१३ असार २०८३
अ+
अ-

काभ्रे। स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले यो खण्डमा यही २२ असारदेखि ४ साउनसम्म रातको समयमा पूर्णतः सवारीसाधनको आवागमन बन्द गरिने जनाएको हो।

सडक कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्णतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारीसाधनलाई बेलुका ७ देखि बिहान ५ बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

उनका अनुसार आवको अन्त्यको समय भएकाले निर्माण सामग्री ढुवानी प्रभावित नहोस् भन्ने उद्देश्यले सडक निर्माण प्रक्रियालाई केही ढिलाइ गर्न लगाइएको हो। समितिले सडक निर्माणलाई सहजीकरण गर्न यात्रु तथा मालवाहक सवारीसाधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गर्नेसमेत जनाएको छ।

तोकिएको अवधिमा रातिको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् सञ्चालन गर्न दिइने निर्णय गरिएको प्रजिअ अधिकारीले जानकारी दिए। सवारीसाधन व्यवस्थापन तथा चालकलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने समितिले जनाएको छ।

गत चैतमा करिब एक महिनाभर रातको समयमा पूर्णतः आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर २.५ किमि सडक कालोपत्र (डीबीएम-पिच) को काम गरिएको थियो।