दाङ। लुम्बिनी प्रदेशमा विषादी बिक्रीवितरण, भण्डारण वा जथाभावी व्यवसाय गर्न निषेध गरिएको छ।
‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको ऐन, २०८१’ अनुसार कुनै व्यक्ति वा संस्थाले विषादीको खुद्रा बिक्री, भण्डारण वा व्यावसायिक कारोबार गर्न सम्बन्धित विषय हेर्ने निकायसँग अनिवार्य इजाजत लिनुपर्ने व्यवस्था गरेको छ।
इजाजतपत्रको अवधि तीन वर्ष र लिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ वा कृषि र पशुपालनमा टिएसएलसी वा जेटिए उत्तीर्ण गरेको हुनुपर्नेछ।
विषादी बिक्रेताले खाद्यपदार्थ र भेटेरिनरी औषधि भण्डारण वा बिक्री गर्ने ठाउँमा विषादी राख्न नपाउने ऐनमा उल्लेख छ। त्यस्तै गर्भवती, बालबालिका, मादक पदार्थ सेवन गरेका व्यक्ति वा मानसिक स्वास्थ्य ठीक नभएका व्यक्तिलाई विषादी बिक्री वा प्रयोगमा संलग्न गराउन पूर्ण प्रतिबन्ध लगाइएको छ।
जैविकबाहेक अन्य रासायनिक विषादीको विज्ञापन सार्वजनिक सञ्चारमाध्यमबाट गर्न नपाइने, व्यावसायिक रूपमा विषादी छर्किएपछि उक्त स्थानमा सर्वसाधारणको जानकारीका लागि चेतावनीमूलक सङ्केत टाँस्नुपर्ने ऐनमा उल्लेख छ।
ऐनले प्रदेशमा विषादीको प्रयोगलाई व्यवस्थित बनाउने लुम्बिनी प्रदेशसभा सदस्य यमबहादुर नेपालीले बताए।