१३ असार २०८३
तस्बिर: एपी
अ+
अ-

काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

क्यानडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएको खेलमा बेल्जियमले न्युजिल्यान्डलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै समूह विजेता बनेकाे हाे।

यसअघि दुई प्रतियोगितामा लगातार दुई खेल बराबर गोल गरेको बेल्जियमले पहिलो जितसँगै पाँच अंक जोड्दै समूह ‘जी’को विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो।

बेल्जियमको जितमा लिएन्ड्रो ट्रोसार्डले दुई गोल गरे भने केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले समान एक–एक गोल गरेका छन्। ट्रोसार्डले खेलको २८औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।

उनले ५०औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि डे ब्रुएनाले ६६औँ मिनेटमा तथा लुकाकुले ८६औँ मिनेटमा गोल गरे। दोस्रो हाफको अतिरिक्त समयमा सेलेमेकर्सले अर्को गोल थपे।

न्युजिल्यान्डका लागि एलिजा जस्टले ८४औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए।

आजै भएको अर्को स्पर्धामा इजिप्ट र इरानले १–१ गोलको बराबरी खेलेका छन्। यससँगै समूह ‘जी’मा बेल्जियम पाँच अंकसहित समूह विजेता बन्यो भने समान पाँच अंक भए पनि गोलअन्तरका आधारमा इजिप्ट उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ।

इरान तीन अंकसहित तेस्रो स्थानमा रहँदा एक अंक मात्र जोड्न सफल न्युजिल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ।