काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको सय दिनमा जनता खुसी हुने कुनै काम नभएको टिप्पणी गरेका छन्।
पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सरकारले सय दिनमा जनतालाई रुवाउनेबाहेक खुसी हुने कुनै काम नगरेको दाबी गरेका हुन्।
उनले देशमा खुसी हुन राति अबेरसम्म विश्वकप फुटबल खेल हेर्नुको विकल्प नरहेको बताए। सरकारलाई भाँडोमा उम्लिएको दूधसँग तुलना गर्दै ओलीले सरकारको खुट्टा भुइँमा नभएको र कर्तव्यबोध शून्य रहेको धारणा राखे।
उनले प्रधानमन्त्री वा मन्त्रीविरुद्ध बोले वा जेल जानुपर्ने स्थिति सिर्जना भएको भन्दै झुक्किएर पनि उनीहरूबारे नबोल्न सुझाव दिए। उनले सरकारलाई कति नम्बर दिने भन्ने कुरा जनता र सञ्चारमाध्यमकै हातमा रहेको उल्लेख गरे। एमाले सक्कियो भन्ने टिप्पणीप्रति अध्यक्ष ओलीले एमाले सकिन नभई देश बनाउन र सफलता प्राप्त गर्न जन्मिएको पार्टी भएको दाबी गरे।
कार्यक्रममा अध्यक्ष ओलीले नेकपाका पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्यलाई एमालेमा प्रवेश गराएका थिए।