काठमाडौँ। राष्ट्रिय आर्थिक गणना-२०८२ अन्तिम चरणमा पुगेको छ।
गणनामा यही ३ असारसम्म १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी भए। तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार गत २ वैशाखदेखि ७ असारसम्मका लागि राष्ट्रिय गणना अभियान सञ्चालन गरिएको छ।
“राष्ट्रिय आर्थिक गणना अहिलेसम्म उल्लासपूर्ण माहोलमा सञ्चालन भइरहेको छ,” उनले भने, “अझै तीन दिन बाँकी रहेकाले अन्य प्रतिष्ठानलाई राष्ट्रिय आर्थिक गणनामा सहभागी हुन अनुरोध गरिन्छ।”
प्रवक्ता लामिछानेका अनुसार राष्ट्रिय तथ्यांक कार्यालयबाट खटिएका तीन हजार ९०६ गणकलाई आवश्यक पर्ने तथ्यांक उपलब्ध गराउन आह्वान गरिएको छ।