइन, विदेशमा पनि दक्ष प्राविधिक जनशक्तिको माग धेरै छ। त्यसैले सीप भएका विद्यार्थीले छिटै रोजगारी वा आफ्नै काम सुरु गर्ने अवसर पाउन सक्छन्।
शिक्षाविद् ज्ञानेन्द्र शर्मा गौतमका अनुसार अहिलेको अवस्थामा लगभग १.६ जीपीए ल्याएका विद्यार्थीले पनि धेरैजसो विषयमा अध्ययन गर्ने अवसर पाय पनि विशेषगरी प्राविधिक धारतर्फ भने प्रवेश परीक्षा नहुने अवस्थामा न्यूनतम सी-प्लस वा भर्ना हुन आएका विद्यार्थीमध्ये जीपीएको क्रमअनुसार छनोट गर्ने व्यवस्था धेरै ठाउँमा देखिएको छ। साथै केही कलेजहरूले न्यूनतम सी-प्लस अनिवार्य गर्न सक्ने सम्भावना पनि रहेको उनी बताउँछन्।
सूचना प्रविधि
भविष्यको सबैभन्दा शक्तिशाली क्षेत्र अहिलेको संसार प्रविधिमा आधारित हुँदै गइरहेको छ। कम्प्युटर, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, भिडियो सम्पादन, चित्र निर्माण, सामग्री निर्माण, वेबसाइट विकासजस्ता क्षेत्र तीव्र रूपमा बढिरहेका छन्। अहिले धेरै युवाले नेपालमै बसेर विदेशका काम गरिरहेका छन्। त्यसैले सूचना प्रविधि भविष्यको अत्यन्त बलियो क्षेत्र मानिन्छ। सूचना प्रविधिमा सफल हुन केवल विषयभन्दा पनि सीप महत्त्वपूर्ण हुन्छ। कम्प्युटरप्रति रुचि, नयाँ कुरा सिक्ने बानी र सिर्जनात्मक सोच छ भने यो क्षेत्रले ठूलो अवसर दिन सक्छ। अहिले विद्यालयको विषयभन्दा बाहिर पनि धेरै सीप सिक्न सकिने भएकाले आफूलाई समयसँगै परिवर्तन गर्न जान्नुपर्छ।
विषय छान्दा केमा ध्यान दिने?
विषय छान्दा सबैभन्दा पहिले आफूलाई बुझ्न आवश्यक हुन्छ। कुन विषयमा रुचि छ ? कुन काम गर्दा समय बितेको थाहा हुँदैन? कुन क्षेत्रमा आफूलाई भविष्यमा देख्न सकिन्छ? यी प्रश्नको उत्तरले सही निर्णय गर्न सहयोग गर्छ। केवल अरूले भनेको भरमा निर्णय लिनु हुँदैन। परिवार, साथी वा समाजले आफ्नो विचार दिन सक्छन्, तर जीवन तपाईंले बाँच्ने हो। त्यसैले आफ्नो रुचि र क्षमताअनुसार निर्णय गर्नु सबैभन्दा राम्रो हुन्छ। अभिभावकले पनि आफ्ना सपना विद्यार्थीमाथि थोपर्नु हुँदैन। प्रत्येक बच्चाको क्षमता र रुचि फरक हुन्छ। अभिभावकले बच्चाको रुचि बुझेर मार्गदर्शन गर्ने हो।
जुनसुकै विषय पढे पनि त्यससँगै व्यवहारिक ज्ञान, प्रविधिको प्रयोग, सञ्चार क्षमता, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्न सके भविष्य अझ राम्रो बन्न सक्छ। त्यसैले हतारमा होइन, सोचेर निर्णय लिनुपर्छ। आफ्नो रुचि, क्षमता, सपना र अवसरलाई मिलाएर विषय छनोट गर्न सके पढाइ पनि रमाइलो हुन्छ र भविष्य पनि उज्यालो बन्न सक्छ। सफल हुने विद्यार्थी त्यो होइन, जसले सबैभन्दा ठूलो विषय रोज्छ सफल त्यो हो, जसले आफूलाई चिनेर सही बाटो रोज्छ र त्यसमा निरन्तर मिहिनेत गर्छ।