काठमाडौँ
००:००:००
२५ असार २०८३, बिहीबार

२५ असार २०८३
अ+
अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलले शिष्टाचार भेट गरेकी छन्।

उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा दुई मुलुकबीचको सम्बन्धका विविध आयामबारे छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ। यादवले सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल-फ्रान्स सम्बन्ध पारस्परिक सम्मान, सहयोग र सौहार्दपूर्ण मित्रतामा आधारित रहँदै आएको बताए। उनले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यहरू ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’ नेपालको राजनीतिक आन्दोलन तथा संघर्षहरूलाई समेत प्रेरित गर्दै आएको उल्लेख गरे।

फ्रान्सले युरोपेली संघ (ईयू) मार्फत नेपाललाई प्रदान गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उपराष्ट्रपति यादवले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे। यादवले आसन्न फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा राजदूत कोर्टेभलमार्फत फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोन र त्यहाँका जनताको सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरे।

राजदूत भर्जिनी कोर्टेभलले आफ्नो कार्यकालमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने प्रयास गरेको बताइन्। उनले भनिन्, “नेपाल मेरो ह्रदयमा रहेको मुलुक हो।”