काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

२३ असार २०८३
अ+
अ-

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनको इतिहासमै सबैभन्दा महँगा खेलाडी बनेका छन्।

डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले उनलाई २० लाख रुपैयाँमा आफ्नो टोलीमा अनुबन्ध गरेको हो।

सोमबार सम्पन्न अक्सनमा आसिफका लागि काठमाडौं गोर्खाजबाहेक अन्य सातै टोलीले अधिकतम २० लाख रुपैयाँ खर्च गर्न इच्छा देखाएका थिए।

सबै टोलीले समान रकम प्रस्ताव गरेपछि नियमअनुसार गरिएको गोलाप्रथामा लुम्बिनी लायन्स भाग्यमानी बन्दै उनलाई आफ्नो टोलीमा भित्र्याउन सफल भयो।

एनपीएलमा मार्की खेलाडीको मूल्य २० लाख रुपैयाँ रहे पनि अक्सनमार्फत कुनै खेलाडी २० लाख रुपैयाँमा बिक्री भएको यो पहिलो पटक हो। यसअघि ए श्रेणीका खेलाडीहरूको अधिकतम अक्सन मूल्य १५ लाख रुपैयाँसम्म पुगेको थियो।

आसिफ ए श्रेणीका खेलाडी हुन् र उनको आधार मूल्य १५ लाख रुपैयाँ निर्धारण गरिएको थियो। तर टोलीहरूको उच्च प्रतिस्पर्धाका कारण उनको मूल्य २० लाख रुपैयाँ पुग्दै उनले एनपीएल अक्सनमा नयाँ कीर्तिमान कायम गरेका छन्।