काठमाडौँ। नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको निष्कर्ष निकालेको छ।
पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले पौडेललाई गैरकानुनी, गैरन्यायिक‚ प्रतिशोधपूर्ण र पूर्वाग्रह ढंगले पक्राउ गरेको भन्दै भर्त्सना गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए। पौडेललाई पक्राउ गर्नु कानुनी राज्य र विधिको शासनको बर्खिलाफमा रहेकाले अविलम्ब बिनासर्त रिहा गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको महरले बताए।
फरक राजनीतिक विचार राख्ने पार्टीका नेता-कार्यकर्ताहरूलाई शृंखलाबद्ध र योजनाबद्ध तरिकाले सरकारले प्रतिशोध साँधेको उनले बताए। सरकारको यस्तै रवैया जारी रहे त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार स्वयं सरकार नै हुने उनले चेतावनी दिए।
बैठकले सशक्त, रचनात्मक र एकदम जिम्मेवार प्रतिपक्षीका रूपमा सदनमा भूमिका खेल्ने र त्यसका लागि पार्टीसँग सहकार्य र समन्वय गर्ने प्रस्ताव पारित गरेको छ। सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिराखेकाले यसका विरुद्ध सदनबाट संघर्ष गर्ने निर्णय गरेको पनि महरले जानकारी दिए।
बैठकले चिया निर्यातको समस्या समाधान गर्न, पेट्रोलियम पदार्थहरूको मूल्यवृद्धिका कारण उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ। साथै प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि राज्यका निकायलाई तयारी अवस्थामा रहन र सहज रूपमा मलको व्यवस्था गर्नसमेत सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको प्रमुख सचेतक महरले बताए।