काठमाडौं। काठमाडौँ महानगरपालिकाले लामो समयदेखि रोकिएको ‘उज्यालो महानगर योजना’लाई पुनः सक्रिय गर्दै हाल राजधानीभरि तीव्र रूपमा हाई मास्ट लाइट जडानको काम अगाडि बढाएको छ।
करिब १० करोड रुपैयाँको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको योजना रहेकोमा हालसम्म १२ वटा लाइट प्रज्वलन भइसकेको महानगरपालिकाले जनाएको छ। महानगरका अनुसार बाँकी लाइटहरू पनि दशैंअघि नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
योजना अनुसार, अघिल्लो कार्यकालमा जडान गरिएका तर प्रज्वलनमा नआएका २ हजारभन्दा बढी सोलार स्ट्रीट लाइटहरूलाई इलेक्ट्रिकल लाइटमा रूपान्तरण गरिएको छ। ती लाइटहरू हाल बलिरहेका छन्, जसले सडक सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
यसैबीच, करिब ८५ करोड रुपैयाँको लागतमा नयाँ स्ट्रीट लाइट खरिद तथा जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी मेयर बालेन्द्र शाह (बालेन)ले दिएका छन्। उक्त कार्य सम्पन्न भएपछि यसै वर्षभित्र काठमाडौँ महानगर क्षेत्र पूर्ण रूपमा उज्यालो हुने अपेक्षा गरिएको छ।
मेयर शाहका अनुसार, उज्यालो महानगर योजना राजधानीको सुरक्षा, सौन्दर्यकरण र रातको आर्थिक क्रियाकलापलाई प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढाइएको हो।