काठमाडौँ। भारततर्फ निकासी गर्न लागिएको अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका ४ की ३० वर्षीया सन्ध्या धर्ती मगर र बाँसगढी नगरपालिका ३ की ४२ वर्षीया मीना रोकाया छन्।
लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पहाडी जिल्लामा उत्पादन गरिएको अफिम खरिद-संकलन गरी बिक्रीका लागि भारत लैजाँदै गरेको अवस्थामा आइतबार अपराह्न साढे ४ बजे बर्दियाको बाँसगढी नगरपालिका ३ बाट विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट १५ केजी ३४० ग्राम अफिम, दुई थान मोबाइल र नगद २४ हजार रुपैयाँ बरामद भएको ब्युरोले जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया पठाइएको छ।