नारायणगढ। कृषि तथा वनविज्ञान विश्वविद्यालयले आज पाँचौँ दीक्षान्त समारोह गर्दैछ।
विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुविर सिंहका अनुसार यस वर्ष विभिन्न सङ्काय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल २ हजार १ सय ९३ विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुन योग्य भएका छन्।
दीक्षित हुनेमा स्नातक तहका १ हजार ८ सय ३६ जना, स्नातकोत्तर तहका ३ सय २७ र विद्यावारिधि तहका ३० जना उच्च तहका प्राविधिक तथा वैज्ञानिक जनशक्ति छन्।
रजिष्ट्रार प्रा.डा. सिंहका अनुसार पाँचौँ दीक्षान्त समारोहमा कृषि सङ्कायतर्फ कृषि स्नातक मा १ हजार ३ सय ७२, स्नातकोत्तरमा २ सय १२ र विद्यावारिधितर्फ १९ योग्य भएका छन्।
त्यस्तै, पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायतर्फ पशु चिकित्सा तथा पशुपालन स्नातक मा ९७, पशु चिकित्सा स्नातकोत्तरमा ५१ र पशु चिक्तिसा÷पशु विज्ञान विद्यावारिधि मा २३ जना दीक्षित हुँदैछन्।
सोही सङ्कायको मत्स्य विज्ञान स्नातकमा छ, स्नातकोत्तरमा २० र विद्यावारिधिमा ११ जना छन्। वन विज्ञान सङ«काय (हेटौँडा)तर्फ वन विज्ञान स्नातक (बीएस्सी फरेष्ट्री) मा ३ सय ४८, स्नातकोत्तरमा ३० विद्यावारिधितर्फ तीन विद्यार्थी यसपटक दीक्षित हुन योग्य भएका छन्।
विसं २०६७ असारमा स्थापना भएको यस विश्वविद्यालयले आफ्नो स्थापनाको १६ वर्ष पूरा गरेको छ। यस अवधिमा विश्वविद्यालयले देशको कृषि, पशुविज्ञान, मत्स्यपालन र वन विज्ञान क्षेत्रको विकासका लागि उल्लेखनीय जनशक्ति उत्पादन गर्न सफल भएको छ।
विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार स्थापना कालदेखि हालसम्म विभिन्न सङ्काय र तहमा गरी कुल ५ हजार ९ सय ६ दक्ष जनशक्ति उत्पादन भइसकेका छन्।
मुलुकका लागि आवश्यक पर्ने उच्च तहको प्राविधिक तथा वैज्ञानिक जनशक्ति उत्पादन गरेर विश्वविद्यालयले देशको कृषि र वन क्षेत्रको रूपान्तरणमा ठूलो योगदान पु¥याउँदै आएको रजिष्ट्रार सिंहले बताए।