काठमाडौँ
००:००:००
२६ असार २०८३, शुक्रबार

२६ असार २०८३
अ+
अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ अधिवेशन एवं नगर सभा सम्पन्न भएको छ । गत जेठ ३१ गते सुरु भएको उक्त अधिवेशन आजको छैटौँ बैठकसँगै सकिएको हो।

बैठकमा नगर सभाको चौथो र पाँचौँ बैठकमा पेस भएका संशोधन विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो । सो क्रममा विधायन समितिका सदस्य हुमादेवी आचार्यले विद्यमान कानुनमा समसामयिक संशोधनसम्बन्धी विधेयकका प्रस्तावित व्यवस्था पेस गरेकी थिइन्।

पेस गरिएका विषयमाथि नगर सभा सदस्यहरू विमलकुमार होडा, सन्तोष ढुङ्गेल, मचाराजा महर्जन, सुरेश मानन्धर र रोजिना श्रेष्ठले धारणा राखेका थिए।

बैठकमा व्यक्त धारणा, लिखित संशोधन प्रस्तावलाई समेटेर सभाका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सभामा निर्णयार्थ पेस गरेकी थिइन्। ती विधेयकसँगै सभाको पाँचौँ बैठकमा पेस भएका न्यायिक समिति, लेखा समिति र सुशासन समितिको वार्षिक प्रतिवेदनमाथि सभाका सदस्यले दिएको सुझाव समेटेर निर्णयका लागि पेस भएका थिए।

पेस भएका प्रस्ताव सर्वसम्मत पारित भएपछि सभाध्यक्ष डंगोलले नगर सभाको बैठक सम्पन्न भएको घोषणा गरेकी थिइन्। उनले स्वीकृत कार्यक्रमको सफल कार्यान्वयनबाट मतदाता, महानगरवासी र राजधानी सहर आश्रितको हित, उपयोग र सुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्न सम्बद्ध सबैलाई आग्रह गरे।

बैठकमा कार्यवाहक प्रमुख डंगोलले आर्थिक वर्ष २०८३/८४ का लागि ११ क्षेत्रका १०१ बुँदामा नीति प्रस्ताव गरेकी थिइन्। उक्त प्रस्ताव यही असार १ गतेको अधिवेशनको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो।

यस्तै, असार ४ गतेको तेस्रो बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले आव २०८३/८४ का लागि काठमाडौँ महानगरपालिकाको रु २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार बजेट प्रस्ताव पेस गरेकी थिइन् । सोही बैठकमा उनले आव २०८३/८४ का लागि आर्थिक विधेयक तथा विनियोजन विधेयक पेस गरेकी थिइन्।