काठमाडौँ। विराटनगरस्थित निगमको कोसी प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ ढुवानीका लागि पठाइएको ट्यांकरबाट इन्धन चोरी भएको घटनाबारे अनुसन्धान अघि बढाइएको छ।
निगमको कोसी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्कीका अनुसार ५ असारमा विराटनगर-सिलिगुडी डिपोतर्फ २० हजार लिटर पेट्रोल लिएर गएको ना.१ख ९४१० नम्बरको ट्यांकर सोही दिन राति करिब ८ बजे विराटनगर नजिकैको दुर्गा चोक क्षेत्रमा रहेको कर्मचारी पार्किङमा ल्याई राखिएको थियो। उक्त ट्यांकर ८ असारको बिहान ९ बजे पार्किङस्थलबाट हराएको भन्दै ढुवानीकर्ताले लिखित जानकारी गराएका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्रमार्फत सूचित गरेको थियो। त्यसपछि सीसीटीभी फुटेजको अध्ययन गर्दा ८ असारको बिहान ३ बजे ट्यांकर सो स्थानबाट बाहिरिएको देखिएको जनाइएको छ। प्रहरी, निगमका कर्मचारी र ढुवानीकर्ताको संयुक्त टोलीले खोजी गर्दा ट्यांकर करिब १७ किलोमिटर टाढा सुनसरी जिल्लाको इटहरी-धरान खण्डमा (एसएलएस) काटिएको अवस्थामा फेला परेको थियो।
उक्त ट्यांकरलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा नियन्त्रणमा लिई कागजात तयार गरी सोही दिन निगमको डिपोस्थित पार्किङमा ल्याइएको निगमले बुधबार विज्ञप्तिमार्फत जनाएको छ।
यसैबीच १० असार अपराह्न १ बजे जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सञ्चारकर्मी तथा निगम र ढुवानीकर्ताका प्रतिनिधिको रोहबरमा ट्यांकरको सिल खोली जाँच गर्दा २० हजार लिटरमध्ये ७३७ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको छ। बाँकी १९,२६३ लिटर पेट्रोल निगमको भण्डारणमा दाखिला गरिएको छ।
निगमले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७१ अनुसार चोरी भएको परिमाणको क्षतिपूर्ति ढुवानीकर्ताबाट असुल गर्ने प्रक्रिया अघि बढाएको कार्यालय प्रमुख कार्कीले जनाएका छन्।
