काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

८ असार २०८३
अ+
अ-

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा दुई पटकको विश्वविजेता उरुग्वे र प्रतियोगिताको नवप्रवेशी टोली केप भर्डेले २-२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको मियामी स्टेडियममा सम्पन्न यस खेलमा केप भर्डेले बलियो उरुग्वेविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै अंक खोस्न सफल भयो।

खेलको २१औं मिनेटमा केप भर्डेका केभिन पिनाले फ्रि-किकमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए, जुन केप भर्डेको विश्वकप इतिहासकै पहिलो गोलसमेत बन्यो। पहिलो हाफको अन्त्यतिर उरुग्वेले आक्रामक पुनरागमन गर्‍यो। ४४औं मिनेटमा माक्सिमिलियानो अराउजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए भने पहिलो हाफको इन्जुरी समयमा अगुस्टिन कानोबियोले गोल गरेपछि उरुग्वेले २-१ को अग्रता बनायो।

दोस्रो हाफमा केप भर्डेले फेरि खेलमा पकड बनायो र ६१औं मिनेटमा हेलियो वारेलाले गोल गर्दै खेललाई २-२ को स्थितिमा पुर्‍याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र खेल बराबरीमा टुङ्गियो। यस बराबरीसँगै समूह ‘एच’ मा उरुग्वे र केप भर्डे दुवैको २-२ अंक भएको छ र उनीहरू क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। ४ अंक जोडेको स्पेन शीर्ष स्थानमा छ भने १ अंक पाएको साउदी अरब चौथो स्थानमा खुम्चिएको छ।