काठमाडौँ। मगर समुदायले प्रकृतिप्रति आस्था प्रकट गर्दै मनाइने भूमे पर्व राजधानीमा सुरु गरेका छन्। भूमे पर्व संरक्षण समितिको आयोजनामा आजदेखि तीन दिनसम्म खुलामञ्चमा विभिन्न कार्यक्रमसहित पर्व मनाउन थालिएको हो।
वर्षायामको सुरुवातसँगै मनाइने यस पर्वमा खाद्य बालीमा प्राकृतिक तथा दैवी प्रकोप नलागोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने परम्परा छ। भूमेलाई प्रकृतिको प्रतीक मान्दै पूजा गरिन्छ।
मगर समुदायका अनुसार पृथ्वीमा कुनै पनि विपत्ति वा प्रलय नआओस् भन्ने जनविश्वासका आधारमा भूमे पूजा गर्ने चलन छ। यस पर्वले प्राकृतिक तथा दैवी प्रकोपबाट जोगिन सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै प्रकृतिसँगको सम्बन्धलाई बलियो बनाउने विश्वास गरिएको छ।
आयोजकका अनुसार तीन दिनसम्म चल्ने कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परम्परागत नाचगान तथा विभिन्न झाँकी प्रदर्शन गरिनेछ।
भूमे पूजामा मार (भेडा, बोका, कुखुरा, सुँगुर) लाई मन्छाएर लखेटी गाउँ निकाला गर्ने चलन छ। जसलाई भूम्या निकाल्ने भनिन्छ। भूम्या निकाल्दा महिलाले नाङ्लो (सुपो) मा ध्वाँसो, खरानी, दसैँका बेला ढोकामा चढाएको टीका जमरा, गहुँ, जौ, मकै, धान, कोदो, तोरी, आदि राखेर घरबाहिर फाल्ने चलन छ।
यसो गरेमा घरभित्रका पीर-मर्का भूम्या पर्वसँगै हट्ने मान्यता छ। भूम्या थानमा देवतालाई बलि दिएर पूजा गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाचिने परम्परा छ।
हेरौँ थप तस्बिर :
