काठमाडौँ। प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जना कारोबारीलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बिहीबार विराटनगरबाट तीन जना कारोबारी पक्राउ गरिएको हो।
ब्युरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका-३ का ४२ वर्षीय विष्णु धामी, सोही ठाउँका ३६ वर्षीय रुद्रबहादुर सुवेदी र रामधुनी नगरपालिका-६ का ४८ वर्षीय विजयराज धामी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय विराटनगरले लामो समयको निगरानीपछि उनीहरूलाई पक्राउ गरेको रेग्मीले बताए।
पक्राउ परेकाहरूको साथबाट २७१ ग्राम ब्राउनसुगर, ब्राउनसुगर तौलिने तराजु तीन थान, दुई लाख ४८ हजार ८०० रुपैयाँ नगद बरामद भएको छ। पक्राउ परेकाले भारतबाट नेपाल ल्याई सुनसरी, धनकुटा, इलाम, भोजपुरलगायत जिल्लामा ब्राउनसुगर बेचबिखन गर्ने गरेको खुलेको छ।
पक्राउ परेकामध्ये विष्णु धामी कर्तव्य ज्यानमुद्दामा यसअघि नै पक्राउ परेका व्यक्ति हुन्। उनी १० वर्ष कैद सजाय भुक्तान गरी कारागारबाट छुटेका थिए।
यसैगरी, प्रहरीले काठमाडौँ महानगरपालिका-१७ ढल्कुबाट एक जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका-३ का ४२ वर्षीय टेकबहादुर मगर रहेका छन्। उनको साथबाट ७ ग्राम ७२० मिलिग्राम ब्राउनसुगर बरामद भएको ब्युरोले जनाएको छ।
अनुसन्धानको क्रममा थापामगरलाई लागुऔषध बिक्री गर्ने सिन्धुली नगरपालिका-१० का २४ वर्षीय सन्तबहादुर बस्नेत पक्राउ परेका छन्। बस्नेत ललितपुर महानगरपालिका-७ बालकुमारीबाट पक्राउ परेका हुन्। उनको साथबाट ८० ग्राम ब्राउनसुगर बरामद भएको छ।