काठमाडौँ
००:००:००
२८ जेष्ठ २०८३, बिहीबार

२८ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। पर्सामा बुधबार बेलुका प्रहरीले नेपालबाट भारत लैजाँदै गरेको ठूलो मात्रामा फर्सीको बिउ बरामद गरेको छ।

रौतहट बौधीमाई नगरपालिका-७ बंकुल टोलस्थित नेपाल-भारत सीमाबाट प्रहरीले फर्सीको बिउ बरामद गरेको हो।

पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार गैरकानुनी रूपमा बिउ निकासी गर्न लागिएको जानकारीपछि प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको थियो।

यसक्रममा उक्त ठाउँमा लुकाएर राखेको १२ हजार ८८० किलो बिउ बरामद गरिएको गौतमले बताए। उक्त बिउको मूल्य ९० लाख १६ हजार रुपैयाँ भन्सार मूल्यांकन रहेको प्रहरीले जनाएको छ।

प्रहरी पुगेपछि स्थानीयले अवरोध गरेका थिए। ढुंगामुढा भएपछि अवरोध पन्छाउन प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। ढुंगामुडा गर्ने तीन जना र प्रहरी तीन जना सामान्य घाइते भएका छन्।

प्रहरीले बरामद बिउ भन्सार कार्यालय बुझाउने तयारी गरिरहेको छ।