काठमाडौँ
००:००:००
१७ असार २०८३, बुधबार

१७ असार २०८३
अ+
अ-

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने जैविक फोहरलाई प्रशोधन गरी जैविक मल उत्पादन गर्दै राम्रो आम्दानी समेत गर्न थालेको छ।

फोहर व्यवस्थापन अधिकांश स्थानीय तहका लागि निकै ठूलो चुनौतीको विषय भइरहेका बेला नगरपालिकाले सञ्चालन गरिरहेको सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रमार्फत सङ्कलित जैविक फोहर प्रशोधन गरी उत्पादन गरिएको मल स्थानीय किसानलाई बिक्री गरिँदै आएको हो।

यस नौलो कार्यक्रमले वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन र स्थानीय आम्दानी वृद्धि तीनवटै क्षेत्रमा सकारात्मक परिणाम दिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताए।

गण्डकी प्रदेशको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/८० मा स्थापना गरिएको उक्त परियोजनाको कुल लागत २ करोड १३ लाख ८० हजार रुपैयाँ रहेको छ। नगरपालिकाले भने यो कार्यक्रमलाई विगत तीन वर्षदेखि निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको नगरप्रमुख अधिकारीले प्रष्ट पारे।

हालसम्म नगर सरसफाइ अभियानमा १४ हजार ८१६ घरपरिवार आबद्ध भइसकेको मध्यविन्दु नगरपालिका भवन तथा बस्ती विकास शाखा प्रमुख विवेक पोखरेलले बताए। घरपरिवारबाट सङ्कलित जैविक फोहरलाई केन्द्रमा प्रशोधन गरी जैविक मल उत्पादन गर्ने व्यवस्था मिलाइएकाले समुदायस्तरमै फोहर व्यवस्थापन निकै व्यवस्थित र सहभागितामूलक बन्दै गएको उनको भनाइ छ।

पछिल्ला तीन वर्षमा यो कार्यक्रम सञ्चालनका लागि ६ करोड ५६ लाख रुपैयाँ खर्च भएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले बताए। सोही अवधिमा जैविक मल बिक्रीबाट मात्रै ३ करोड ५ लाख रुपैयाँ आम्दानी भएको जानकारी उनले दिए।

जैविक मल उत्पादन केन्द्रले अब वार्षिक सञ्चालन खर्च आफैँ धान्न सक्ने अवस्थासम्म प्रगति गरेको भन्दै उनले एउटै योजनाबाट फोहर व्यवस्थापन र आम्दानी सिर्जना दुवै उद्देश्य पूरा भएको उल्लेख गरे।

स्थानीय किसानले आफ्नै नगरमा उत्पादन भएको जैविक मल प्रयोग गर्न थालेपछि रासायनिक मलप्रतिको निर्भरता घटाउन पनि ठूलो सहयोग पुगेको नगरप्रमुख भीमलाल अधिकारीले बताए। फोहर व्यवस्थापन सहज हुनुका साथै उत्पादित मलको बिक्रीबाट नगरपालिकाले दीर्घकालीन आम्दानीको दिगो स्रोतसमेत विकास गरेको उनको भनाइ छ।

नेपालका धेरै स्थानीय तहहरू अझै पनि फोहर व्यवस्थापनको प्रभावकारी मोडेल खोजिरहेका बेला मध्यविन्दु नगरपालिकाको यो अभ्यास वातावरणीय संरक्षणसँगै आर्थिक प्रतिफल दिने एउटा गतिलो र अनुकरणीय उदाहरणका रूपमा स्थापित हुँदै गएको छ।