काठमाडौँ। प्रहरीले लागुऔषध कारोबार गरेको आरोपमा पाँच जना भारतीय नागरिक पक्राउ गरेको छ।
प्रहरीले आइतबार कास्की पोखरा महानगरपालिका-३२ मजुवामा भारतीय नम्बरको कारमा लुकाइराखेको लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा उत्तरप्रदेश सरदार नगर गोरखपुरका २७ वर्षीय विकास कुमार, सोही ठाउँका २९ वर्षीय बर्जली पासवान, भारत अराजी बसडिला गोरखपुरका ३३ वर्षीय अभकुरार मिश्र, भारत कुसुमी बजार गोरखपुरका ३३ वर्षीय प्रितम कुमार र भारत नन्दनगर दरगहिया गोरखपुरका २५ वर्षीय अभिषेक कुमार पासवान रहेका छन्।
लागुऔषध ब्युरो शाखा कार्यालय पोखरा र इलाका प्रहरी कार्यालय डाँडाको नाकको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।
प्रहरीले भारतीय नागरिक सवार युपी५३वाई ७७०४ नम्बरको कार चेकजाँच गर्दा १८०० पिस ब्रेप्रेनोर्फिन, डाइजेपाम र फेनारगन एम्पुल र ट्रामाडोल ५१० क्याप्सुल बरामद भएको रेग्मीले बताए।
पक्राउ परेकालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान थालेको छ।
यस्तै, प्रहरीले सुनसरी दुहबी नगरपालिका-४ बाट दुई जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। आइतबार लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको टोलीले १०७.४०० ग्राम ब्राउसुगरसहित मोरङ धनपालथान गाउँपालिका-१२ का २५ वर्षीय जमालउदिन मिया र सोही ठाउँका २५ वर्षीय इमदाद मियाँलाई पक्राउ गरेको रेग्मीले बताए। उनीहरू भारतबाट ब्राउनसुगर लिएर नेपाल आएका थिए। पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ।