काठमाडौँ
००:००:००
२५ असार २०८३, बिहीबार

२५ असार २०८३
अ+
अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो सदस्य राष्ट्र स्पेनसँगको सम्पूर्ण व्यापार तत्काल रोक्न निर्देशन दिएपछि अमेरिका–स्पेन सम्बन्धमा नयाँ तनाव उत्पन्न भएको छ।

ट्रम्पको यो कदम रक्षा खर्च र इरान युद्धसम्बन्धी मतभेदका कारण आएको हो। नेटो शिखर सम्मेलनका क्रममा टर्कीको अंकारामा बोल्दै ट्रम्पले स्पेनलाई कमजोर साझेदारको रूपमा आलोचना गर्दै अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टलाई स्पेनसँगको व्यापार रोक्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्। अमेरिकी अधिकारीहरूका अनुसार सम्भावित प्रतिबन्धका लागि स्पेनी उत्पादनहरूको सूची तयार गर्ने काम सुरु गरिनेछ।

ट्रम्पले नेटोका सदस्य राष्ट्रहरूले रक्षा क्षेत्रमा कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत खर्च गर्नुपर्ने आफ्नो मागलाई स्पेनले अस्वीकार गरेको भन्दै असन्तुष्टि जनाएका छन्। साथै, इरानसम्बन्धी अमेरिकी सैन्य अभियानमा स्पेनले आफ्नो हवाई क्षेत्र र सैन्य आधार प्रयोग गर्न अनुमति नदिएको विषयलाई पनि उनले विवादको कारण बताएका छन्।

युरोपेली संघका व्यापार नियमअनुसार सदस्य राष्ट्रहरूसँगको व्यापार वार्ता सामूहिक रूपमा हुने भएकाले स्पेनलाई मात्र लक्षित गरेर व्यापार रोक्ने कदम कानुनी रूपमा जटिल हुन सक्ने विज्ञहरूले बताएका छन्।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ट्रम्पसँग भएको भेटलाई अत्यन्त सौहार्दपूर्ण भन्दै विवादलाई कम गर्ने प्रयास गरेका छन्। उनले स्पेन नाटोप्रति प्रतिबद्ध रहेको र गठबन्धनभित्र आफ्नो जिम्मेवारी पूरा गरिरहेको बताएका छन्।

सान्चेजले अमेरिका र स्पेनबीचको आर्थिक सम्बन्ध बलियो रहेको उल्लेख गर्दै व्यापारिक सम्बन्ध सरकारभन्दा निजी क्षेत्रबाट सञ्चालित हुने बताए। उनले स्पेनले नाटो अभियानमा आफ्नो योगदान निरन्तर जारी राख्ने पनि स्पष्ट पारे।

स्पेन अमेरिकालाई जैतुनको तेल, अटो पार्ट्स, स्टिल, रसायन तथा मदिराजन्य उत्पादन निर्यात गर्ने प्रमुख राष्ट्रमध्ये एक हो। यदि व्यापार प्रतिबन्ध लागू भएमा यी क्षेत्रहरू प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ।

तर अमेरिकी ठूला लगानीकर्ताहरूले भने स्पेनलाई अझै आकर्षक लगानी गन्तव्यका रूपमा हेरेका छन्। यसले दुई देशबीचको आर्थिक सम्बन्ध राजनीतिक तनावभन्दा फरक दिशामा अघि बढिरहेको संकेत गरेको छ।