आवरण
धुइरिएका पर्यटकलाई दिगो लाभमा बदल्न अभिलेख प्रणाली र सुरक्षित वातावरण बनाउन बाँकी
१३ असारको साँझ ७ बजे पशुपतिनाथ मन्दिरको पारिपट्टि बागमती किनारमा सधैँझैँ भजनसहितको आरती सुरु भयो। आरती हेर्न नदी वारि र पारि युवादेखि ज्येष्ठ नागरिकसम्मको ठूलो भिड थियो। भिडमा नेपालीसँगै सराबरी देखिन्थे, भारतीय नागरिक।
त्यसै दिनको बिहान पनि पशुपतिनाथको दर्शन गर्न लाइनमा उभिएकामध्ये अधिकांश भारतीय दर्शनार्थी थिए। दर्शनपछि मन्दिर परिसरमा कोही हवन गर्न व्यस्त थिए, कोही चाहिँ टहलिन।
यो दृश्य एक दिनको मात्र होइन। पशुपति क्षेत्रमा बिहान होस् या साँझ, हरेक दिनजसो भारतीय दर्शनार्थीको यसरी नै घुइँचो लागिरहेको छ।

१३ असारको साँझ पशुपतिमा नेपालीसँगै आरती हेर्दै भारतीय पर्यटक। तस्बिर : गोपाल दाहाल
हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपतिनाथ मन्दिर युनेस्को (संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन)ले विश्व सम्पदा क्षेत्रमा राखेको धार्मिक धरोहर हो। त्यसैले यहाँ विश्वभरिका पर्यटक आउँछन्। त्यसमा पनि बहुसंख्यक हिन्दु धर्मावलम्बी रहेका भारतबाट पशुपति दर्शनकै लागि पर्यटक आउँछन्। नेपाल आउने भारतीय पर्यटकहरूको एउटा प्रमुख गन्तव्य हो, पशुपतिनाथ मन्दिर। अधिकांश भारतीय हिन्दुहरू जीवनमा एकपटक पशुपतिनाथको दर्शन गर्ने चाहना राख्छन्।
हरेक वर्ष शिवरात्रि र साउन महिनामा त पशुपतिनाथ दर्शनका लागि आउने भारतीयहरू उल्लेख्य नै हुन्छन्। तर, यसपटक चैत-वैशाखदेखि नै भारतीयहरूको घुइँचो लाग्यो। मन्दिर परिसर प्रवेश गर्न अन्य देशका नागरिकसँग पशुपति क्षेत्र विकास कोषले शुल्क (एक हजार रुपैयाँ) लिन्छ भने भारतीयका लागि नि:शुल्क छ।

१३ असारमा पशुपतिमा हवन गर्दै भारतीय पर्यटकहरू।
शुल्क लिने क्रममा दर्ता गरिने हुँदा पशुपतिमा आउने अन्य देशका पर्यटकको संख्या देखिन्छ, तर भारतीय पर्यटकको त्यसरी दर्ता र गणना नहुने भएकाले यकिन तथ्यांक नै भेटिँदैन। पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी सूर्यबहादुर भाटको अनुमानमा गत जेठमा विगतका वर्षभन्दा भारतीय पर्यटकको संख्या तीन गुणा बढेको छ। उनी भन्छन्, “अहिले पशुपतिनाथ दर्शन गर्नेमध्ये ५० प्रतिशत भारतीय नागरिक छन्। यो अघिल्लो वर्षको यही महिनाको तुलनामा तेब्बर हो।”
भारतीय दर्शनार्थीको संख्या बढेसँगै पशुपतिनाथ मन्दिरमा संकलन हुने दैनिक भेटी रकम पनि बढेको छ। तीन महिनाअघिसम्म दैनिक दुई लाख रुपैयाँ हाराहारी भेटी संकलन हुने गरेकामा भारतीय पर्यटकको संख्या बढेसँगै हाल दैनिक चार लाखदेखि साढे चार लाख रुपैयाँ हाराहारी भेटी संकलन हुने गरेको छ। कोषका अनुसार तीन महिनायता भारतीय दर्शनार्थीको संख्या बढेको छ।

पशुपतिनाथको दर्शनका लागि १३ असार बिहान लामबद्ध भारतीय पर्यटक।
विभिन्न नाका हुँदै गत चैतदेखि नै नेपालमा भारतीय पर्यटकको ओइरो लागिरहेको छ। नेपालका अन्य स्थानमा भ्रमण गर्न आउने भारतीयहरूको तुलनामा पशुपतिनाथ दर्शन गर्न आउनेको संख्या धेरै छ। सूचना अधिकारी भाट भन्छन्, “नेपाल आउने भारतीयहरूमध्ये अधिकांश पशुपति दर्शन गर्न चाहन्छन्। पोखरा वा मुक्तिनाथ भ्रमण गरेपछि पशुपति आउने धेरै छन्।”
पशुपति दर्शनका लागि आउने भारतीय पर्यटकका कारण अहिले गौशाला क्षेत्रका होटल तथा धर्मशाला खचाखच छन्। पशुपतिनाथ आसपासमा मात्र होइन, भारतीय पर्यटकहरू ठमेलतिर पनि बाक्लै भेटिन्छन्। ठमेलका रेस्टुराँ, क्लबदेखि होटलहरूसम्म भारतीय पर्यटकको उल्लेख्य उपस्थिति छ।
नेपालमा पर्यटनका लागि जेठ-असार अफ सिजन भए पनि यसपटक यिनै महिनामा भारतीय पर्यटक भित्रिने लहर नै चलेको छ। यसबाट पर्यटन व्यवसायीहरू दंग छन्। ठमेलको ज्याठास्थित होटल एमका सञ्चालक महन्त श्रेष्ठ भन्छन्, “यो अफ सिजनमा पनि भारतीय पर्यटकका कारण यसपटक ठमेल गुलजार छ।”
भरिभराउ पोखरा
नेपाल आउने भारतीय पर्यटकमध्ये अधिकांश धार्मिक यात्रा र घुमफिरका लागि आउँछन्। घुमफिरमा आउने भारतीयका कारण पोखरा, मनाङ, मुस्ताङ क्षेत्र पनि गुलजार छन्। पोखराका अधिकांश होटल भारतीय पर्यटकले भरिभराउ छन्। स्थानीय होटल व्यवसायीका अनुसार यसपटक पोखराका ९० प्रतिशत होटल भारतीय पर्यटकले भरिए।
पोखराको लेकसाइड मात्र होइन, विश्व शान्ति स्तुप, साराङकोट, शिव मन्दिरलगायत क्षेत्रमा भारतीय पर्यटककै भिडभाड छ। पोखराका व्यवसायीले पहिलादेखि नै गर्मी महिनामा भारतीय पर्यटकलाई लक्षित गरेर ‘चलिए पोखरा’ जस्ता अभियान चलाउँदै आएका थिए। त्यस्तै, गत जेठमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका प्रतिनिधिले कोलकाता पुगेर त्यहाँका व्यवसायीसँग ‘पोखरा-नेपाल प्रवर्द्धन अभियान २०२६’ चलाएका थिए।
यस समयमा भारतका विद्यालयहरू बिदा हुने भएकाले पनि घुमघामका लागि पोखरा आउने भारतीयहरू प्रशस्त छन्। पोखरा आउने भारतीयहरू कि हवाईजहाजबाट काठमाडौँ हुँदै त्यहाँ पुग्छन्, कि त विभिन्न नाकाबाट बस वा निजी साधनमा आउँछन्। दिल्ली, उत्तर प्रदेश, लखनउलगायत स्थानबाट स्थलमार्ग भएर आउनेहरू गोरखपुर-सुनौली-भैरहवा नाका हुँदै पोखरा आइपुग्छन्। त्यस्तै, बिहार, कोलकातालगायत ठाउँबाट पोखरा आउनेहरू भने रक्सौल-वीरगन्ज हुँदै आउँछन्।
भैरहवाबाट पोखराको दूरी करिब १८५ किलोमिटर छ। भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार बेलहिया नाकाबाट यस सिजनमा भारतीय पर्यटक बोकेका दैनिक ६ सयदेखि १२ सय वटा भाडाका तथा निजी गाडी र मोटरसाइकल नेपाल भित्रिने गरेका छन्।
नेपाल घुम्न आउने भारतीयहरूमा सामान्यदेखि मध्यम र उच्च मध्यम वर्गीयसम्मका छन्। कोही बसमा आउँछन्, कोही आफ्नै गाडी लिएर त कोही हवाईजहाजबाट आउनेहरू छन्। आएपछि कोही तारे होटल बुक गर्छन् भने कोही सामान्य होटलमा बस्छन्। कोही उतैबाट पकाइतुल्याइ गर्ने सरसामान बोकेर आई खुला ठाउँमा पकाएर खानेहरू पनि छन्।
नेपाल पर्यटन बोर्डको पर्यटन बजार तथा प्रवर्द्धन विभागका वरिष्ठ प्रबन्धक सुमन घिमिरे कोभिड-१९ महाव्याधिपछि बोर्डले भारतीय बजारमा नेपालका पर्यटकीय स्थलको आक्रामक प्रचार गरेका कारण पनि भारतीय पर्यटकहरू बढेको दाबी गर्छन्। बोर्डले नयाँ दिल्लीस्थित भारतकै ठूलो ट्राभल एक्स्पो साउथ एसियाज् ट्राभल एन्ड टुरिज्म एक्सचेन्ज (साटे), मुम्बईको आउटबाउन्ड ट्राभल मार्ट (ओटीएम), बेंगलुरुको ट्राभल एन्ड टुरिज्म फेयर (टीटीएफ) जस्ता प्रदर्शनीमा सहभागी भएर प्रचार गरेको थियो। भन्छन्, “भारतीय पर्यटकको संख्या बढिरहेको छ, अब हामी पर्यटनसम्बद्ध सबै पक्ष मिलेर व्यवस्थापनमा ध्यान दिन आवश्यक छ।”
अन्नपूर्ण क्षेत्रमा इतिहासकै धेरै
पोखरा आइपुग्ने भारतीयमध्ये धेरैजसो मनाङ, मुस्ताङ, घोडेपानीको घुमघाम र मुक्तिनाथको दर्शन गर्न चाहन्छन्। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यी स्थानमा मार्चदेखि मे महिनासम्म तेस्रो मुलुकका पर्यटक खासै आउँदैनन्। त्यसैले यो बेलालाई ‘अफ-सिजन’ का रूपमा लिइन्छ। तर, यो वर्ष भारतीय पर्यटकका लागि यिनै महिना मुख्य सिजन बनेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को तथ्यांकअनुसार यो वर्ष इतिहासमै धेरै भारतीय पर्यटक आएका छन्। गत जुनभरिमा एक लाखभन्दा बढी भारतीयले अन्नपूर्ण क्षेत्र घुमेका छन्। १ जुनमा एक्याप क्षेत्रमा प्रवेशाज्ञा लिएका जम्मा चार हजार ८१६ जनामध्ये अनलाइनमार्फत तीन हजार ८९८ जना थिए। तीमध्ये भारतीय पर्यटकको संख्या ९५ प्रतिशतभन्दा बढी अर्थात् तीन हजार ७२४ थियो।
एक्यापका प्रमुख रविन कडरियाका अनुसार गत जेठमा मात्र अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न जाने एक लाख ३० हजार जना थिए, तीमध्ये अधिकांश भारतीय नै हुन्। विगतका वर्षमा यस क्षेत्रमा जेठमा ३५ हजार जना हाराहारी घुम्न जान्थे।
२९ वैशाख २०७५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान मुक्तिनाथको दर्शन गरेर त्यसपछि पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए। मोदीले दर्शन गरेपछि मुक्तिनाथको अझ धेरै भारतीयसम्म प्रचार भयो, तर सोही वर्षदेखि विश्वमा कोरोना महामारी फैलियो। चैत २०७६ देखि नेपालमा पनि लकडाउन भएर आवतजावत बन्द भयो।
कोरोना महामारी मत्थर भएपछि भने फेरि नेपालको पर्यटनमा पुनर्जागरण आयो। त्यसयता बर्सेनि अन्नपूर्ण क्षेत्र घुम्न जानेहरू पनि बढ्दै गए। तर, यसपटक कीर्तिमानी संख्यामा अहिलेसम्मकै धेरै भारतीय पर्यटक आएको एक्यापका प्रमुख कडरिया बताउँछन्। भन्छन्, “मार्च, अप्रिल र मे महिना अरू देशका पर्यटकका लागि अफ-सिजन हो, तर भारतीय पर्यटकका लागि मुख्य सिजन हो।”
एक्यापको तथ्यांकअनुसार यस वर्षको जनवरीमा १५ हजार ६७९ र फेब्रुअरीमा ११ हजार ८३३ भारतीयले अनुमति लिएकामा मार्चमा एकाएक बढेर ३० हजार ७९४ पुगे। अप्रिलमा अझै बढेर ४२ हजार ३७२ ले प्रवेशाज्ञा लिए। अर्को अफ-सिजन महिना मेमा त दोब्बरभन्दा धेरैले बढेर ८६ हजार ११३ जनाले अनुमति लिए। जुनमा एक लाख पाँच हजार १६९ जना भारतीयले एक्याप क्षेत्रको भ्रमण गरे। यसरी सन् २०२६ लागेयताको ६ महिनामा दुई लाख ९१ हजार ९६० भारतीयले मनाङ, मुस्ताङ, मुक्तिनाथलगायतको भ्रमण गरेका छन्।

मुक्तिनाथको दर्शन गर्न पुगेका भारतीय पर्यटक।
एक्यापको क्षेत्रमा प्रवेश गर्न सार्क राष्ट्रका नागरिकले प्रवेशाज्ञा शुल्क एक हजार तिर्नुपर्छ भने अन्य विदेशीले तीन हजार रुपैयाँ। यस हिसाबले भारतीय पर्यटकबाट मात्र सरकारले २८ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। जुनमा मात्र करिब १० करोड संकलन भएको छ। त्यसबाहेक पर्यटकले होटल, खानेकुरा र अन्य खर्चसमेत हिसाब गर्ने हो भने त्योभन्दा बढी हुन पुग्छ। त्यसो त भारतीय सीमाबाट नेपाल प्रवेश गर्दा नै चारपांग्रे साधनको दैनिक ६०० रुपैयाँ र मोटरसाइकलको १०० रुपैयाँका दरले शुल्क लिइन्छ।
पछिल्लो समय पोखराबाट मनाङ, मुस्ताङलगायत क्षेत्रमा जाने बाटो राम्रो छ। पहिलाभन्दा निकै सहज भएकाले भारतीय पर्यटक आफ्नै गाडी लिएर आउँछन्। एक्याप क्षेत्रका लागि काठमाडौँस्थित नेपाल पर्यटन बोर्ड, पोखरा, सिम्पानी र घासाका काउन्टरबाट प्रवेशाज्ञा लिन सकिन्छ। त्यसबाहेक अनलाइनबाट प्रवेशाज्ञा लिन सक्ने व्यवस्था गरिएको छ।

पशुपति क्षेत्रमा भारतीय पर्यटक।
पछिल्लो समय एक्याप क्षेत्र घुम्न अनलाइनबाटै प्रवेशाज्ञा लिनेको संख्या धेरै देखिन्छ। उदाहरणका लागि, २६ जुनमा एक हजार ८५१ जनाले प्रवेशाज्ञा लिएकामध्ये अनलाइनबाट लिनेको संख्या एक हजार ३१४ थियो। जसमा भारतीय पर्यटक एक हजार २७३ थिए। एक्याप अनलाइन सिस्टममा गएपछि पनि भारतीय पर्यटकलाई सहज भएको छ।
नेपाल पर्यटन बोर्डस्थित एक्यापका काउन्टर इन्चार्ज सन्जित धमला भन्छन्, “अनलाइन पर्मिटको सुविधा सुरु भएपछि विदेशबाटै पर्मिट लिएर आउनेको संख्या बढिरहेको छ। अनलाइनबाटै पर्मिट लिनेमा भारतीय धेरै छन्।”
भारतको गर्मीदेखि इरान युद्धको प्रभावसम्म
काठमाडौँ, पोखरा र मनाङ, मुस्ताङसम्म मात्र होइन, यस सिजनमा नेपालका पूर्वदेखि सुदूरपश्चिमसम्म भारतीय पर्यटकको संख्या बढेको छ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक घिमिरे पूर्वमा झापाको अर्जुनधारा, इलामको कन्याम, धरान, भेडेटार, हिलेदेखि पश्चिमका चितवन, लुम्बिनीदेखि सुदूरपश्चिमका बडीमालिकासम्मका पर्यटकीय स्थलमा भारतीय पर्यटक आइरहेको बताउँछन्।
बिहार, उत्तर प्रदेशलगायत दक्षिण भारतका पर्यटक धेरै मात्रामा नेपाल घुम्न आउने गरेका छन्। बोर्डका वरिष्ठ प्रबन्धक घिमिरेका अनुसार यस वर्ष भारतीय पर्यटकको आगमन उल्लेख्य बढ्नुका विविध कारण देखिएका छन्।
भारतमा यस मौसममा तापक्रम अत्यधिक बढ्छ। यसपटक पनि भारतका विभिन्न प्रान्तमा तापक्रम ४०-४५ डिग्रीसम्म पुगेको थियो। आफ्नो ठाउँको उखरमाउलो गर्मी छल्न शीतल ठाउँको खोजी गर्दै भारतीयहरू नेपालका पहाडी र हिमाली क्षेत्रतर्फ आइरहेका छन्।
केही समययता पोखरा, मनाङ, मुस्ताङदेखि नेपालका विभिन्न पर्यटकीय स्थलबारे भारतीय भ्लगर र सामाजिक सञ्जाल प्रयोगकर्ताले धेरै भिडिओ बनाएका थिए। त्यसले पनि घुम्न रुचाउने भारतीयलाई आकर्षण गरेको देखिन्छ। एक्यापका प्रमुख कडरिया भन्छन्, “भारतमा मध्यमवर्गीय समाज बढ्दै जाँदा घुमफिर गर्ने संस्कार पनि बढ्दै गएको छ। यसपटक अत्यधिक गर्मी र त्यहाँका विद्यालय बिदा भएकाले परिवारै घुम्न नेपाल आउने प्रवृत्ति देखिएको छ।”
इरानमा चर्किएको युद्धपछि इन्धनको मूल्यवृद्धि र वस्तुको आपूर्तिको चक्र बिथोलिएर विश्वमै संकट बढ्दा नेपालको पर्यटनमा भने अप्रत्यक्ष रूपमा सकारात्मक प्रभाव परेको देखिन्छ। अमेरिका र इजरायलको इरानसँगको युद्धका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेपछि भारतको विदेशी मुद्रा सञ्चितिमा पनि दबाब पर्यो।
यसपछि भारतीय प्रधानमन्त्री मोदीले विदेश घुमघाममा हुने डलर खर्च घटाउन नागरिकलाई आह्वान नै गरे। गत १० मेमा हैदराबादमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय यात्रा नगर्न र सुन नकिन्न भारतीयहरूलाई आग्रह गरेका थिए। अल-जजिरामा प्रकाशित रिपोर्टअनुसार सन् २०२३ मा दुई करोड ७९ लाख र सन् २०२४ मा तीन करोड नौ लाख भारतीय विदेश भ्रमणमा गएका थिए। उनीहरूले विदेश भ्रमणमा ३१.७ अर्ब अमेरिकी डलर खर्च गरेका थिए।
भारतका विभिन्न प्रान्तमा अप्रिलदेखि जुनसम्म विद्यालय बिदा हुन्छ। त्यस समयमा सम्पन्न परिवारका भारतीयहरू युरोप, अस्ट्रेलियाका चिसो ठाउँमा घुम्न जाने गर्छन्। भारतमा मोदीका अनुयायी धेरै भएका कारण पनि प्रधानमन्त्रीको यो आग्रहपछि विदेश भ्रमणमा जाने भारतीयको संख्या गिरावट आएको रोयटर्सको एक रिपोर्टमा उल्लेख छ।
यसरी पहिला डलर खर्च गरेर विदेश जानेहरू भारतीय रुपैयाँ खर्च गरेर नेपालका गन्तव्य आउने गरेको नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्ध घिमिरेको आकलन छ।
पहिला विशेषगरी पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, बराहक्षेत्र, लुम्बिनीलगायत धार्मिक स्थलमा दर्शनार्थीका रूपमा आउने भारतीयहरू पछिल्लो समय नेपालको प्राकृतिक सौन्दर्यमा रमाउन हिमाली र पहाडी क्षेत्रतिर आकर्षित भएका छन्।
त्यसो त यस मौसममा भारतीयहरू चिसो ठाउँ खोज्दै भारतकै काश्मीरतिर जाने गरेका थिए। गत वर्षको अप्रिलमा जम्मु काश्मीरको पहलगाममा घुम्न गएका पर्यटकलाई बन्दुकधारीले आक्रमण गरेका थिए। पर्यटकको हत्यापछि त्यस क्षेत्रमा घुम्न जानेहरू सुरक्षित गन्तव्यको खोजी गर्दै नेपालतर्फ आकर्षित भएका हुन सक्छन्।
पछिल्लो समय नेपालमा भएको सडक विस्तारले उनीहरूलाई यहाँ आउन र सहज रूपमा घुम्न सुविधा भएको छ। नेपाल नजिक पर्ने, सस्तो र भिसा नचाहिने भएकाले पनि भारतीयहरू आकर्षित भएको देखिन्छ। भारतीयलाई नेपाल आउन पासपोर्ट वा परिचयपत्र भए पुग्छ।
त्यस्तै, नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी पनि सुरु भएकाले भारतीयलाई यात्रा सहज बनेको छ। नेपाल-भारतको खुला सिमानाका कारण निजी सवारीसाधनमै आउन सकिन्छ। हवाईजहाजबाट आउन पनि शुल्क सस्तो छ।
अधुरो तथ्यांक, फितलो व्यवस्थापन
नेपाल-भारतबीचको खुला सिमाना र सांस्कृतिक सम्बन्धका कारण पौराणिक कालदेखि नै भारतीयहरूले नेपाल आउजाउ गर्ने गरेका छन्। पहिला विशेषगरी पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, बराहक्षेत्र, लुम्बिनीलगायत धार्मिक स्थलमा दर्शनार्थीका रूपमा आउने भारतीयहरू पछिल्लो समय नेपालको प्राकृतिक सौन्दर्यमा रमाउन हिमाली र पहाडी क्षेत्रतिर आकर्षित भएका छन्।
बर्सेनि भारतीय पर्यटकको संख्या बढिरहे पनि सरकारसँग वर्षमा कति भारतीय पर्यटक आउँछन् भन्ने यकिन तथ्यांकसमेत छैन। सरकारी निकायसँग हवाईजहाजबाट आउने भारतीय पर्यटकको मात्र स्पष्ट तथ्यांक छ। सरकारसँग न त स्थलमार्गबाट आउने भारतीयको तथ्यांक छ, न त पशुपतिनाथ, पोखरा र अन्य क्षेत्रमा कति भारतीय आउने गरेका छन् भन्ने आँकडा नै छ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार गत जुनमा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल भित्रिए। तीमध्ये भारतीय पर्यटक मात्र ४१ हजार ८०९ थिए। यो कुल पर्यटकमध्ये ४५.७६ प्रतिशत हो। जुन २०२५ मा ३२ हजार ६६२ भारतीय पर्यटक भित्रिएका थिए। त्यसको तुलनामा यस वर्षको जुनमा भारतीय पर्यटकको संख्या १९.५ प्रतिशत बढेको छ। बोर्डले अध्यागमन विभागको तथ्यांकका आधारमा हवाईजहाजमार्फत आएका पर्यटकहरूको विवरण सार्वजनिक गर्ने गरेको छ।
भारतीय पर्यटकहरू नेपाल हुँदै कैलास मानसरोवरसम्म पनि जाने गरेका छन्। यसरी नेपाल हुँदै यात्रा गर्नेहरू अत्यधिक वृद्धि भएपछि भारत सरकारले आफ्ना नागरिकलाई आवश्यक कागजात बोकेर मात्र यात्रा गर्न सचेत गराउन थालेको छ।
त्यस्तै, गत मेमा मात्र ४० हजार ७४२ भारतीय पर्यटक हवाईजहाजमार्फत नेपाल आए। मे २०२५ मा २८ हजार १६० भारतीय आएका थिए भने मे २०२४ मा ३८ हजार २८८ जना आएका थिए।
सरकारकै तथ्यांकअनुसार सन् १९९२ मा नेपालमा एक लाख ६ हजार ५७४ भारतीय आएका थिए। त्यसको ३५ वर्षपछि सन् २०२५ मा दुई लाख ९३ हजार ३८३ आए। हालसम्म सबैभन्दा धेरै सन् २०२३ मा तीन लाख १९ हजार ९३६ र सन् २०२४ मा तीन लाख १७ हजार ७८१ भारतीय आएको नेपाल पर्यटन बोर्डको तथ्यांकमा देखिन्छ। चालु वर्ष सन् २०२६ को जनवरीदेखि जुनसम्मको ६ महिनामा मात्र एक लाख ८२ हजार ८८४ भारतीयले नेपाल भ्रमण गरेका छन्।
केही वर्षयता गर्मी मौसममा घुमघामका लागि नेपाल भित्रिने धेरै भारतीयहरू स्थलमार्गबाट आइरहेका छन्। भारतबाट नेपाल प्रवेश गर्ने स्थल नाकाहरूमा काँकडभिट्टा-सिलगुडी, विराटनगर-जोगबनी, वीरगन्ज-रक्सौल, भैरहवा-सुनौली, रुपैडिया-जमुनाह, गौरीफन्टा-मोहना र गड्डाचौकी-बनवासा प्रमुख हुन्। त्यसबाहेक खुला सिमानाका कारण तराईतिर जतासुकैबाट पनि भारतीयहरू नेपाल भित्रिने गरेका छन्।
कान्तिपुरमा प्रकाशित रिपोर्टअनुसार नेपाल-भारतका प्रमुख नाकाबाट दैनिक दुई हजार वटा भारतीय गाडी पर्यटक र तीर्थयात्री बोकेर नेपाल भित्रिने गरेका छन्।
यसरी आउनेहरूमध्ये कोही मोटरसाइकल, कोही बसमा आउने गरे पनि धेरैजसो निजी कारमा आउने गरेका छन्। व्यवसायीका अनुसार पोखरा आइपुग्ने भारतीयमध्ये ७० प्रतिशतले आफ्नै गाडी लिएर आउने गरेका छन्। यस हिसाबले दैनिक आठ हजारदेखि १० हजार भारतीय स्थलमार्गबाट नेपाल भित्रिँदा मासिक दुई लाखदेखि तीन लाखसम्म पुग्छन्।
पर्यटन व्यवसायीहरूका अनुसार धेरै पर्यटक आएपछि फोहोर बढेको छ भने गाडी पार्किङका लागि समस्या हुन थालिसकेको छ। त्यसबाहेक आपराधिक घटना पनि हुन थालेका छन्।
भारतीय पर्यटकहरू नेपाल हुँदै कैलास मानसरोवरसम्म पनि जाने गरेका छन्। यसरी नेपाल हुँदै यात्रा गर्नेहरू अत्यधिक वृद्धि भएपछि भारत सरकारले आफ्ना नागरिकलाई आवश्यक कागजात बोकेर मात्र यात्रा गर्न सचेत गराउन थालेको छ।
टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टअनुसार भारतको विदेश मन्त्रालयले आवश्यक कागजातविना नेपाल हुँदै यात्रा नगर्न सचेत गराएको छ।
भारत सरकारले सचेतना अपनाउन थालिसके पनि नेपाल सरकारले भने व्यवस्थापनमा खासै ध्यान दिन सकेको छैन।
पर्यटन व्यवसायीहरूका अनुसार धेरै पर्यटक आएपछि फोहोर बढेको छ भने गाडी पार्किङका लागि समस्या हुन थालिसकेको छ। त्यसबाहेक आपराधिक घटना पनि हुन थालेका छन्।
१० असारमा अन्नपूर्ण संरक्षण क्षेत्रको घान्द्रुक-छोमरोङ पदमार्गमा पर्ने दुरबिन र भुजुङ डाँडाबीचमा अवस्थित सनराइज होटलमा चार भारतीय पर्यटकले पसल फोडेर समान चोरी गरे। स्थानीयले उनीहरूलाई चक्कुलगायत हतियारसहित समातेका थिए। एक्यापका प्रतिनिधिहरूको रोहबरमा उनीहरूलाई फिर्ता पठाइएको थियो।
त्यस्तै, २६ जेठमा पशुपतिनाथ मन्दिर क्षेत्रमा दर्शनार्थीको सुनको सिक्री लुटपाट गरेको अभियोगमा पाँच भारतीय नागरिक पक्राउ परेका थिए। यस्ता आपराधिक घटना छिटपुट भइरहेका छन्। धेरै संख्यामा पर्यटक आउँदा यस्ता समस्या भित्रिन्छन् नै, त्यसका लागि सरकारले पूर्वतयारी गर्नु र सजगता अपनाउनु आवश्यक हुन्छ। तर, पशुपतिनाथ जस्ता धेरै भारतीय आउने क्षेत्रमै उनीहरूको रेकर्ड नराखिँदा भोलि ठूला आपराधिक घटना भए पत्ता लगाउन गाह्रो हुन्छ।
तीनै तहका सरकार मिलेर आधिकारिक तथ्यांक राख्ने, निजी क्षेत्रलाई सहभागी गराएर व्यवस्थापनमा ध्यान दिने हो भने भारतीय पर्यटकका लागि नेपाल दिगो गन्तव्य बन्न सक्छ।
एक्यापका प्रमुख रविन कडरिया भारतीय पर्यटकको संख्या बर्सेनि बढ्दै आएको र अझै बढ्ने सम्भावना देखिएकाले अहिलेबाटै व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउँछन्। “भारतीय पर्यटकको तथ्यांक व्यवस्थित गर्न, सरसफाइ, पार्किङ व्यवस्थापन गर्न, अपराध हुन नदिन सजग हुनुपर्छ,” उनी भन्छन्, “अर्कातिर, भारतीय पर्यटकहरूको अलि ठूलो स्वरमा बोल्ने स्वभाव हुन्छ। त्यो स्वभाव बुझेर हामीले नरम व्यवहार र शिष्टाचारमा ध्यान दिनुपर्छ।”
नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने भारतीय पर्यटकको एकीकृत तथ्यांक राख्न नसकिएको स्विकार्छन्। भन्छन्, “धेरै पर्यटक भित्रिनु स्वागतयोग्य कुरा हो। योसँगै भारतीय पर्यटकको रेकर्ड राख्ने र आवश्यक कुरा व्यवस्थित गर्दै जानुपर्छ।”
भारतीय पर्यटक बर्सेनि बढ्न थालेपछि विभागले उनीहरूलाई लक्षित गरेर रेस्टुराँहरूको सूचीकरण गर्ने तयारी गरिरहेको उनी बताउँछन्। “पर्यटकलाई सुविधा उपलब्ध गराउने विषयमा काम गरिरहेका छौँ,” लामिछाने भन्छन्।
नेपाली समाजले पहिला तेस्रो देशबाट आउने गोरो छाला भएकालाई मात्र पर्यटकका रूपमा हेर्ने गरेको थियो। भारतीयलाई पर्यटकका रूपमा गणना गर्ने चलनै थिएन। उनीहरू धेरै तीर्थयात्रीका रूपमा आउने, आफैँ पकाउने, खाने र खासै खर्च नगर्ने मानिन्थ्यो। तर, समय बदलिएको छ। अहिले विभिन्न गन्तव्य घुम्ने, खर्च गर्ने र सबैभन्दा धेरै आउने नै भारतीय पर्यटक हुन्। उनीहरूलाई सहज र सुरक्षित वातावरण बनाउन सरकारले ध्यान दिनु आवश्यक छ।
देशमा तीन तहका सरकार छन्। पर्यटन प्रवर्द्धन र पर्यटकमैत्री वातावरण बनाउन तीन तहका सरकारबीच सहकार्य गर्नुपर्ने देख्छन्, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरे। भन्छन्, “तीनै तह मिलेर आधिकारिक तथ्यांक राख्ने, निजी क्षेत्रलाई सहभागी गराएर व्यवस्थापनमा ध्यान दिने हो भने भारतीय पर्यटकका लागि नेपाल दिगो गन्तव्य बन्न सक्छ।”