काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

प्रकृतिको ऋत र रजस्वलाबीचको दर्शन नबुझ्दा सिंगो पुँजीवादी पुरुषसत्ताले ठूलो घाटा बेहोरिरहेको छ।

७ भाद्र २०८२
अ+
अ-

भनिन्छ, पात्रो अर्थात् समयको अभिलेख राख्ने प्रविधिको आविष्कार महिलाले गरेका थिए। रजस्वलाको समयतालिका याद हुनु अत्यन्त महत्त्वपूर्ण भएकाले महिलाले २८ दिनको पात्रो राख्न थालेको बताइन्छ। आफ्नो ब्लगमा ओलिभिया क्याम्पबेलले त्यस्ता विभिन्न आदिम तरिका बताएकी छिन्: एउटा डोरीमा २८ वटा गाँठा बनाउने र प्रत्येक दिन एउटा एउटा फुकाउने, एउटा टोकरीमा दिनदिनै एक-एकवटा लठ्ठी हाल्ने आदि।

रजस्वला र समय मापनको सम्बन्ध धेरै भाषामा आजपर्यन्त पाइन्छ। २८ दिन अर्थात् चन्द्रमासमा रजस्वलाको एक चक्र पूरा हुने हुनाले चन्द्र, महिना र रजस्वलाका लागि उस्तै उस्तै शब्द भेटिन्छन्। उदाहरणका लागि : अंग्रेजी भाषामा मून (चन्द्रमा), मन्थ (महिना) र मेन्स्ट्रुएसन (रजस्वला) आदि। क्याम्पबेल भन्छिन्, ‘गेलिक भाषामा रजस्वला र गणनाका लागि एकै शब्द प्रयोग गरिन्छः मिओसक र मिओसकन। अंग्रेजीमा रजस्वलाका लागि प्रयोग गरिने शब्द पिरियडको अर्थ हुन्छः कुनै समयावधि, विशेष गरी चक्रीय रूपमा दोहोरिने समयावधि। ‘

रजस्वलाको समय-भाषा

संस्कृतमा प्रकृतिको एक वर्षको समय चक्रलाई विभिन्न ऋतुमा नापिएजस्तै महिलाको मासिक चक्रलाई पनि ऋतु भनिन्छ। विशेष गरी सृष्टिका सन्दर्भमा ऋतु शब्दको प्रयोग गरिन्छः रजस्वला हुने पहिलो दिनदेखि सोह्रौं दिनसम्मलाई महिलाको ऋतु अर्थात् गर्भाधान हुने सम्भावना भएको समय भनिन्छ। यसमध्ये पहिलोदेखि चौथो दिन अर्थात् रक्तश्राव हुने दिनमा महिलालाई ऋतुमती भनिन्छ र त्यसपछिका दिनलाई ऋतुकाल भनिन्छ।

गर्भाधानमा पुरुषको भूमिकालाई ‘ऋतुदान’ भनिन्छ। प्रकृतिको हकमा पनि ऋतुहरूले महिना वा हप्ताको जस्तो समयको गणनाभन्दा पनि श्रृष्टिका चरण बुझाउँछन्: जस्तै फूल फुल्नुले वसन्त ऋतु र पात झर्नुले शरद ऋतु आदि।

संस्कृत भाषाबाट नेपाली भाषासम्म आइपुग्दा महिलाका हकमा ऋतु शब्दको प्रयोग दैनिक कुराकानीमा हुँदैन र यो अर्थ केही साहित्यिक कृतिमा बाहेक लोपप्रायः भइसकेको छ। तर ऋतुको अर्थ खोज्दै जाँदा हामी समयमापन मात्र नभएर एउटा लोप भइसकेको दर्शन नै भेट्टाउँछौं।

संसारको ऋत

ऋतु शब्दको जरा हो ऋत अर्थात् संसारको नियम। ऋत के हो? मदनमणि दीक्षित ऋग्वैदिक नारी चरित्रमा लेख्छन्, “ऋत भनेको प्राकृतिक नियम, प्रकृतिको स्वभाव र व्यवहार हो – आगोले पोल्छ, पानी बग्दछ, सूर्यबाट प्रकाश हुन्छ, वनस्पति उम्रिन्छ, जीवनधारी मर्छन् आदि प्राकृतिक स्वभाव देखिएझैं। ” अर्थात, सही ऋतुमा वनस्पति उम्रिएजस्तै ठिक समयमा महिलाको रजस्वला हुनु पनि यो संसारको ऋत हो। भारोपेली भाषा परिवारका अरू भाषामा पनि ‘ऋत’ जरा भएका यस्ता शब्द पाइन्छन्, जस्तै अंग्रेजीका राइट, रिचुअल आदि जसले कुनै निर्धारित समयमा गरिने कार्य बुझाउँछन्।

ऋग्वेद शब्दको जरामै जाँदा पनि त्यही ऋत भेटिन्छः यी दुवै शब्दको एउटै जरा छ, ऋ, जसका धेरै अर्थमध्ये छन्: चल्नु, बहनु, संसारको नियम, सत्य आदि। ‘ऋ’बाट अघि बढ्दै जाँदा यो अक्षरले विभिन्न भारोपेली भाषामा ‘रगत’ र ‘रातो’ अर्थ लाग्ने शब्द पनि दिएको छ, जस्तै संस्कृतको रक्त, रज, रजस्वला आदि, अंग्रेजी रेड र फ्रेञ्च रुज। अझ अघि बढ्दै जाँदा यसले भारोपेली भाषाहरूमा नियम र नियामकको अर्थ पनि दिएको छ, जस्तै नेपालीको राजा, रानी, अंग्रेजीका रुल, रेगुलेसन, रेक्स (राजा), रेजिना (रानी), रेइन (शासन) आदि र फ्रेञ्चको रेग्ले (नियम/ रजस्वला) आदि।

अर्थात् सृष्टि सञ्चालनको आधार नै ऋत हो, जुन ऋतमध्ये एक महिलाको रजस्वला पनि हो। यसरी संसारको नियामकतामा महिलाको रजस्वला दुई अर्थमा महत्त्वपूर्ण मानिएको छ, एउटा- प्रकृतिका ऋतुहरू जस्तै महिलाको ऋतु पनि नियमित समयमा आउँछ र दोस्रो, संसार चलिरहनका लागि प्रकृतिका ऋतुहरूको जस्तै महिलाको ऋतुको नियमितता अत्यावश्यक हुन्छ।

अधिकांश हिन्दु साहित्यले यो समयमा महिलाले के गर्नुपर्ने हो भन्दैनन्। रक्तश्राव हुँदा चार दिन छुट्टै बस्नुपर्ने र चौथो दिनमा नुहाएर ‘शुद्ध’ हुनुपर्ने बाहेक महिलाले बाँकी दिनमा के गर्नुपर्छ भनेर भनिँदैन। पुरूष परम्परामा भएका यी अधिकांश साहित्यमा खालि पुरूषलाई ज्ञान दिइन्छ, जुन ज्ञान रजस्वलालाई अशुद्ध करार गर्नु र सहवासको समय निर्धारण गर्नुमा सीमित छ।

ऋत कायम नभएमा संसार अन्योलमा फस्छ भन्ने अवधारणा विभिन्न संस्कृतिमा पाइन्छ। हिन्दु शास्त्रमा पनि यो प्रसंग बारम्बार आउँछ, विशेष गरी युद्ध र प्रलयका सन्दर्भमा। यति बुझ्न महिलाले कुनै शास्त्र पढ्नु पर्दैन। युद्धजस्ता तनावपूर्ण परिस्थितिमा, कुपोषण हुँदा, खानपिनमा धेरै फेरबदल हुँदा, धेरै श्रम गर्दा, भावनात्मक आघात परेको अवस्थामा धेरै महिलाको रजस्वला समयमा हुँदैन।

सामाजिक स्तरको कुरा गर्दा धेरै महिला लामो समयसम्म एकै ठाउँमा बस्दा उनीहरूको रजस्वला पनि कालान्तरमा एकै समयमा हुने गरेको छ। मानव सभ्यताको आदिकालमा महिला र पुरूष छुट्टाछुट्टै समूह बनाएर बस्दा यस्तो हुने गरेको अभिलेख पाइन्छ भने आधुनिक समयमा पनि लामो समयसम्म महिला एकै ठाउँमा बस्दा यो प्रवृत्ति अभिलेख गरिएको छ। त्यसरी सामूहिक स्तरमा नै युद्ध वा कुपोषण वा कुनै विपत्तिका कारण महिलाको समूहको रजस्वला समयमा नहुँदा त्यसले समाज नै समस्यामा परेको इंगित गर्न सक्छ। अर्थात् महिलाको शरीर एक प्राकृतिक पात्रो मात्र नभएर ऋत नियमित भए/नभएको लक्षण दिने सूचक पनि हो।

ऋतम्भरा प्रज्ञा

यही अवधारणाअन्तर्गत हिन्दु शास्त्र पतञ्जलि योगसूत्रले ऋतम्भरा प्रज्ञाको उल्लेख गरेको छ। स्वामी विवेकानन्दले त्यसमा टिप्पणी गर्दै भनेका छन्, “तर्क वा बुझाइ वा अर्काको भनाइ वा अध्ययनबाट नभएर आफ्नै अभ्यासबाट वा अन्तर्दृष्टिबाट पाइने ज्ञान।” यसलाई यसरी पनि तर्क गर्न सकिन्छ- आफ्नै शरीरमा ऋतको अनुभव गरेर त्यसबाट संसारको ऋतको ज्ञान पाउने महिला नै ऋतम्भरा हुन्। त्यसको तुलनामा अरू सबै मानिसले सिकेर वा देखेर वा अध्ययन गरेर मात्र ज्ञान पाउँछन्।

ऋतम्भरा शब्दको मात्राले पनि यसलाई स्त्रीलिङ्गी जनाएको छ, यसको पुलिङ्गी शब्द ऋतम्भरः को अर्थ हुन्छ ऋतको पालना गर्ने स्वयम् भगवान्। अथर्ववेदको विवाह सूक्तमा वरले वधुलाई ‘म साम हुँ, तिमी ऋग्’ भनेर ऋत तत्त्व महिलाको भागमा परेको जनाएका छन्।

ऋत चक्र

ऋतम्भरा महिलाले कसरी संसारको ऋत कायम गर्थे भन्ने कुरा भारतीय लेखिका सिनु जोसेफले ऋतु विद्या पुस्तकमा लेखेकी छिन्। मासिक चक्रका चार चरण हुन्छन्। पहिलोः ३-५ दिनसम्म रक्तश्राव, दोस्रोः करिब १६ दिनसम्म पाठेघरले अन्डा तयार गर्ने चरण, तेस्रोः प्राय १४-१६ दिनमा पाठेघरले तयार गरेको अन्डा छोड्ने चरण र चौथोः अन्डाको प्रयोग नभएमा पाठेघर खुम्चिँदै रक्तश्रावको तयारी गर्ने चरण। यी हरेक चरणमा के कस्ता कार्य गर्ने भनेर महिलाको शरीरले निर्देशित गर्ने गर्दछ।

पहिलो चरणमा रक्तश्राव हुँदा महिला एकै ठाउँमा बसेर आराम गर्दथे, कुनै काम गर्दैनथे। दोस्रो र तेस्रो चरणमा शरीरमा उच्च ऊर्जा हुँदा उनीहरू उच्च शारीरिक बल चाहिने काम गर्दथे, जसमा खेलकुद, एड्भेञ्चर, यात्रा, लगायतका कार्य पनि पर्दछन्। दोस्रो र तेस्रो चरण सन्तान प्राप्त गर्ने उद्देश्यले सहवास गर्ने समय पनि हो। चौथो चरणलाई आज हामी पीएमएस अर्थात् प्रिमेन्स्ट्रुअल सिन्ड्रोम भनेर चिन्छौं– जब महिलालाई अत्यन्त तनाव हुन्छ, हरेक सानो कुराले भावुक बनाउँछ, रून मन लाग्छ, भोक बढ्छ, थकान बढ्छ आदि। यस्तो समयमा महिलाहरू अति संवेदनशील अवस्थाको मनले पछिल्ला सबै गतिविधिको विश्लेषण गर्छन् र नयाँ दृष्टिकोण पाउँछन्। त्यसपछि हुने रक्तश्राव र आरामले उनीहरूलाई पछिल्लो भावनात्मक समयबाट निस्केका अन्तरदृष्टिमाथि काम गर्ने योजना बनाउने मौका दिन्छन्। यो नयाँ चक्रको सुरुवात हो, नयाँ श्रृष्टिको समय हो, जसले महिलाले पछिल्लो महिनाका सबै विकार त्याग्दै नयाँ बाटो पहिल्याउने अवसर दिन्छ।

प्रत्येक चरणमा के खाने भनेर पनि महिलाको शरीरले निर्देशन गर्ने गर्दछ। चौथो चरणमा अर्थात् ठिक्क रजस्वला हुनुभन्दा अगाडि ‘पीएमएस’मा धेरै महिलालाई अमिलो-पिरो खान मन लाग्छ। रजस्वला हुँदा नरिबल र सख्खरजस्ता पौष्टिक खानेकुरा खाने चलन दक्षिण भारतमा रहेको सिनु जोसेफ बताउँछिन्। अरू चरणमा खाने कुराको वयान पनि जोसेफले गरेकी छिन्, तर व्यक्तिगत अनुभवबाट म भन्न सक्दिनँ। तर पक्कै महिला परम्परामा यी ज्ञान थिएन, जुन अहिले हराएका छन्।

यीमध्ये कतिपय गतिविधिको उल्लेख हिन्दु शास्त्रमा पाइन्छन्। पहिलो चरणको कुरा गर्दा महाभारतको द्युतसभाको खण्डमा द्रौपदीले भन्छिन्, “म रजस्वला भएकी छु, म सभामा आउँदिन। ” दोस्रो र तेस्रो चरणको कुरा गर्दा महाभारतमा पटक-पटक विभिन्न पुरूषलाई महिलाको ऋतुकालमा मात्र समागम गर्ने उपदेश दिइएको छ। रक्तश्राव हुँदै गर्दा समागम गर्नुलाई पाप र ऋतुकालमा समागम नगर्नुलाई मूर्खता भनेर पुरुषलाई सिकाइन्छ। रजस्वलाको समयमा समागम वर्जित गरिएको एउटा उदाहरणः भूदेवी र वराहका पुत्र नरकासुरको गर्भाधान रजस्वलाको समयमा भएकाले उनी देवीका पुत्र भए पनि खलपात्र भएर निस्केको कथा छ। हिन्दुशास्त्रमा महिलाको ऋतुका बारेमा यो ज्ञान पुरुषलाई सिकाइन्छ र महाभारतमा यो ज्ञानलाई ‘धर्म र अर्थ’को ज्ञान भनिएको छ।

हरेक रजस्वलाले महिलालाई शुद्ध गराउँछ भन्ने अवधारणा पनि हिन्दु शास्त्रमा पाइन्छ। पुरूष परम्पराले रजस्वलाको अन्त्यलाई धार्मिक गतिविधिका लागि उपयुक्ततामा खुम्च्याएको छ तर महिलाको अनुभवमा रजस्वलाले दिने यो शुद्धता व्यापक छ। थुप्रै महिलाको अनुभवमा यो हरेक महिना नयाँ श्रृष्टि गर्ने अवसर हो, ‘नेस्टिङ इन्स्टिङ्ट’ भन्ने प्रवृत्ति आजका महिलामा पनि देखिएको छ। हरेक महिना रजस्वला हुने बेलामा वा हुँदै गर्दा बस्ने ठाउँ, कोठा, घर, सरसामान, सफा गर्ने, मिलाउने, नचाहिँदो फाल्ने, चाहिँदो थप्ने बानी धेरै महिलाको हुन्छ। घर र कोठासँगै मनमा पनि यही प्रकृया भइरहेको हुन्छः नचाहिँदो हटाउने, जीवनलाई अघि बढाउनका लागि के गर्नुपर्छ भनेर सोच्ने, जसले गर्दा रजस्वलाको अन्त्यसम्ममा एउटा स्पष्ट बाटो देखिन्छ।

यो समयमा हुने शुद्धि पुरुष परम्परामा भनिएजस्तो शारीरिक होइन, मानसिक, भावनात्मक, आध्यात्मिक हो। कतिपय महिलाले यो अनुभव गरेका छन्।

यी हुन् ऋतम्भरा महिला, जो ऋतको आफैंभित्रको ज्ञानले निर्देशित हुन्छन् र जसले हरेक समयमा पूरा गर्नुपर्ने ऋतको ज्ञान दिँदै समाजको नेतृत्व गर्छिन्।

रहस्यमयी महिला

अधिकांश हिन्दु साहित्यले यो समयमा महिलाले के गर्नुपर्ने हो भन्दैनन्। रक्तश्राव हुँदा चार दिन छुट्टै बस्नुपर्ने र चौथो दिनमा नुहाएर ‘शुद्ध’ हुनुपर्ने बाहेक महिलाले बाँकी दिनमा के गर्नुपर्छ भनेर भनिँदैन। पुरूष परम्परामा भएका यी अधिकांश साहित्यमा खालि पुरूषलाई ज्ञान दिइन्छ, जुन ज्ञान रजस्वलालाई अशुद्ध करार गर्नु र सहवासको समय निर्धारण गर्नुमा सीमित छ।

आदिम समाज यही ऋतम्भरा महिलाको ज्ञानको वरिपरि चल्ने गरेको बुझिन्छ। यस समयमा रजस्वला र ऋतसम्बन्धी ज्ञान महिला परम्परामा हुने गर्दथ्यो, जुन आजसम्म पनि केही महिला परम्परामा अवशेषका रूपमा रहेका छन्। उदाहरणका लागि दक्षिण भारतमा पहिलो रजस्वलाको उत्सव मनाउने प्रचलन आदि। तर, केही बचेखुचेका महिला परम्परा, पुराना स्रोतहरूको उत्खनन र नारीवादी विश्लेषणले हामीलाई केही कुरा बताएका छन्।

प्राचीन परम्परामा महिला रजस्वला हुँदा सामूहिक रूपमा छुट्टै बस्थे तर अशुद्ध मानिएर होइन, अति शक्तिशाली मानिएर, ऋतुमती अवस्थाको पवित्र ऋत पूरा गर्न र आराम गर्न। यो समयमा महिलालाई घरबाहिर निर्वासित गरिँदैन थियो। रजस्वला महिला या त आफ्नो घरको भित्री भागमा (हिन्दु साहित्यमा अन्तःपुरको चर्चा गरिन्छ), या त सामूहिक रजस्वला भवनमा बस्थे। रजस्वला र जन्मसम्बन्धी क्रियाकलाप हुने यी ठाउँ अति शक्तिशाली मानिन्थे।

शक्तिशाली कुन अर्थमा भने रजोवती महिलाले छोएर कुनै बोटबिरुवा, जनावर वा मानिसलाई हानि हुने भएर होइन, उनीहरू स्वयं ऋतका संवाहक भएको भएर। आजको समयमा ‘शक्ति’ भनेर शारीरिक वा भौतिक बल, हिंसा, अर्काको अनिच्छा हुँदाहुँदै पनि आफ्नो इच्छा लाद्ने वा बलजफ्ती गर्ने तागत आदिलाई बुझिन्छ तर प्राचीन समाजले नयाँ जीवनको श्रृष्टि गर्ने शक्तिलाई सबभन्दा ठूलो शक्ति मानेको देखिन्छ। चाहे दशैँमा जमरा उमारेर होस् वा शिव मन्दिरमा लिङ्ग र योनिको समागमलाई पूजा गरेर होस्, विशेषगरी हिन्दु समाजले आजपर्यन्त श्रृष्टिकै पूजा गरिआएको छ।

हिजो जे थिएन, आज त्यसलाई उत्पादन गर्नु नै संसारको सबभन्दा अद्भुत जादु होइन र? रजस्वलामा यो शक्ति भौतिक रूपमा प्रकट हुन्छ, रजस्वलामा ऋतले मूर्त रूप लिन्छ, त्यसकारण यो पूजनीय थियो र पुजिन्थ्यो।

यो समयमा महिलालाई कहीँकतै जान र केही चिज छुन बन्देज गरिएको भन्दा पनि पुरूषलाई यी स्थानमा जान वर्जित गरिएको थियो, किनकि पुरूषलाई यी अनुभूतिसँग कुनै सरोकार थिएन। तसर्थ, जीवनको अन्तर्भागको यो ज्ञानमा पुरूषको पहुँच हुँदैनथ्यो। पुरूषका लागि महिलाको शरीर, अनुभूतिहरू र ऋतअनुसार महिलाले गर्ने हरेक गतिविधि रहस्यमयी थिए। (र सायद आज पनि छन् किनकि आजपर्यन्त पुरूषले महिलालाई रहस्यकै रूपमा चित्रण गरेको पाइन्छ।) यो बेलामा महिलालाई पूजा लगायतका धार्मिक/सामाजिक गतिविधिमा वर्जित गरिएको होइन, वैकल्पिक गरिएको हो। रजस्वला आफैंमा कठिन हुन्छ, त्यो समयमा अरू गतिविधिमा भाग लिनु आवश्यक भएन।

यी ठाउँमा नितान्त स्त्रैण ज्ञान उत्पादन हुन्थेः रजस्वला कसरी हुन्छ? रजस्वलाका लक्षण के हुन्? मासिक चक्रका हरेक दिनमा गर्नुपर्ने ऋत के हो? रजस्वला समयमा नहुनुका के कारण हुन्छन्? के समाधान हुन्छन्? गर्भाधान कसरी हुन्छ? गर्भनिरोधका र गर्भपतनका उपाय के हुन्? गर्भाधानका लक्षण के हुन्? गर्भवती महिलाको स्याहार कसरी गर्ने? यो समयमा के के समस्या आउन सक्छन् र तिनीहरूको समाधान कसरी गर्ने? सुत्केरी महिला र बच्चाको स्याहार कसरी गर्ने? यी यावत् अवस्थामा के खाने? कस्तो लगाउने? के गर्दा शरीरको पीडा कम हुन्छ? के गर्दा यी अनुभूतिसँग सम्बन्धित मानसिक समस्याहरू, जस्तै पोस्टपार्टम डिप्रेसन अर्थात् सुत्केरीमा हुने अवसाद, कम हुन्छ? कसरी गर्भवती र सुत्केरी महिलाको जीवन सजिलो बनाउने?

अरू के के ज्ञान थिए होला महिला परम्परामा? सुरुमै पात्रोको उल्लेख गरिएको थियो, जसमा समयमापनसँगसँगै गणित, खगोलशास्त्रजस्ता विभिन्न विधा स्वतः पर्दछन्। विद्याकी देवी सरस्वती हुनु र अन्नकी देवी अन्नपूर्णा दुर्गा हुनुले लिपि र कृषि महिलाले सुरु गरेका थिए भन्ने संकेत दिन्छन्, अरू धेरै संस्कृतिमा पनि यसरी नै विद्या र कृषिका देवता मात्र नभएर तान बुन्ने जस्ता विभिन्न सीप र प्रविधिका देवता महिला छन्। शिशुको स्याहारको ज्ञान अन्तर्गत मनोविज्ञान, चिकित्सा, खानेकुरा, वनस्पति, प्रकृति, पाक‍्कला, वस्त्र, र आवासका ज्ञान पर्दछन्।

आज पनि केही महिला परम्परा गीतमा अभिव्यक्त हुने हुनाले यी परम्परामा काव्य, संगीत, साहित्य हुने हामी अनुमान गर्न सक्छौं। आदिम देवीका मूर्ति र चित्रहरू विश्वभर भेटिनुले यी परम्पराका आफ्नै देवी, आफ्नै अध्यात्म र आफ्नै दर्शन थियो भन्ने पनि बुझ्न सकिन्छ। अरू के के ज्ञान महिला परम्परामा थिए भनेर अहिले हामी अन्दाज मात्र गर्न सक्छौं, तर मलाई लाग्छ- बृहत् र सम्पूर्ण ज्ञान थिए होला।

अर्थात् सिङ्गो जीवनको ज्ञान यहाँ बन्थ्यो, जसअनुसार महिलाले बाँच्थे र समाजको नेतृत्व गर्थे। यसरी रजस्वलाले महिलालाई गर्भाधान गर्ने शक्ति मात्र नभएर धेरै कुरा दिन्थ्योः ऋतको ज्ञान, चिन्तन, साधना, स्पष्ट दृष्टिकोण, नेतृत्व आदि।

कहाँ गए महिला परम्परा?

महिला ज्ञानको अविच्छिन्न परम्परा यदि हुँदो हो त मेरी आमाले नै मलाई भन्नुहुन्थ्यो होला– यो संसारमा महिला भएर जन्मिनुको अर्थ, यो संसारको ऋत थाम्नुको जिम्मेवारी र अधिकारहरू। श्रृष्टिको ऋत र महिलाको ऋतको ज्ञान छ्यापछ्याप्ती हुन्थ्यो होला। महिलाले आफ्नो मासिक चक्रमा हरेक दिन फरक-फरक छ भन्ने थाहा पाउँथे होला, आफ्नो शरीरले दिएका लक्षणअनुसार हरेक दिन के गर्नुपर्छ भन्ने थाहा पाउँथे होला।

(उदाहरणका लागि, उपवास राख्नु स्वास्थ्यका लागि फाइदाजनक छ भनिन्छ। तर, महिला र पुरूषको उपवास फरक हुँदो रहेछ। पुरूषका लागि हरेक दिन उस्तै हुन्छ तर महिलालाई भने मासिक चक्रको चौथो चरणमा धेरै भोक लाग्दो रहेछ र यो समयमा गरेको उपवासले फाइदा नगर्दो रहेछ। भनौं न, तौल घटाउनका लागि महिला र पुरूषले उस्तै उपवास गरे पनि पुरूषले त्यही समयमा बढी तौल घटाउन सक्छन् र महिलालाई समय लाग्दो रहेछ। यस्ता सामान्य ज्ञान पनि हामीसँग छैनन् किनकि महिला संगठित भएर ज्ञान उत्पादन गर्न पाउँदैनन्।)

जीवन, जन्म, सृष्टिसम्बन्धी प्रश्नहरूको उत्तर खोज्ने ठाउँ धार्मिक परम्परा हो तर यी परम्पराले महिलाका अनुभव सुहाउँदा उत्तर दिएका छैनन्। त्यसबाट आध्यात्मिक पक्षमा सायद महिलालाई सबभन्दा ठूलो घाटा भएको छ।

यति सामान्य जानकारी पाउन आममहिलाले वर्षौं भौंतारिनुपर्छ। भनौं रजस्वलाको केही दिनअगाडि बिनाकारण भक्कानो छुट्दा प्रायः किशोरीलाई थाहा हुँदैन, किन यस्तो भइरहेको छ भनेर। आफैंलाई पागल सम्झेर अघि बढ्नुपर्ने हुन्छ। रजस्वला हुनुभन्दा अगाडि हरेक महिना मन र जीवनको ‘डिप क्लिन’ भइरहेको छ भन्ने प्रवृत्तिको आजन्म अभिलेख र बुझाइ नहुन सक्छ। वरिपरिका महिलाको लामो समयसम्म अध्ययन गरेपछि मात्र यी कुरा मासिक चक्रसँग सम्बन्धित छन् भनेर थाहा हुन सक्छ वा आजन्म थाहा नहुन सक्छ। यति थाहा पाइसक्दा यो ज्ञान अर्को पुस्तालाई दिन भ्याइन्छ भन्ने छैन र दिए पनि आमाले छोरीलाई माया गरेझैं श्रीमान‍्को घरमा आराम पाइन्छ भन्ने छैन।

यस्ता विभिन्न कारणले महिला परम्परा छिन्नभिन्न भएर आज हामीसँग यी धेरै ज्ञान बाँकी छैनन्। प्रथमतः महिला विवाह गरेर अर्काको घरमा जाने प्रचलनसँगै महिलाका संगठन टुट्न थाले। अर्काको घरमा गइसकेपछि पितृसत्ताले स्वीकार्ने ज्ञान मात्र महिलाले उपयोग गर्न पाउने भए। हरेक पुस्तामा छरिएको ज्ञान समेट्दै फेरि ज्ञान उत्पादन गर्दै जानु महिलाको बाध्यता बन्यो। महिलाका ज्ञान गुरुकुलजस्ता औपचारिक संस्थामा संस्थागत भएनन् र लेखाइजस्ता दीर्घकालीन माध्यममा पनि दस्तावेज गरिएनन्, जसका कारण मौखिक परम्परा हराउँदै गए।

पुरुष ज्ञान परम्पराको अपव्याख्या

फलस्वरूप आज हामी पुरुष परम्पराका दृष्टिकोणबाट मात्र रजस्वलालाई बुझ्नुपर्ने अवस्थामा छौं, जसले रजस्वलालाई उच्च स्थान दिएका छैनन्। औपचारिक शिक्षादेखि सुरु भएर राजनीति, प्रशासन, विज्ञान, प्रविधि, गणित, धर्म लगायतका पुरुष परम्पराबाट महिलालाई बहिष्कृत गरिएको छ र बहिष्करणको परम्परागत आधार हो, महिलाको शक्ति अर्थात् रजस्वला।

पुरुष ज्ञान परम्पराले रजस्वलासम्बन्धी हरेक ज्ञानको अपव्याख्या गर्दै महिलाको शक्ति सीमित गरेको देखिन्छ। प्रथमतः ऋतुमती महिलाले आराम गर्ने र त्यसका लागि छुट्टै बस्ने परम्पराको अपव्याख्या गर्दै त्यसलाई अशुद्धताको दर्जा दिएको छ। हुन त महिलाले आराम गर्नका लागि ‘नछुने’ परम्परा चलेको हो भनेर आजका दिनमा पनि भन्ने गरिन्छ तर त्यसमा समस्या के छ भने महिलाले नछुने हुनुको शरम र लाञ्छना पाउँछन्, अशुद्ध र अपवित्रको दर्जा पाउँछन् तर आराम पाउँदैनन्। शुद्ध मानिएका भान्सा र पूजाकोठाका कामबाहेक अरू सबै काम रजोवती महिलाका भागमा पर्छन्, जसमध्ये कतिपय जस्तै : दाउरा बोक्ने, लुगा धुने आदिमा निकै शारीरिक परिश्रम लाग्छ वा कुनै महिलाले रजस्वला हुँदा आराम पाए नै पनि, त्यसका लागि ‘अशुद्ध’को दर्जा दिनैपर्ने हो र?

हुँदा हुँदा प्रकृतिले दिएको यो शक्तिका लागि हामीलाई हिन्दु समाजका पितृगोत्रका संस्थापक मानिएका सप्तऋषिसँग माफी माग्नु लगाइन्छ। जे कुरामा हाम्रो कुनै दोष छैन, त्यसका लागि माफी माग्न लगाएर हिन्दु धर्मले ऋतम्भरा महिलाको शक्ति क्षीण बनाउने उद्योग गरेको छ र सफल पनि भएको छ।

आज थुप्रै क्षेत्रमा रजस्वलाका कारण गरिने बहिष्करणको अन्त्य भइसक्दा पनि महत्त्वपूर्ण धार्मिक क्षेत्र, जुन क्षेत्रका मूल्य मान्यताले अन्य सबै क्षेत्रमा आचरणलाई निर्देशित गर्दछ, त्यस क्षेत्रमा भने महिलाको बहिष्करण र रजस्वलाको अपमान कायमै छ।

किन यस्तो बहिष्करण?

संसार चलायमान हुनका लागि प्रकृतिमा फूल फुलेझैं ठीक ठीक समयमा महिलाको रजस्वला हुनु महत्त्वपूर्ण छ र त्यसकारण रजस्वलाको ऋत र त्यो सम्बन्धी महिलाको हरेक ज्ञान मानव सभ्यताका लागि महत्त्वपूर्ण छ भन्ने कुरा स्वतःसिद्ध छैन र?

यो स्पष्ट, स्वतःसिद्ध सत्यसँग पुरुषसत्ताको यत्रो शत्रुता किन?

किनकि जति गरे पनि पुरुषका यी ज्ञान परम्परामा महिलाको शरीरको, ऋतको ज्ञान हुँदैन। त्यो ज्ञान पुरुषले महिलाबाटै सिक्नुपर्ने हुन्छ र यो ज्ञान नसिकेर सुख छैन किनकि अरू सबै ज्ञान वैकल्पिक भएता पनि जीवन सञ्चालन गर्नका लागि ऋतको ज्ञान अनिवार्य हो।

पुरुषको ज्ञान परम्पराले महिलालाई पुग्दैन। जिन्दगीको एउटा मोडमा पुगेपछि रजस्वला, गर्भवती र सुत्केरी अवस्थामा महिलाले अरू महिलाबाटै सिक्नुपर्ने हुन्छ र यो ज्ञान छरिएर महिलाको पहुँचमा नहुँदा महिलालाई शारीरिक, मानसिक, आध्यात्मिक रूपमा ठूलो घाटा भएको छ।

जीवन, जन्म, सृष्टिसम्बन्धी प्रश्नहरूको उत्तर खोज्ने ठाउँ धार्मिक परम्परा हो तर यी परम्पराले महिलाका अनुभव सुहाउँदा उत्तर दिएका छैनन्। त्यसबाट आध्यात्मिक पक्षमा सायद महिलालाई सबभन्दा ठूलो घाटा भएको छ। पुरुषसत्तात्मक परम्पराले आफ्नो शक्तिमाथि गरेको उपेक्षाका कारण महिला धार्मिक परम्पराबाट वितृष्णा भएर विमुख हुन बाध्य छन्। महिलाको घाटा भनेको अन्ततः समाजकै घाटा हो, किनकि यही ज्ञानले महिलाले घर र समाजका अरू सबै सदस्यको हेरचाह गरिआएका छन्।

महिला ज्ञानको परम्परा सक्रिय हुँदा संसार त्यही ऋत अनुसार नै चलेको हामी अनुमान गर्न सक्छौं, जहाँ महिलाले कुन समयमा के गर्नुपर्छ भनेर निर्देशित गर्थे। तर महिलाको यस्तो उच्च र अनिवार्य स्थान पुरुषसत्तालाई मन परेन, समाजको नेतृत्व पुरुषले गर्न चाह्यो। त्यसकारण पुरुष अहंले यो ऋतको उपयोग गर्ने (नगरी भएन) तर सम्मान नदिने परम्परा बसालेको देखिन्छ।

प्राचीन हिन्दु शास्त्रमा भेटिएका ऋत, ऋतु र ऋतम्भराजस्ता शब्द र अवधारणालाई हेरेर हिन्दु धर्म महान् छ र यसले महिलालाई उच्च स्थान दिएको छ भन्ने पक्षमा म छैन। म यस्तो समाजमा हुर्किएको छु, जहाँ ऋतम्भराको अवधारणा नै लोप भइसकेको छ, उल्टै रजस्वलाको अपमान हुन्छ।

पुरुष ज्ञान परम्पराले श्रृष्टिको सम्भावना भएकी, रजोदर्शनपूर्वकी कुमारीको पूजा गर्छ तर श्रृष्टिका लागि सक्षम पुष्पवती महिलाको शक्तिदेखि सशंकित भएर उसको सकेसम्म तेजोबध गर्छ। अशुद्ध, अपवित्रका बिल्ला त भइगए, त्यसमाथि रजस्वला हुँदै गरेकी र हुन लागेकी महिलाको संवेदनशील भावनात्मक अवस्थाको अनादर गर्दै उसमा तर्क र स्पष्टताको कमी भएको आरोप पनि बारम्बार लगाउँछ। श्रृष्टिको ज्ञान पाइसकेकी महिलाको ज्ञानको अपमान गर्नका लागि पँधेर्नी र आइमाई लगायत अनेक शब्द बनिएका छन्, उसका ज्ञान पनि ‘थाङ्ने’ हुन्।

के चाहन्छन् महिला?

रजस्वला, यसले दिने ज्ञान र यो जीवनशैलीको महत्त्व भएको आदिम प्रागैतिहासिक समयमा, पुरुषका ज्ञान परम्परा महिलालाई आवश्यक थिएनन्, पुरुषका हरेक ज्ञान- गणित, विज्ञान, प्रविधि, प्रशासन लगायत सबै ज्ञान महिलासँग थिए र त्यो बाहेक थप ऋतका ज्ञान थिए। आजको समयमा पुरुष ज्ञान परम्परा हावी छन्, जसमा महिलाको उपस्थिति न्यून छ र महिलालाई पितृसत्ताले त्यो ‘थप’ वर्गमा मात्र थन्क्याएको छ।

आजको पुँजीवादी समाजले रजस्वलासम्बन्धी महिलाका थप ज्ञानलाई महत्त्व नदिने हुनाले, हरेक क्षणलाई उत्पादन र पैसामा नाप्ने हुनाले, महिलाले रजस्वला हुँदा आराम गरेर बिताउने चार दिनलाई ‘घाटा’का रूपमा हेरिन्छ। महिलाले पुरुषले जति ‘उपलब्धि’ गर्न नसक्ने कारणका रूपमा हेरिन्छ। कसरी हुन्छ, रजस्वला भन्ने कुरालाई बेवास्ता गरेर यी दिनलाई उत्पादनशील बनाउन सकिन्छ भन्ने ध्याउन्नमा पुँजीवादी व्यवस्था लागेको छ र महिला त्यसमा पिल्सिरहेका छन्। स्यानिटरी प्याडका विज्ञापनदेखि लिएर रजस्वलाका तिथिमिति सार्न सक्ने औषधिसम्म सबै मिलेर रजस्वला भन्ने कुरालाई नै विलुप्त गराउने कोसिस गर्दैछन् भनेर सिनु जोसेफले आफ्नो पुस्तकमा राम्रोसँग बयान गरेकी छिन्।

अहिलेको संसार पुरुषसत्तात्मक पुँजीवादबाट चलेको छ। महिलाको शरीर २८ दिनको मासिक चक्रमा चल्छ भने पुरुषको शरीर २४ घण्टाको दैनिक चक्रमा चल्छ, जसमा हरेक दिन उस्तै हुन्छ। तर, महिलाले यही २४ घण्टे चक्रमा अटाउनुबाहेक अर्को उपाय छैन। २८ दिनको चक्रमा बाँच्ने सुविधा ऊसँग छैन।

रजस्वलाको रगत अशुद्ध कि अति शुद्ध हो भन्ने विवादमा यो बुँदा पनि विचार गरौं- दशैँमा घटस्थापनामा स्थापना गरिने ‘घट’ गर्भवतीको पेटको विम्ब हो, हामीले देवीका नाममा गर्ने नारी शक्तिको पूजा यही स्त्रैण शक्ति अर्थात् गर्भाधान गर्ने र जन्म दिने शक्ति हो र ‘रगतको रङ्ग, जीवनको रङ्ग’ भनेर हामीले लगाउने रातो टीका कुनै सामान्य रगत होइन, रजस्वलाको रगतको प्रतीक हो। 

म चाहन्छु, यो पुँजीवादी प्रणालीले महिला हुनुको महत्त्व र ऋतको महत्त्व बुझोस्। रजस्वला हुँदा मलाई आराम गर्न, अरू महिलासँग संगठित हुने अवसर देओस्। प्रकृतिले दिएको यो जिम्मेवारीलाई ‘घाटा’का रूपमा नलिएर पूरै महिनाको तलब देओस्।

हुन त यस्तो परिकल्पना कतिपयलाई अतिशयोक्ति लाग्न सक्छ। तर, महिलाका आवश्यकताको हकमा यो ‘टिप अफ दी आइसबर्ग’ मात्रै हो।

केही महिलाले रजोवती महिलामाथि भेदभाव गर्न नहुने अभियान सुरु गरेका छन्। म यी अभियानको समर्थन गर्छु। तर भेदभावरहित अवस्था मेरा लागि अभियानको एक चरण मात्र हो। समान अवस्थामा पुगेपछि वा सके त्यसभन्दा पहिले नै सकारात्मक भेदभावतर्फ लाग्नुपर्छ। प्राचीन समयमा जस्तै ऋतम्भरा महिलाको ज्ञानलाई केन्द्रमा राख्दै ऋतुमती महिलाको पूजा गर्ने समाज यो अभियानको अन्तिम बिन्दु हो, मेरा लागि। यस्तो पनि हुन्छ र? भन्नेहरूले भारतको कामाक्षा मन्दिरबारे बुझ्नुपर्छ, जहाँ कामाक्षा देवीको रजस्वलाको पूजा हुन्छ।

महिलाको समयतालिकामा यो संसार नचल्ने पक्का भएको अवस्थामा विद्यमान व्यवस्थाभित्र नै महिलाको जीवन अलि सहज बनाउने कोसिस हामीले गर्नुपर्छ। महिनाको चार दिन नभए पनि एक दिनसम्म थप रजस्वला बिदा दिन किन मिल्दैन? घर-परिवारमा पनि आराम दिन किन हुँदैन? स्यानिटरी प्याड लगायतका रजस्वला हुँदा चाहिने सामग्रीमा छुट दिन वा निःशुल्क गर्न किन मिल्दैन? धार्मिक क्षेत्रमा रजस्वलाप्रति विभेद किन नहटाउने?

सँगसँगै महिलाका मासिक चक्रका चरणहरूबारेमा सबैमा चेतना बढाउनुपर्छ। यी सबैमा खुला रूपले छलफल गर्ने वातावरण बनाउनुपर्छ।

रगतको शुध्दता

धेरैले रजस्वलामा निस्कने रगत शरीरको विकार भएको हुनाले यसलाई ‘अशुद्ध’ मान्नुपर्ने धारणा राख्छन्। तर, यो रगत हो, शरीरका अन्य विकारजस्तो विकार होइन। त्यसपछि, रजस्वलाको रगत सामान्य रगतमात्र नभएर जीवनदायी रगत भएकाले यो शक्तिशाली हुने गर्छ। पश्चिमा विज्ञानले पनि रजस्वलाको रगतमा रगत मात्र नभएर ‘स्टेम सेल’ अर्थात् अरू विभिन्न किसिमका सेलमा विकसित हुने शक्ति भएका कोषिका हुने बताएको छ।

रजस्वलाको रगत अशुद्ध होइन। यो सम्पूर्ण मानव शरीरको निर्माण गर्न सक्षम कोषिकाहरू भएको संसारकै सबैभन्दा शक्तिशाली तत्त्व हो। पुरुषसत्ताले आफ्नो श्रेष्ठता निर्माण गर्न रजस्वलालाई पाप करार गरेकाले आज हामी यसलाई अशुद्धका रूपमा बुझ्छौं।

रजस्वलाको रगत अशुद्ध कि अति शुद्ध हो भन्ने विवादमा यो बुँदा पनि विचार गरौं- दशैँमा घटस्थापनामा स्थापना गरिने ‘घट’ गर्भवतीको पेटको विम्ब हो, हामीले देवीका नाममा गर्ने नारी शक्तिको पूजा यही स्त्रैण शक्ति अर्थात् गर्भाधान गर्ने र जन्म दिने शक्ति हो र ‘रगतको रङ्ग, जीवनको रङ्ग’ भनेर हामीले लगाउने रातो टीका कुनै सामान्य रगत होइन, रजस्वलाको रगतको प्रतीक हो।