बेइजिङ। चीनका लागि अमेरिकी कङ्ग्रेस प्रतिनिधिमण्डलका नेताले मङ्गलबार दुई देशका सेनाबीच ‘गलतफहमीको जोखिम’ बढ्दै गएको चेतावनी दिएका छन्। रक्षा प्रविधि तीव्र गतिमा अघि बढिरहेका कारण आपसी द्वन्द्वको सम्भावना उच्च रहेको उनले बताए।
वासिङ्टनको सशस्त्र सेवा समितिका वरिष्ठ डेमोक्रेट एडम स्मिथले बेइजिङमा पत्रकारलाई चीनले विश्व शक्तिसँग ‘द्वन्द्व निवारणका लागि थप संवाद गर्नुपर्ने’ धारणा राखे। “हाम्रा जहाज र विमान तिनीहरूको जहाज र विमानसँग धेरै नजिक आउँदैछन्। द्वन्द्व टार्न अझ राम्रो संवाद आवश्यक छ”, उनले अमेरिकी दूतावासमा भने।
चार सदस्यीय प्रतिनिधिमण्डलमा डेमोक्रेट रो खन्ना र क्रिसी हौलहानसँगै रिपब्लिकन सांसद माइकल बाउमगार्टनर पनि छन्। समूहले सोमबार चिनियाँ रक्षामन्त्री डोङ जुनसँग भेट गरी ‘मतभेदमार्फत काम गर्ने’ र संवाद बढाउने विषयमा छलफल गरेको थियो। डोङले आपसी सम्बन्धमा ‘विघटनकारी कारकहरू हटाउन’ आग्रह गरेको चीनको सिन्ह्वा एजेन्सीले जनाएको छ।
मङ्गलबार अन्य सांसद र अमेरिकी राजदूत डेभिड पड्र्युसँगै बोल्दै स्मिथले भने, “एआई, ड्रोन, साइबर र अन्तरिक्ष युद्ध तीव्र गतिमा विकसित भइरहेका छन्। क्षमताको गलत बुझाइको जोखिम ठूलो छ, त्यसैले स्पष्ट संवाद अत्यावश्यक छ।”
कर र टिकटक
द्विदलीय प्रतिनिधिमण्डल राष्ट्रपति सी जिनपिङ र डोनाल्ड ट्रम्पबीच फोनवार्ता भएको केही दिनपछि चीन पुगेको हो। ट्रम्पले आगामी महिनाको अन्त्यमा दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) समिटमा सीसँग भेट्ने र अर्को वर्ष चीन भ्रमण गर्ने बताएको छ। सीले पनि कुनै समयमा अमेरिकाको भ्रमण गर्नेछन्।
यसअघि दुवै देशले एकअर्काविरुद्ध भन्सार शुल्क बढाउँदा आपूर्ति शृङ्खला प्रभावित भएको थियो। पछि वासिङ्टन र बेइजिङबीच सम्झौता भई अमेरिकी आयातमा ३० प्रतिशत र चीनले अमेरिकी सामानमा १० प्रतिशत भन्सार शुल्क घटाएका थिए । तर यो सम्झौता नोभेम्बरमा समाप्त हुनेछ।
स्मिथ नेतृत्वको टोलीले सोमबार चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग व्यापार वार्ता, फेन्टानिल, महत्त्वपूर्ण खनिज र टिकटकको भविष्यबारे छलफल गरेको थियो।
ह्वाइट हाउसका अनुसार टिकटकको अमेरिकी संस्करणले एल्गोरिदमको घरेलु मोडेल प्रस्तुत गर्नेछ, जसले अमेरिकामा चिनियाँ स्वामित्वको प्लेटफर्म सञ्चालनको अवरोध हटाउन सक्छ। तर स्मिथले ‘यो मुद्दा अझै सतप्रतिशत समाधान भएको छैन’ नेका छन्।
प्रतिनिधिमण्डलले चीनको नेसनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष झाओ लेजी र विदेशमन्त्री वाङ यीलाई समेत भेट्ने कार्यक्रम छ।