काठमाडौं। प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजु खरिबोटस्थित कार वास सेन्टरको पार्किङबाट पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-८ घर भएका ३० वर्षीय हिराबहादुर मगर छन्।
मगरलाई आइतबार साँझ पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताए। कार वाल सेन्टरबाट हिराबहादुरले पार्किङ गरी राखेको बा.प्र.०१-००२ प ६४४९ नम्बरको ट्याक्सीबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआर राइफलमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री एक थान बरामद भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ट्याक्सी तलासी गर्दा डिकीभित्र हातहतियार फेला पारेको थियो।
बरामद हतियार र गोली जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको हुन सक्ने आशंका गरिएको छ। पक्राउ परेका मगरलाई बालाजु वृत्तमा राखेर अनुसन्धान थालिएको छ।