काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

१४ असार २०८३
अ+
अ-

काठमाडौँ। प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बाँके, रुपन्देही र काठमाडौँबाट चार जना ब्राउनसुगर कारोबारी पक्राउ परेका हुन्।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार प्रहरीले शनिबार बाँके डडुवा गाउँपालिका-२ बाट २८ वर्षीय राजेन्द्र लोनियालाई पक्राउ गरेको छ।

उनको साथबाट १०५ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ। उक्त स्थानमा ब्राउनसुगर कारोबार भइरहेको सूचना पाएपछि ब्युरोको शाखा कार्यालय नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो।

काठमाडौँ चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित चेकपोष्टबाट शनिबार दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पश्चिम बंगाल सिलगुडी चम्पासरीका ३४ वर्षीया मोना राय र सोही ठाउँका २६ वर्षीय पंकज बोस रहेका छन्।

काँकडभिट्टाबाट यात्रुबाहक बसमा काठमाडौँ आइरहेका दुबै जनालाई ७५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको ब्युरो प्रवक्ता रेग्मीले बताए।

यसैगरी, प्रहरीले शनिबार नै रुपन्देहीबाट एक जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका-६ दुर्गौलियाका ३४ वर्षीय जगदीश यादव रहेका छन्।

ब्युरोको शाखा कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-३ बाट यादवलाई ९७ ग्राम ८१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान थालेको छ।