सुर्खेत। दैलेख प्रहरीले कर्णाली नदीमा खसेकाे फाेर्स गाडीमा सवार पाँच यात्रुकाे विवरण सार्वजनिक गरेकाे छ।
बिहिबार जिल्लाकाे चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको थियो।
घटनास्थलबाट प्राप्त मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त जानकारीका आधारमा गाडीमा चालकसहित पाँच जना सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जवे टिका (जिल्ला कालिकोट, पलाँता गाउँपालिका–१) को शव फेला परेको छ। आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाडीमा सवार रहेकाहरूमा चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी (दुवै सुर्खेतको पञ्चपुरी नगरपालिका–८), सिर्जना बुढा (रास्कोट नगरपालिका–२, कालिकोट), मेखे तिरुवा र जेखे तिरुवा (दुवै पलाँता गाउँपालिका–१, कालिकोट) रहेका छन्।
प्रहरीले गाडीमा अन्य यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, सम्भावित स्थानहरूमा खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
नदीमा खसेकाे गाडी खाेज्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ६ जना गोताखोर टोली घटनास्थलमा खटिएर खाेजि कार्य गरिरहेकाे छ।
महेश्वरी बाहिनीका प्रहरी उपरीक्षक करणसिंह धामीका कर्णाली नदीको पानी अत्याधिक धमिलो रहेकाले उद्दारमा समस्या भइरहेको बताए। गाडीमा कति जना सवार थिए भन्ने विवरण हालसम्म पनि खुलेको छैन। प्रहरीका अनुसार दुर्घटनाको कारणसमेत खुलेको छैन।