काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

५ असार २०८३
अ+
अ-

काठमाडौं। नेकपा एमालेभित्र नीति, विचार र नेतृत्वमा आमूल परिवर्तनको माग गर्दै ‘नेकपा (एमाले) रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान-२०८२’ ले देशव्यापी रूपमा आफ्नो गतिविधि तीव्र पारेको छ ।

चुनावी समीक्षा एवं पार्टी पुनर्गठन सुझावको अभियान चलिरहेको बेला नेता-कार्यकर्ता माझ ‘विशेष अनुरोध’ सहित अपिल पठाइएको छ । यस अपिलमा पार्टी पुनर्गठनको पक्षमा खुलिरहेका पदाधिकारीहरूको समेत साथ रहेको बताइन्छ ।

अभियानद्वारा जारी अपिलमा पार्टीले आफ्नो ऐतिहासिक गौरव र जनआकर्षण गुमाउँदै गएको र संसदीय राजनीतिमा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको उल्लेख छ । पुष्पलालको सपना र मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ को मर्म मर्न लागेको भन्दै अभियानले नेतृत्वको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको छ ।

एमालेमा आन्तरिक जनवाद खुम्चिँदै गएको, नेतृत्वमा अहंकार र घमण्ड बढेको तथा निर्वाचनमा व्यहोर्नुपरेको पराजयको नैतिक जिम्मेवारी कसैले नलिएको उल्लेख छ । गत फागुनको निर्वाचनमा पार्टीको सङ्कुचित नतिजा र राजधानीका धेरैजसो क्षेत्रमा व्यहोर्नुपरेको हारलाई नेतृत्वको असफलता भनिएको छ ।

‘पुरानो पुस्तामा निष्क्रियता बढ्नु र नयाँ पुस्ता वैदेशिक पलायन हुनुले पार्टीको वैचारिक र संगठनात्मक ऊर्जा कमजोर भएको छ,’ अपिलमा भनिएको छ ।

पुनर्जागरण अभियानले पार्टीलाई पुनर्जीवित गर्न केही सुधारका योजना अघि सारेको छ:

१. नेतृत्व परिवर्तन: रूपान्तरणको पहिलो पाइलाका रूपमा नेतृत्व परिवर्तनलाई अनिवार्य सर्त मानिएको छ ।

२. दुई कार्यकालको व्यवस्था: कुनै पनि व्यक्ति एउटै पद र जिम्मेवारीमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने कानुनी व्यवस्थाको माग गरिएको छ ।

३. पुस्तान्तरण : समितिहरूमा ६० प्रतिशत पुराना र कम्तीमा ४० प्रतिशत नयाँ पुस्ता (युवा) सहभागी गराउनुपर्ने उल्लेख छ ।

४. प्रत्यक्ष निर्वाचन: पार्टी नेतृत्व र निर्वाचनका उम्मेदवार चयनमा सबै तहका सदस्यहरूले प्रत्यक्ष मतदान गर्न पाउनुपर्ने व्यवस्था गर्न माग गरिएको छ ।

५. शैक्षिक योग्यता: नीति निर्माणको तहमा रहने नेतृत्वका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने मापदण्ड प्रस्ताव गरिएको छ ।

६. पारदर्शी जीवनशैली: नेताहरूको जीवनशैली र व्यवहारमा पारदर्शिता नआएसम्म जनताले विश्वास नगर्ने उल्लेख गरिएको छ ।

अभियानले वर्तमान नेतृत्वलाई संकेत गर्दै यो समय ‘इतिहासको निर्माता’ वा ‘आन्दोलनको मलामी’ मध्ये एउटा रोज्ने अन्तिम अवसर भएको चेतावनी दिएको छ । ‘तपाईंको आजको एउटा निर्णयले भविष्यमा नायक वा खलनायकका रूपमा चित्रण गर्नेछ,’ अपिलमा भनिएको छ ।

पार्टीलाई पुनर्गठित गर्दै जनमुखी बनाउन सबै तहका कार्यकर्ताहरूलाई मुख खोल्न र रूपान्तरणको पक्षमा उभिन सहयोगका लागि अभियान थालिएको एक नेताले बताए ।