लेखक
अरुन्धती रोयलाई सही रूपमा बुझाउने पुस्तक ‘मदर मेरी कम्स टु मी’ को पठन अनुभव
अरुन्धती रोयलाई मैले अनपेक्षित समयमा भेटेँ। सन् १९९६ मा जनयुद्ध सुरु भएपछि बुबाआमा भूमिगत हुनुभयो। अर्को वर्ष ठूलीआमाले मलाई आमा भेटाउन गोरखपुर पुर्याइदिनुभयो। त्यसै वर्ष प्रतिष्ठित बुकर प्राइज जितेर रोय चर्चामा थिइन्। आमाले कुनै प्रसंगमा भन्नुभयो– बुकर जित्ने द गड अफ स्मल थिङ्स मेरोे साथीले लेखेको किताब हो।
आफ्नी क्लासमेट रोयलाई आमा सुजी भन्नुहुन्थ्यो, त्यही भएर म पनि उनलाई सुजी आन्टी भनेर चिन्थेँ। त्यसबेला म ११ वर्षकी थिएँ र कक्षा ८ मा पढ्थेँ। बुबाआमासँगै भूमिगत हुने क्रममा मैले रोयको घरमा चिठी पुर्याउने जिम्मेवारी पनि पाएँ। त्यसैले पहिला उनको किताब पढेँ कि चिठी दिने क्रम पहिला भयो, सम्झन सकिनँ। म चुपचाप जान्थेँ, चिठी बुझाएर फर्किन्थेँ। एक पटक भने चिठी ढोकामै छोडेर फर्किनुपर्दा निराश बनेकी थिएँ।
रोयको व्यक्तित्वमा एक किसिमको आभा थियो। म उनलाई आदर्शका रूपमा हेर्थें। भेटेपछि थाहा भयो, उनी अत्यन्त विनम्र र मायालु मान्छे रहिछन्। उनी आख्यान लेखक मात्र नभई अभियन्ता पनि थिइन्। म उनका अन्तर्वार्ता नछुटाई पढथेँ। जनयुद्धका क्रममा नेपाल नै कार्यक्षेत्र बन्न थालेपछि भने मैले उनलाई धेरै भेट्ने अवसर पाइनँ।
मैले रोयलाई पछि फेरि अर्कै अनपेक्षित क्षणमा भेटेँ। म एमफिल अध्ययनका लागि दिल्ली गएकी थिएँ। साथी उषा तीतिक्षुले मलाई सरसफाइ मजदुरहरूको आन्दोलनसँग सम्बन्धित एउटा बैठकमा बोलाएकी थिइन्। संयोगवश त्यहाँ अरुन्धती रोय पनि उपस्थित थिइन्। उनी दर्शकदीर्घाबाट ऐक्यबद्धता जनाइरहेकी थिइन्। त्यसले मेरो मनमा उनीप्रति अझ गहिरो सम्मान पैदा गर्यो।
म केही अत्यन्त उग्र विचार भएका साथीहरूलाई पनि चिन्दथेँ जसले अरुन्धतीलाई आफ्नो प्रसिद्धि र हैसियतको आनन्द लिने र अरूलाई ओझेल पार्ने सम्भ्रान्त व्यक्तिका रूपमा हेर्थे। तर, मैले त्यहाँ उनको अर्को पक्ष देखेँ। अरूलाई ओझेल नपार्ने, बरु केवल अभियन्ताहरूको सहयात्री भएर उपस्थित रहने सचेत प्रयास गरेको देख्दा उनीबाट साँच्चै प्रभावित भएँ।

नेपालमा भएको एउटा कार्यक्रममा उनी सहभागी भएकी थिइन्, तर धेरैलाई त्यसबारे थाहा थिएन। उनी मिडियामा आउन वा सामाजिक सञ्जाल आदिमा रूपमा सार्वजनिक हुन चाहन्नथिन्, हामी भने उनलाई भेट्न इच्छुक थियौँ। यस्तैमा हामी केहीले शान्त र निजी परिवेशमा उनलाई भेट्ने अवसर पायौँ। म स्वीकार्छु, यो अवसर हामी विशेषाधिकार र सञ्चित सामाजिक पुँजीका कारण पहुँच भएका महिलाहरूले नै पाएका थियौँ। त्यहाँ हामीले नारीवादी चिन्तन, विचार, आन्दोलन र आफूले गरिरहेका कामबारे छलफल गर्यौँ। हाम्रो अवस्था, विश्वव्यापी साझा अनुभव र हामी बाँचिरहेको समयबारे पनि कुरा गर्यौँ। हामी बाँचिरहेको कठिन समयप्रति उनी सचेत थिइन् र हामी त्यसलाई कसरी बुझिरहेका र सामना गरिरहेका छौँ भन्ने बुझ्न इच्छुक थिइन्। त्यो एक उपयोगी सत्र थियो।
उनीसँग पछिल्लो भेट भने काठमाडौँमै उनको नयाँ पुस्तक मदर मेरी कम्स टु मीबारे काठमाडौँमा राखिएको पुस्तक हस्ताक्षर कार्यक्रममा भयो। म छोरालाई उनीसँग भेटाउन चाहन्थेँ र आफ्नै सहरमा उपस्थित प्रिय लेखकको हस्ताक्षर गरिएको पुस्तक लिन चाहन्थेँ।
जेन-जी आन्दोलन भएको करिब एक महिनापछिको समय थियो त्यो। जेन-जी आन्दोलनका केही आशलाग्दा महिला तथा क्वयेर अभियन्तासँग म निरन्तर अन्तरक्रियामा थिएँ। आन्दोलनका म्यान्डेटहरूलाई विचारपूर्वक सोच्ने, बुझ्ने र अभिव्यक्त गर्ने विषयमा हामी कुराकानी गर्थ्यौं। तर, मिडियाले जसरी उनीहरूलाई स्थान दिनुपर्ने थियो, त्यो भइरहेको थिएन। बरु, बदनाम गरिएको थियो र सम्बन्धित बैठकहरूमा उनीहरूको उपस्थितिलाई बेवास्ता गरिएको थियो। अरुन्धती उनीहरूका लागि प्रेरणाको स्रोत थिइन्। उनीहरू आफूलाई प्रेरित गर्ने लेखकसँग छलफल गर्न चाहन्थेँ। जेन-जी अभियन्ता र उनीहरूले देखाइरहेको सक्रियताबारे जानकारी दिएपछि उनले भेट्न सहमति जनाइन्। त्यो छलफल सहजीकरण गर्ने अवसर मैले पाएँ।
त्यो अत्यन्तै भावुक सत्र थियो, हामीमध्ये लगभग सबैका आँखा रसाएका थिए। जेन-जी आन्दोलनपछिको परिस्थितिमा हामीले आफ्नो मनोवैज्ञानिक अवस्थालाई अभिव्यक्त गर्न सकेका थिएनौँ। रोयसँगको त्यो भेट यस्तो लाग्थ्यो– जेन-जी अभियन्ताहरू आफ्नै मदर मेरीसँग भेटिरहेका थिए। सहभागीहरूले उनीसमक्ष राजनीतिकर्मीलाई झैँ प्रश्नहरूको वर्षा गरे। उनीहरूले रोयबाट धेरै अपेक्षा राखे पनि उनले अत्यन्त विनम्रतापूर्वक आफ्ना सीमितताहरू स्वीकार गरिन्। उनले आफू मूलतः अरूका लागि समानुभूति राख्ने र उनीहरूको आवाज बन्ने एक लेखक भएको बताइन्। उनले भनिन्, ‘मलाई नेपालको विकासक्रमबारे धेरै थाहा छैन। तर, सहज अनुभूतिले भन्नुपर्दा तपाईंहरू सही दिशातर्फ हुनुहुन्छ।’ उनको आवाज प्रोत्साहन र सहानुभूतिले भरिपूर्ण थियो। त्यसपछि हामी मदर मेरी कम्स टु मीको चर्चामा लाग्यौँ।

मातृत्वको अनुभव गरिरहेकी व्यक्तिका रूपमा उनको यो पुस्तक पढ्दा आफ्नो मनमस्तिष्क सक्रिय भएको अनुभव भएको थियो। वृद्ध हुँदै गइरहेकी आमाको हेरचाह गर्नुपर्ने र हुर्कंदै गरेको बच्चाको आमा बन्नुपर्ने ‘स्यान्डविच जेनेरेसन’ को अनुभवका हिसाबले पनि यो महत्त्वपूर्ण थियो। अरुन्धती जस्ती शक्तिशाली व्यक्तित्वको आफ्नी आमासँगको सम्बन्धबारे पढ्दा म धेरै ठाउँ भावुक भएँ। यसले मेरो आमासँगको सम्बन्ध, बच्चालाई हुर्काइरहेको तरिका र आमा हुनुको अर्थबारे सोच्न, आफैँलाई प्रश्न गर्न र पुनर्विचार गर्न बाध्य बनायो।
बिहान मात्रै छोरासँग मेरो सामान्य झगडा परेको थियो। मैले समय निकालेर र माया गरेर तयार पारेको रोटी उसले एक्कासि रिसाएर फ्याँकिदियो। म पनि झर्किएँ अनि ऊ रुन थाल्यो। त्यसपछि मैले महसुस गरेँ कि ऊ कोठामा अर्को व्यक्ति भएकाले असहज भएर रोएको रहेछ।
मलाई पुस्तकको एउटा प्रसंग सम्झना आयो जहाँ विशेषगरी बाल्यकालमा अरुन्धती र उनका भाइ एलकेसीका लागि विद्यालय र घर दुवै बनेको साझा स्थानमा व्यक्तिगत सिमाना निकै धमिलो थियो। मेरी आमा हुन्, तर उनी मुख्यतः शिक्षिका हुन् र उनले आफू आमाभन्दा बढी शिक्षिका रहन चाहेको कुरा स्पष्ट पार्छिन्। त्यसैले उनीहरू उनलाई ‘मिसेस रोय’ भनेर सम्बोधन गर्छन्। बाल्यकालमा अरुन्धती आमा-छोरीबीचको छुट्टै निजी ठाउँको आकांक्षा गरिरहेकी हुन्छिन्। आफू र आफ्ना अभिभावकबीच भइरहेको कुरा अरूसँग साझा गर्न नचाहने अवस्थाहरूमा गोपनीयता र अभिभावकसँगको निजी क्षण कति महत्त्वपूर्ण हुन्छ भन्ने मैले बुझेँ। त्यसपछि मैले त्यो साथीलाई कोठाबाट बाहिर जान आग्रह गरेँ, ताकि म आफ्नो छोरासँग निजी रूपमा कुरा गर्न सकूँ।
त्यसैले पुस्तकहरू रूपान्तरणकारी पनि हुन सक्छन्। तिनले तपाईं आफ्नो जीवन कसरी जिउनुहुन्छ भन्नेमा प्रभाव पार्छन् र मलाई लाग्छ– रोयको लेखनको यही पक्ष सुन्दर छ। उनी आफूलाई पूर्ण रूपमा समर्पित गर्छिन्, तर समानुभूतिले भरिएकी पनि छिन्।
उनले लेखकहरूलाई स्वार्थी लेखक र उदार लेखकमा वर्गीकरण गर्दै भनेकी छन्– स्वार्थी लेखक संकुचित हुन्छन् र पाठकले उनीहरूको कामलाई एउटा निश्चित ढाँचामा मात्र पछ्याओस् भन्ने चाहन्छन्। उदार लेखकहरूले आफूले लेखेका कुरालाई बुझ्न, अगाडि बढाउन र अझ परिष्कृत बनाउन पाठकहरूमा नै छोडिदिन्छन्।
एक उदार व्यक्ति भएकीले उनको लेखन पनि निकै उदार छ। मेरा लागि त आफ्नी आमासँगको जीवनको अनुभवलाई पुस्तकमा उतार्ने सोच्नु पनि निकै गाह्रो काम हो। मलाई लाग्छ, उनले यो काम गर्न सक्नुको एउटा कारण आमाको मृत्युपछि किताब आएकाले मात्र हो। मलाई लाग्दैन कि कुनै पनि छोरीले आफ्नी आमा जीवित छँदै उनीहरूको बारेमा यसरी लेख्न सक्छन्। यो धेरै पीडादायी र मायाले भरिएको अनुभव हो।
मैले देखिरहेकी रोय बाहिरबाट हेर्दा राम्रो पहिरन लगाएकी, राम्रो अंग्रेजी बोल्ने, सामाजिक पुँजी भएकी र मैले उनलाई भेटेको दिल्लीको चाणक्यपुरी जस्तो धनीमानीहरू बस्ने क्षेत्रमा बस्ने अनि भव्य व्यक्तित्व जस्तो लाग्छिन्। तर, उनको बाल्यकाल पीडादायी संघर्षले भरिएको थियो भन्ने किताबले देखाउँछ। यो किताब केवल उनकी आमा र छोरीबीचको सम्बन्धको बारेमा होइन। अन्ततः उनी पछि कस्तो लेखक बनिन् भन्ने बारेमा पनि हो। हरेक जीवनको अनुभवमा आमासँगको सम्बन्धको कस्तो भूमिका रह्यो, प्रेम, यौन, शिक्षा, उनको बुबा, उनको जीवनमा आएका पुरुष, उनले रोजेको पेसा र यी सबैले उनी कस्तो लेखक बनिन् र उनले केका बारेमा लेखिन् भन्ने कुरालाई आकार दिएका छन् जीवनका यी सबै अनुभवले।
यी सबैमा उनकी आमा कसरी जोडिन्छिन् भन्ने पनि उनले देखाएकी छन्। पछि पछि उनको लेखनको दौरान भारतमा हिन्दुत्वको राजनीतिको उभार अनि त्यसको दिशाबारे टिप्पणी छन्। ठूल्ठूला बाँध र समग्र विकास कसका लागि हो भन्नेबारे पनि उनको प्रश्न छ। केरलको आफ्नै अर्थ-सामाजिक र राजनीतिक परिवेशमा उनको हुर्काइको वर्णन छ। अनि वर्गीय, जातीय र महिलालाई हेर्ने धरातलले उनको हुर्काइलाई प्रभाव पारेको देखिन्छ। सँगसँगै उनको आफ्नै स्वतन्त्र विचार पनि छ।

अरुन्धतीको थेसिस रोचक पनि रोचक रहेछ। परम्परागत चित्र र नक्सा कोर्ने मात्र होइन, सहरी क्षेत्रहरूमा कसको अधिकार छ, सहर र गैरसहर, सहरका बासिन्दा मानिएका र सहरमा गैरनागरिक ठानिएकाको बारेमा सैद्धान्तिकीकरण गरेर हेरेकी रहिछन्। २०-२१ वर्षको उमेरमा कलेजमा पढाउने परम्परागत तरिका उनलाई अर्थहीन अनि पट्यार लाग्थ्यो। उनी पारम्पारिक धारको विपरीत छिन् अनि मौलिक कुराको सिर्जनातिर लागिन्। त्यसमा उनको आलोचनात्मक चेत अनि जनपक्षीय रहेछ भन्ने लाग्यो। मलाई लाग्छ, यी सबै प्रवाहसँग बग्न नचाहने उनको तरिकासँग जोडिन्छ। सहरिया जीवनका अधिकार कसले पाउँछन् र कसले पाउँदैनन् ? सहर र गैरसहर अनि सहरिया र अनागरिकका आयाम उनले केलाइन्। उनी मूलप्रवाहभन्दा फरक बन्न मन पराउँछिन्। यो उनको जीवनमा पछिसम्म पनि कायम रह्यो। यस क्रममा उनले शत्रुहरू पनि कमाएकी छिन्। तर, उनको वरिपरि राम्रा मानिसहरू छन्। उनी मित्रतालाई धेरै महत्त्व दिन्छिन् जसकारण उनले जीवन सहन सकिन्, बाँच्न सफल भइन्। उनी आफ्नो आमाको बन्धनबाट मुक्त नभएको भए अहिले हामीले चिनेको जस्तो लेखक र व्यक्ति हुन सक्ने थिइनन्।
एक छोरीका रूपमा मलाई थाहा छ, आमासँगको लगाव तोड्न अनि शारीरिक रूपमा टाढा जानु कति कठिन हुन्छ। उनले जुन साहस देखाइन् त्यो सजिलो छैन। भावनात्मक रूपमा पक्कै पनि त्यहाँ सधैँ एउटा तिर्सना हुन्छ जुन उनको पुस्तकमा पनि पाइन्छ।
त्यहाँ विरोधाभास पनि छ। एकातिर बाबुआमा वरिपरि नभएको गुनासो जस्तो पनि छ। अर्कातिर, उनी आफ्ना साथीहरूको घर जान मन पराउँदिनन् किनभने उनी ती मम्मी-ड्याडी टाइपका मानिसहरूलाई भेट्न चाहँदिनन्। उनी एक धेरै विरोधाभासी र जटिल संसारमा बाँचिरहेकी छिन्। जीवन भनेकै यही हो र उनले आफ्नी आमाप्रतिको माया र घृणाको विरोधाभासलाई स्पष्ट रूपमा किताबमा राखेकी छिन्।
एक छोरीका रूपमा मलाई थाहा छ कि आफ्नी आमासँग यस्तो सम्बन्ध हामी सबैको हुन्छ। यो सुन्दर पनि छ र सँगसँगै पीडादायी पनि। त्यसैले यस किताबको प्रायःले चर्चा गर्ने सबैभन्दा सुन्दर वाक्यांशमा उनले आफ्नी आमालाई आँधी र आश्रय (स्टर्म एन्ड सेल्टर) भनेकी छन्। किताबमार्फत मैले के पाएँ भन्दा, सायद अरुन्धतीले चाहेको वा दाबी गर्न सक्ने आश्रयरूपी आमाभन्दा बढी उनी आँधी थिइन्। तर, उनकी आमा बाँचिरहेको समय र परिस्थिति हेर्दा म उनकी आमासँग पनि धेरै तरिकाले समानुभूति राख्न सक्छु।
पक्कै पनि अरुन्धतीको परिवारमा उनकी आमा र मुख्यतः प्रायः अनुपस्थित तर पछि उनको जीवनमा फर्किएका बुबामार्फत हुने दुर्व्यवहार र हिंसालाई पनि उनले हेरिन्। पछि उनले आफ्ना जँड्याहा बुबाको पनि हेरचाह गरिन्। आमाबाट नभोग्नुपर्ने जेजस्ता कुरा थिए त्यसका बाबजुद उनलाई थाहा छ कि उनकी आमा केवल आमा होइनन्। मलाई सम्झना छ, यहाँ बुक साइनिङ कार्यक्रममा आएको बेला पनि मभन्दा अगाडिकी एक व्यक्तिका लागि बच्चाको नाममा उनले लेखेकी थिइन्— तिम्री आमा, तिम्री आमा मात्रै होइन। अरुन्धती यस कुरामा धेरै दृढ छिन्। सानो बच्चालाई कसले यस्तो भन्छ? तर, यो भन्नु धेरै महत्त्वपूर्ण छ। मैले यो कुरा आफैँलाई पनि भनिरहनुपर्छ, किनभने म पनि आफ्नी आमालाई कम आँक्ने गर्छु। कहिलेकाहीँ म उनलाई एक पारिवारिक व्यक्तिका रूपमा मात्र लिन्छु। तर, उनी मेरी आमा मात्र होइनन्। उनी एक राजनीतिकर्मी, लेखक, कार्यकर्ता र कलाकार पनि हुन्। अनि उनलाई गाउन मन पर्छ।
हाम्रा आमाका धेरै रूप हुन्छन् जसलाई हामी कहिलेकाहीँ कम आँक्छौँ, बेवास्ता गर्छौं अनि होच्याउँछौँ। उनी आफ्नी आमाप्रति एकदमै वस्तुनिष्ठ र उदार छिन्, विशेषगरी त्रावणकोर क्रिस्चियन उत्तराधिकार ऐनसँग सम्बन्धित विषयमा। मेरो जन्म भएकै वर्ष सन् १९८६ मा नै त्यो ऐन आएको रहेछ। एक एकल आमाका लागि सिरियन क्रिस्चियन समुदाय जस्तो आफ्नो पहिचानमा धेरै गर्व गर्ने अनि केरलमै भए पनि रूढिवादी समुदायमा उत्तराधिकार ऐनमार्फत पैतृक सम्पत्तिमा महिलाको समान अधिकार प्राप्त गर्नु ठूलो कुरा थियो। उच्च अदालतमा गएर मुद्दा लड्नु एक महिलाका लागि अनि सिंगो भारतीय महिलाका लागि निकै महत्त्वपूर्ण काम थियो। त्यो संघर्षलाई पनि अरुन्धतीले सुरुमा कम आँकेकी रहिछन्। उनकी आमाको लडाइँ समग्र युवती र महिलाहरूका लागि थियो भनी कसैले अरुन्धतीलाई भनेपछि बल्ल त्यो कति महत्त्वपूर्ण छ भनेर बुझेको भनी किताबमा उल्लेख छ। त्यो पनि अरुन्धतीले कोही अरूबाट थाहा पाउँछिन्। त्यसैले मातृत्व र लैंगिक कुरामा हामी कस्तो व्यवहार गर्छौं भन्ने महसुस गर्नु पनि मेरा लागि महत्त्वपूर्ण ज्ञान हो।
म लैंगिकता र मातृत्वसँग सम्बन्धित सिद्धान्तहरू पढाउँछु, तैपनि हामी जीवनमा त्यही प्रणालीमा बाँचिरहेका छौँ, जसको आलोचनासमेत गरिरहेका छौँ। यो पितृसत्तात्मक नवउदारवादी संरचनाको आलोचना गर्दै गर्दा हामी त्यसैको हिस्सा पनि हौँ। कहिलेकाहीँ हामी कसरी यसको हिस्सा बन्छौँ भन्ने कुरा हामीलाई थाहा पनि हुँदैन। कहिलेकाहीँ हामी यस्तो संरचनाको समष्टिमै आलोचना गरिरहेका हुन्छौँ, तर हामी यसबाट आफूलाई पूर्ण रूपमा अलग गर्न सक्दैनौँ, किनभने हामी त्यही प्रणालीको हिस्सा पनि हौँ। हामी यो विरोधाभासमा बाँचिरहेका हुन्छौँ। यो बुझ्ने र धेरै बुझ्ने क्रममा त्यसैमा बाँचिरहेका हुन्छौँ। तर, त्यस्तो अवस्थामा पनि आत्मसमर्पण कसरी नगर्ने भन्ने मेरो निरन्तरको संघर्ष हो। एक राजनीतिकर्मीका रूपमा पनि यो धेरै कठिन लडाइँ हो। अरुन्धती रोयका लागि पनि यो निरन्तरको संघर्ष नै हो। उनी पनि त्यसको हिस्सा हुन्। यसै सन्दर्भमा उनले कहिलेकाहीँ निरीहताबाट आउने शून्यताबारे कुरा गरेकी छन्।
यस्ता क्षण उनको जीवनभर आइरहन्छन्। विशेषगरी शिख दंगाको बेला, इन्दिरा गान्धीको शासनका बेला, हिन्दुत्वको उभार अनि बाबरी मस्जिद भत्काउनका लागि लालकृष्ण आडवाणीको रथ यात्राका बेला उनले भोगेको निस्सहायताको कुरा उनले गरेकी छन्। आफ्नो जीवनबारे निर्णय गर्ने वा नगर्ने भन्ने द्विविधाबारे पनि उनले कुरा गरेकी छन्। तर, उनले त्यसलाई उल्ट्याइदिने अनि आफू फर्किने कुरा पनि भन्छिन् अनि पूर्ण रूपमा एक उचित मानिस बनेपछि फिर्ता आउने कुरा गर्छिन्। उनी त्यो क्षण पनि देख्छिन्। उनी पनि हामी सबै जस्तै एक असुरक्षित मानिस हुन्।

हामी सधैँ साहसी हुँदैनौँ अनि त्यस्तो मौका, अवसर र समय हामीमा हुँदैन रहेछ। अहिले हामीले अरुन्धतीलाई साहसी र जुन आवेगमा अहिलेको हिन्दूत्वको शासनको आलोचना गर्ने हिम्मत राखेकी ठान्छौँ, अवस्था सधैँ त्यही होइन रहेछ। त्यो पनि ठीकै नै हो। हामी पनि कुनै समय शक्ति सञ्चय गर्ने अवस्थामा हुँदा रहेछौँ। उनी पूर्ण विकसित परिपक्व मान्छे भएर फेरि फर्किने अठोट पनि गर्छिन्। उनले जीवनमा पनि त्यही गर्छिन् र जीवन नयाँ शिराबाट सुरु गर्छिन्, उडान भर्छिन्।
उनले आफ्नो मन्तव्यमा पनि भनेकी थिइन्— यो होइन कि मलाई डर लाग्दैन। डर लाग्छ। एक्लो महसुस पनि हुन्छ। लगातार यति धेरै धम्की र आक्रमणहरू हुन्छन् कि लाग्छ, मेरो आफ्नो पनि ग्याङ बनाउनुपर्छ।
भव्य कार्यक्रमका स्टेजमा जान उनलाई खासै मन पर्दैन, तर त्यहाँ जाने प्रयास गर्नु र सहभागी हुनुको मुख्य कारण उनमा पनि मान्छे त चाहियो भन्ने भावना आउँदो रहेछ। हामीलाई महसुस हुन्छ कि उनी पनि आखिरमा मानव नै हुन्। शक्तिशाली मनुष्य हुनका लागि पनि यस्ता सबै कमजोरी र संघर्षका चरणहरू पार गरेरै मात्र जीवनमा त्यहाँ पुगिने रहेछ भन्ने बुझिन्छ उनको जीवनबाट।
यो किताब पढ्दा मलाई सुन्दर लागेका केही अंश यहाँ चर्चा गर्न चाहन्छु। यो अरुन्धती, उनको भाइ र आमाको बारेमा हो। दिदीभाइले आमाको मृत्युलाई कसरी लिइरहेका छन् भन्ने बारेमा हो। ‘म अपराजित, नजितिएको चन्द्रमाको पक्षमा छु’ शीर्षकको खण्डबाट लिइएको हो यो।
जब हामी बच्चा थियौँ, भाइ र मैले श्रीमती रोय(आमा)को बारेमा एकअर्कासँग कहिल्यै कुरा गरेनौँ। हामी उनलाई केवल उनी भनेर सम्बोधन गर्थ्यौं। हामी एकअर्कासँग सम्बन्धित कुरा उनले कहिल्यै मन पराउँदैन थिइन् किनभने उनलाई लाग्थ्यो हामी उनीविरुद्ध षडयन्त्र गरिरहेका छौँ। उनले हामीलाई अलग राख्न हरसम्भव प्रयास गरिन्। अहिले उनी बितेपछि मात्र हामी स्वतन्त्र रूपमा एकअर्कालाई भेट्छौँ, खुलेर कुराहरू साटासाट गर्छौं र हाँस्छौँ। उनको मृत्यु हुँदा मेरो भाइले दुःखी भएको नाटक गरेन। उनी कफिनमा हुँदा पनि। मेरो लागि भने यो फरक थियो। म तयार नभई आएँ।
यदि मैले आफूलाई राम्रोसँग बुझ्न सकेको भए, सायद मैले संसार र निश्चित रूपमा मेरो देशको बारेमा अझ बढी बुझ्ने थिएँ, जहाँ धेरै मानिसहरू आफ्ना दमनकारीहरूलाई सम्मान गर्छन् र दमित हुन अनि के लगाउने, के खाने र कसरी सोच्ने भन्ने कुरामा अरूकै निर्देशन मान्न पाउँदा कृतज्ञ देखिन्छन्।
यी सबै कुरामा मानवअवस्थाबारे केही रहस्यमय कुरा छ। तर, सायद केही कुराहरूलाई नबुझेकै राम्रो, रहस्यमय नै छोडिदिनु राम्रो हुन्छ। म नचढेका हिमाल र नजितिएका चन्द्रमाको पक्षमा छु। म अनन्त सिद्धान्त र व्याख्याहरूबाट चिन्तित छु। मलाई लाग्छ, मैले वर्णनहरूलाई प्राथमिकता दिन थालेको छु। जे होस्, यी सबै यत्ति भन्नका लागि हो कि श्रीमती रोय सिसाको कफिनमा हुँदा म बर्बाद भएकी थिएँ, तर मेरो भाइ प्रफुल्ल थियो र श्रद्धाञ्जली दिन आउनेहरूलाई स्वागत गरिरहेको थियो। मानिसहरूले उनलाई अनौठो मानेर हेरे। मैले त्यसरी हेरिनँ। उसलाई मतलब थिएन। मलाई उसको त्यो कुरा मन पर्छ।
हामीमाथि जे भयो, त्यो भएन भनेर उसले कहिल्यै बहाना गरेन। यो लगभग यस्तो थियो कि आफ्ना विद्यार्थीहरूमाथि प्रकाश पार्न र उनीहरूलाई सबै कुरा दिनका लागि, हामीले आमाको अन्धकार पक्षलाई हेर्नुपर्थ्यो। आज म त्यो अन्धकारको उपहारका लागि कृतज्ञ छु। मैले यसलाई नजिकबाट राख्न, यसलाई बुझ्न र यसका रहस्यहरू नखुलेसम्म हेरिरहन सिकेँ। यो स्वतन्त्रताको मार्ग बन्यो।
यसमा अरुन्धतीले आफ्नी आमा गुमाउनुको पीडालाई कसरी लिइन् भन्नेबारे साह्रै इमानदार र निकै गहिरो वर्णन छ। अन्धकारलाई उपहारका रूपमा आलिंगन गरेको छु भनेको के हो? कसैले अन्धकारलाई कसरी उपहार मान्न सक्ला? मसँग रहिरहेको सबैभन्दा पीडादायी कुरा नै यही हो। यसले मलाई सोच्न बाध्य बनाउँछ।
उनले आफ्नो जीवनमा अन्धकारका ती छायाहरूलाई कसरी सकारात्मकतामा बदलेर स्वतन्त्रतातर्फ अघि बढ्न सकिन्? यो मैले पनि सिक्नुपर्ने कुरा हो, किनभने हामी घर, छरछिमेक र वरपर कठिन समयमा बाँचिरहेका छौँ। विशेषगरी, जेन-जी आन्दोलनले गर्दा कहिलेकाहीँ हामी सामूहिक आघातबाट गुज्रिरहेका छौँ जस्तो लाग्छ। तर, राजनीतिकर्मीका रूपमा हामीले केही नभएझैँ जीवनमा झटपट अगाडि बढ्नुपर्छ। तर, वास्तविकता यो हो कि हाम्रो देशमा, छरछिमेक र हाम्रो घरमा केही आमूल परिवर्तन भयो। धेरै अन्धकार अझै बाँकी छ। तर, हामी त्यो चाँदीको घेरा खोजिरहेका छौँ। अरुन्धती रोयको लेखनबाट मैले पाएको कुरा भनेको आशाको किरण खोज्नु र यसलाई आफ्नो लेखन र भाषणमार्फत फैलाउनु हो। म उनको पाठक हुन पाएकामा र उनलाई व्यक्तिगत रूपमा चिन्न पाएकामा सदैव कृतज्ञ रहनेछु।
(भट्टराईले २० फेब्रुअरी २०२६ मा रोय र उनको पुस्तकबारे बुकाहोलिक्सको १०६औँ चकटी बहसमा व्यक्त गरेको विचारको सम्पादित अंश।)