पुस्तक
प्रिय मान्छे गएपछि पनि संसार यथावत् चलिरहेकै हुन्छ– रात आउँछ, दिन जान्छ, तारा टिमटिमाउँछन्, प्रकृतिलाई कुनै फरक पर्दैन।
च्यासिसको तारिख सोध्नू
कहिले म्यानुफ्याक्चर भएको हो त्यो
नत्र प्रायः ठग्ने गर्छन्, गाडी बेच्नेहरूले
मेरो च्यासिसको तारिख
अठार अगस्ट उन्नाइस सय चौँतीस हो।
कवि सुदीप पाख्रिनद्वारा अनूदित गुलजार कवितामा आरम्भमा राखिएको कवि गुलजारको जन्मदिन थाहा दिने ‘पहिचान’ शीर्षकको कविता हो यो।
तिमीले एउटा मोडमा अचानक जब
‘गुलजार’ भनेर आवाज दियौ मलाई
कुनै सिपीबाट खोलियो मोती…
मानौँ, एउटा अर्थ पाएँ मैले…
‘सेल्फ पोट्रेट’ गुलजार कवितामा समावेश दोस्रो कविता हो यो। ‘पहिचान’ कविताले गुलजारको जन्ममिति बताउँछ भने ‘सेल्फ पोट्रेट’ ले उनको नाम। यसबाट के देखिन्छ भने, गुलजारका कविताहरू साहित्यिक रचना मात्र होइनन्, उनको जीवनका दस्ताबेज पनि हुन्, उनको आत्मकथाका पानाहरू पनि।
म कवि होइन, कविता मन पराउने एउटी सामान्य पाठक मात्र हुँ। गुलजारका कविताबारे चर्चा गर्ने दक्षता नभए पनि आँट गरेर यहाँ केही भन्न खोज्दै छु। उनका कवितालाई आधार बनाएर पाठकीय दृष्टिकोणबाट मेरा मनमा उठेका भाव शब्दमा पोख्ने प्रयास गरेकी छु। ‘गुलजार’ शब्दको अर्थ हिन्दीमा ‘गुलचमन’ अर्थात् ‘फूल फुलेको बगैँचा’ हो र नाम जस्तै उनको सिर्जनात्मक संसार पनि रंगीन, विविधतामय र सुगन्धित छ।
१८ अगस्ट १९३४ मा हालको पाकिस्तानमा पर्ने दिना, झेलम जिल्ला, पन्जाबमा जन्मिएका गुलजारको वास्तविक नाम सम्पूर्ण सिंह कालरा हो भन्ने धेरैलाई थाहा भएकै कुरा हो। कवि, गीतकार, पटकथाकार, नाटककार र फिल्म निर्देशक जस्ता अनेकौँ विधामा सिद्धहस्त सर्जकका रूपमा स्थापित गुलजारको वास्तविक नाम ‘सम्पूर्ण’ पनि पूर्ण रूपमा सार्थक देखिन्छ।
कवि/अनुवादक सुदीप पाख्रिन गुलजार कविताको भूमिकामा लेख्छन्– ‘मैले सबैभन्दा बढी सुनेका गीत, सबैभन्दा बढी हेरेका सिनेमा, सबैभन्दा बढी मन पराएका संवाद, निर्देशकीय हिसाबले औधी विशेष लागेका सिनेमा गुलजारकै हुने गर्थे। मेरो बाल र किशोर वय अनि पश्चात्का हुर्किंदाका दिनमा सर्वत्र गुलजार थिए। आज पनि छन्।’
एउटा मान्छे जसले विभाजनको आगो आफ्नै छातीले बेहोर्यो, जसका आफन्त गुमे, घर गुम्यो, त्यही पीडालाई उसले शब्दका फूलले सिँगार्यो। एउटा अलग उचाइमा पुग्यो र कहिल्यै नओइलाउने ‘गुलजार’ भयो।
म पनि कवि पाख्रिनकै समकालीन हुँ। रेडियोबाट बज्ने र क्यासेट किनेर सुनिने हिन्दी गीतहरूमा ‘नाम गुम जाएगा’, ‘तुम आ गए हो, नूर आ गया है’, ‘तुझ से नाराज नहीं जिन्दगी’ जस्ता सयौँ कालजयी गीतको मिठास सुन्दै हुर्केका हामी धेरैका लागि त्यो समय साँच्चै गुलजारमय थियो। आज पनि त्यो मिठास उत्तिकै ताजा छ।
भारत-पाकिस्तान विभाजनको त्रासद संक्रमणकालमा दिनामै बाल्यकाल बिताएर सन् १९४७ मा दुई राष्ट्र अलग भइसकेपछि परिवारसँगै उनी भारतको अमृतसर आइपुगे। केही समय त्यहाँ बसेपछि मुम्बईतिर हान्निए। मुम्बईको एउटा ग्यारेजमा मेकानिकको काम गर्दागर्दै फुर्सदमा कलम चलाउँथे। त्यही सानो फुर्सदको कुनाबाट एउटा महान् साहित्यकारका रूपमा स्थापित भए, तर जीवनले उनलाई सजिलो बाटो दिएन। भारत-पाकिस्तान विभाजनपश्चात् उनी आफ्ना दुई दिदीबहिनीसँग छुट्टिन पुगे। अभिनेत्री राखीसँगको विवाह छोरी जन्मिनासाथ टुट्यो। आफ्नै पिताको अन्त्येष्टिमा समेत सहभागी हुन पाएनन्।
यति धेरै बिछोड, यति धेरै अभाव; यी सबैले गुलजारको भित्री संसारमा गहिरो मौन पीडाको नदी बगाइदिए। त्यही नदी उनका कविता र सायरीहरूमा बग्न थाल्यो, तर रोइकराइका रूपमा होइन। जीवनका तीता अनुभवलाई धैर्यका साथ स्वीकार गर्दै असाधारण संवेदनशीलतासहित शब्दमा बाँड्नु नै गुलजारको सबैभन्दा ठूलो शक्ति हो। ‘तेरे जाने से तो कुछ बदला नहीं, रात भी आई थी और चाँद भी था, हाँ मगर…निंद नहीं’, ‘साम से आँख में नमी सी है, आज फिर आपकी कमी सी है’ जस्ता पंक्तिहरूद्वारा उनी आफ्नो रिक्तता र शून्यता शब्दहरूमा पोख्दछन्।
उनको लेखनमा सन् १९४७ को विभाजनको पीडा, विस्थापनको व्यथा र आफन्तलाई गुमाउनुको दुःख बारम्बार बल्झिएको देखिन्छ। उनले त्यस त्रासदीलाई एकदमै नजिकबाट देखेका थिए, जो उनका रचनामा उजागर भएको पाइन्छ।
रेखाहरू छन् त, हुन देऊ
रिसाएर सायद कसैले कोरिदिएको थियो
त्यसैले अब बनाऔँ घेरा र आऊ-
कबड्डी खेलौँ।
मेरो घेरामा तिमी आऊ,
मलाई चुनौती देऊ, मेरो हातमा तिमी हातले हान र भाग
तिमीलाई समाऊँ, अँगालो हालूँ, खुट्टा तानूँ, र
तिमीलाई फर्कन नदिऊँ
‘कबड्डी’ शीर्षकको प्रस्तुत कवितामा कबड्डी खेल भारत-पाकिस्तान विभाजनको एक शक्तिशाली रूपक बनेको छ। यस कवितामा उनले सन् १९४७ को ‘र्याडक्लिफ’ लाई कसैले रिसाएर कोरिदिएको रेखा भन्दै असहमति व्यक्त गरेका छन्। त्यो विभाजन कुनै स्वाभाविक प्रक्रिया थिएन, बरु हतारमा मनोमानी ढंगले कोरिएको थियो। गुलजार त्यही घाउलाई खेलको मैदान बनाउँछन्, ‘मेरो घेरामा तिमी आऊ’ भन्दै आफ्नो कर्मथलो भारत र जन्मथलो पाकिस्तानबीच पुनर्मिलनको चाहना व्यक्त गर्छन्। पीडालाई सिधै रोएर होइन, त्यही रेखालाई घेरा बनाएर खेल्ने इच्छा राख्छन्। संवेदनालाई सिर्जनाको मूल बनाउन सक्ने यही सामर्थ्यले गर्दा गुलजार एउटा अलग उचाइमा पुगेका हुन् भन्ने लाग्दछ।
आँखालाई भिसा चाहिन्न
सपनाहरूको सीमारेखा हुन्न
बन्द गरेर आँखा दिनहुँ म सीमापारि पुग्छु
मेहेंदी हसनलाई भेट्न!
‘आँखालाई भिसा चाहिन्न’ कवितामा गुलजार एउटा गहिरो सत्य भन्छन्। भिसा, सीमारेखा, काँडेतारले शरीरलाई रोक्न सक्छन्, तर सपना र स्मृतिलाई रोक्न सक्दैनन्। मेहेंदी हसन, अहमद फराज – यी पाकिस्तानी आत्मीयहरूसँग भौतिक भेट असम्भव भए पनि गुलजार सपनामा पुग्छन्, भेट्छन्। ‘गजलका ओठ काम्छन्’, आवाज घाइते छ, शब्द मौन छन्, तर पीडा बोलिरहेकै छ।
विभाजनले भूगोल बाँड्यो, तर मन कहिल्यै बाँडिएन; विभाजनको पीडामा लेखिएका गुलजारका कविताहरूको सार यही हो।
एक पश्चात्ताप रहन्छ
अन्योल र बोझ पनि…
आऊ, फेरि झगडा गरेर हेरौँ
सायद योभन्दा असल
अर्को कुनै कारण भेट्नेछौँ हामीले
फेरि अलग हुनलाई।
यहाँ गुलजारले विभाजनको विडम्बनालाई एकै सासमा भनिदिएका छन्– अलग भइसकेपछि पनि मनमा पश्चात्ताप छ, अन्योल छ, बोझ छ, तर त्यो बोझ बोकेर बसिरहनुको साटो उनी भन्छन्, ‘आऊ, फेरि झगडा गरेर हेरौँ।’ प्रस्तुत ‘अन्योल’ कवितामा गुलजार भन्छन्– हामी अलग त भयौँ, तर किन भयौँ भन्ने ठोस कारण आजसम्म भेटिएन। यही नै विभाजनको सबैभन्दा ठूलो पीडा हो।
म आफ्नै घरमा आएर परचक्री भएको छु
मलाई यहीँ देखेर मेरो आत्मा डराएको छ
भयले सारा इच्छा कुनामा गई लुकेका छन्
कामनाहरूले आफ्ना मुहारका शिखा निभाइदिएका छन्
कि, सोखले चिन्दै चिन्दैन
चाहनाहरू सँघारमै शिर अड्याएर मरेका छन्
कुन देशको खोजीमा यसै हिँडेको थिएँ म घरबाट
कि, आफ्नै घरमा पनि परचक्री भएको छु आएर।
उनको ‘आफ्नै घरमा परचक्री म’ कवितामा विभाजनको पीडाको गहिरो अभिव्यक्ति झल्कन्छ। ‘परचक्री’ शब्द यस कविताको आत्मा हो। आफ्नै घरमा अपरिचित हुनु– यो विस्थापितका लागि सबैभन्दा ठूलो त्रासदी हो। गुलजार स्वयं दिना, झेलम छोडेर हिँडे। त्यो घर अब पाकिस्तानमा छ र उनी भारतीय भएका छन्। नयाँ ठाउँमा पुगे, तर त्यहाँ पनि मन बसेन। न पुरानो घर आफ्नो, न त नयाँ घर आफ्नो। गुलजारका लागि विभाजन केवल राजनीतिक घटना थिएन, यो आफ्नै घरमा परचक्री हुनुको पीडा थियो।
प्रिय मान्छे गएपछि पनि संसार यथावत् चलिरहेकै हुन्छ– रात आउँछ, दिन जान्छ, तारा टिमटिमाउँछन्, प्रकृतिलाई कुनै फरक पर्दैन। बाहिरबाट सबै सामान्य देखिन्छ, तर भित्रभित्रै मान्छे टुक्रिइरहेको हुन्छ। यही मार्मिक सत्यलाई गुलजारले आफ्ना ‘सबै कुरा त्यसरी नै चल्छन्’ र ‘र, तिमी यसरी गयौ’ कवितामा हृदयस्पर्शी र अत्यन्त सूक्ष्म ढंगले व्यक्त गरेका छन्। गुलजारका कविता हामीलाई आफ्नै भाषामा रसास्वादन गर्ने अमूल्य अवसर प्रदान गर्ने अनुवादक सुदीप पाख्रिन साधुवादका हकदार भएका छन्।
‘कविता अल्झिएको छ’, ‘घरको माथ्लो तलामा’, ‘काँचको सपना’, ‘राजवृक्ष’, ‘जंगलको बाटो हिँड्छु म’, ‘दुःख’, ‘अखबार’, ‘दंगा-१’, ‘दंगा-२’, ‘दंगा-३’, ‘रात’, ‘यो लाटो को हो?’ शीर्षकका कवितामा गुलजारले भित्री पीडालाई कहिले सोझै, कहिले प्रतीकका आडमा र कहिले तीखो व्यंग्यका माध्यमबाट प्रस्तुत गरेका छन्। यी कवितामा गुलजारको पीडा केवल व्यक्तिगत विलाप होइन, लाखौँ विस्थापितको साझा पीडाको प्रतिध्वनि हो। उनका शब्दहरू एउटा मानिसका मात्र होइनन्, एउटा युगका आँसु हुन्।
गुलजारका कवितामा आँसु छ, विभाजनको पीडा छ, बिछोड छ, तर त्यसभित्र जीवनप्रतिको गहिरो अनुराग पनि छ। उनी थाक्दैनन्, रोकिँदैनन्। ९० वर्ष पार गरिसकेका यी कवि आजसम्म पनि लेखिरहेकै छन्। एउटा मान्छे जसले विभाजनको आगो आफ्नै छातीले बेहोर्यो, जसका आफन्त गुमे, घर गुम्यो, त्यही पीडालाई उसले शब्दका फूलले सिँगार्यो। एउटा अलग उचाइमा पुग्यो र कहिल्यै नओइलाउने ‘गुलजार’ भयो।