काठमाडौं ।विश्व फुटबलको महाकुभ्म चलिरहेका बेला अखिल नेपाल फुटबल संघ(एन्फा) निलम्बनमा परेको छ । विश्व फुटबल महासंघ (फिफा) ले एन्फालाई निलम्बन गरेको हो। एन्फाका महासचिव किरण राईले फिफाले नेपाली फुटबललाई निलम्बन गरेको जानकारी दिए।
उनले बिहीबार बिहान फिफाबाट यस्तो जानकारी प्राप्त भएको बताए। निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लबहरू औपचारिकरूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउँदैनन्। यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबीच निर्वाचनको विषयमा विवाद भएको थियो।
फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फामाथि निलम्बनको निर्णय गरेको जनाएको छ।
फिफा विधानको धारा १३ अन्तर्गतका सदस्यता सुविधाहरू पनि तत्काल प्रभावबाट निलम्बित भएका छन्।
फिफाले एन्फामाथिको निलम्बन अर्को निर्णय नभएसम्म लागू रहने स्पष्ट गरेको छ।