काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

१४ असार २०८३
अ+
अ-

काठमाडौँ । स्ट्रेट अफ होर्मुजको जलडमरूमा पानामाको झण्डा बोकेको एक जहाजमाथि शनिबार ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध नयाँ सैन्य कारबाही सुरु गरेको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानभित्रका विभिन्न स्थानलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। सेन्टकमका अनुसार यो कारबाही व्यावसायिक जहाजहरूविरुद्ध भइरहेका निरन्तर आक्रामक गतिविधिको प्रत्यक्ष जवाफस्वरूप गरिएको हो।

सेन्टकमले आक्रमण गरेको जनाएको स्थानहरूमा सैन्य सामग्री, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा प्रणाली तथा ड्रोन भण्डारणसँग सम्बन्धित संरचनाहरू रहेका थिए।

सेन्टकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इरानलाई युद्धविराम सम्झौताको सम्मान गर्ने अवसर दिइएको थियो, तर उसले त्यसो गरेन । बरु, इरानी सेनाले एकतर्फी आक्रमणकारी ड्रोन प्रयोग गरी एम/टी किकू ट्यांकरमाथि आक्रमण गर्‍यो।’

एम/टी किकू पानामाको झण्डा बोकेको एक तेल ट्यांकर हो। सेन्टकमका अनुसार उक्त ट्यांकरले २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल बोकेर होर्मुज जलडमरू हुँदै यात्रा गरिरहेको थियो।

सेन्टकमले होर्मुज जलडमरू हुँदै व्यावसायिक जहाजहरूको आवतजावत भने यथावत् सञ्चालन भइरहेको पनि जनाएको छ। यता, इरानले यी पछिल्ला अमेरिकी आक्रमणबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।