काठमाडौँ। अर्थ मन्त्रालयअन्तर्गतका दुई प्रमुख विभागमा नयाँ नेतृत्व नियुक्त गरिएको छ।
मन्त्रिपरिषद्को हालैको निर्णय अनुसार भन्सार विभाग र राजस्व विभागको महानिर्देश फेरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ। अर्थमन्त्रीको सचिवालयका अनुसार भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन्।
यसअघि निमित्त महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका भरतमणि पाण्डेयलाई अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ। यसैगरी भन्सार विभागको उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्य नियुक्त भएका छन्।
यस्तै आन्तरिक राजस्व विभागको महानिर्देशकमा भीष्मकुमार भुसाल नियुक्त भएका छन्। वर्तमान महानिर्देशक रमेश अर्याललाई पनि अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ।
नयाँ जिम्मेवारी पाएका तीनैजना सहसचिव हालैको मन्त्रिपरिषद् बैठकबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका हुन्। राजस्व प्रशासनसँग प्रत्यक्ष सम्बन्धित यी दुई विभागमा गरिएको नेतृत्व परिवर्तनलाई सरकारको राजस्व संकलन प्रणाली सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।