काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

८ असार २०८३
अ+
अ-

रोयटर्स। अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा भएको उच्चस्तरीय वार्ताको पहिलो चरण सम्पन्न भएको छ । मध्यस्थ राष्ट्र कतार र पाकिस्तानका अनुसार दुवै देश ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने मार्गचित्रमा सहमत भएका छन्।

स्विट्जरल्यान्डको बुर्गेनस्टकमा भएको वार्ताको सुरुआत तनावपूर्ण बनेको थियो। इरानले पुनः हर्मुज जलडमरूमध्य बन्द गरेको घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्न सकिने चेतावनी दिएका थिए।

वार्तापछि लेबनानमा जारी द्वन्द्व अन्त्य गर्ने संयन्त्रमा सहमति जुटेको छ भने विवादित जलमार्गबाट व्यावसायिक जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न प्रत्यक्ष सञ्चार प्रणाली स्थापना गर्ने निर्णय पनि गरिएको छ। प्राविधिक तहका वार्ताहरू भने साताभरि जारी रहने जनाइएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी अधिकारीहरूबीच आइतबार सुरु भएको छलफल सोमबार बिहानसम्म चलेको थियो। वार्ता गत साता भएको समझदारीपत्रको आधारमा अप्रिलदेखि लागू युद्धविरामलाई थप ६० दिन कायम राख्ने उद्देश्यसहित अघि बढाइएको हो।

यसैबीच इरानी विदेशमन्त्री अब्बास अराघ्चीले तेल तथा पेट्रोकेमिकल निर्यातमा छुट, रोक्का गरिएका केही सम्पत्ति फुकुवा तथा पुनर्निर्माण र विकास योजना अघि बढाउने सहमति भएको दाबी गरेका छन्।

तर वार्ताबारे अमेरिकी र इरानी स्रोतहरूले फरक–फरक विवरण दिएका छन्। इरानको तस्निम समाचार एजेन्सीका अनुसार ट्रम्पको धम्की सार्वजनिक भएपछि इरानी प्रतिनिधिमण्डल वार्ता कक्षमा फर्कन अस्वीकार गरेको थियो। यद्यपि कतार र पाकिस्तानमार्फत सन्देश आदानप्रदान भने जारी रहेको बताइएको छ।

इरानले आणविक कार्यक्रमसम्बन्धी औपचारिक वार्ता अघि बढाउनुअघि रोक्का गरिएका सम्पत्ति फुकुवा र तेल निर्यातसम्बन्धी अमेरिकी छुट व्यवस्था कार्यान्वयन हुनुपर्ने अडान राखेको जनाएको छ।