दुबई। विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप चुलिएको छ। दुवै पक्षले जलघाँटी आफ्नो नियन्त्रणमा रहेको दाबी गरिरहेका बेला पछिल्ला सैन्य आक्रमणले युद्धविराम प्रयासलाई थप कमजोर बनाएको छ।
कुवेत र बहराइनसम्म फैलिएको तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। कुवेतले सोमबार बिहान आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरी आकाशमा देखिएका खतराप्रति जवाफी कारबाही गरेको जनाएको छ।
इरानले अमेरिकी हवाई आक्रमणको प्रतिक्रियास्वरूप आक्रमण गरेको दाबी गरिए पनि कुवेती सेनाले तत्काल कुनै क्षति वा मानवीय हताहत भएको पुष्टि गरेको छैन।
बहराइनले पनि सम्भावित मिसाइल खतरालाई मध्यनजर गर्दै सोमबार दुई पटक चेतावनी साइरन बजाएको जनाएको छ।
यसैबीच, अमेरिका र इरानले एकअर्काविरुद्ध सैन्य गतिविधि तीव्र बनाउँदै स्ट्रेट अफ हर्मुज खुला वा नियन्त्रणमा रहेको विषयमा परस्परविरोधी दाबी गरेका छन्। ओमानको तट नजिक इरानले एक कन्टेनर जहाजलाई लक्षित गरेपछि विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने जलमार्ग फेरि अन्तर्राष्ट्रिय चिन्ताको केन्द्र बनेको छ।
विश्वको करिब पाँचौँ भाग कच्चा तेल र प्राकृतिक ग्यास यही जलमार्गबाट ओसारपसार हुने भएकाले यहाँको अस्थिरताले विश्व ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ।
इरान र अमेरिकाबीच स्थायी युद्ध अन्त्यका लागि भएको ६० दिने अन्तरिम सहमतिले आधा अवधि पार गरिसकेको भए पनि त्यसले अपेक्षित शान्ति दिन सकेको छैन। बरु पछिल्ला आक्रमण र प्रतिआक्रमणले कूटनीतिक प्रयासलाई चुनौती दिएको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पूर्ण युद्ध पुनः सुरु भए त्यसका परिणाम विनाशकारी हुने चेतावनी दिँदै संयम अपनाउन आग्रह गरेका छन्।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले सोमबार इरानका हवाई प्रतिरक्षा प्रणाली, राडार केन्द्र, मिसाइल तथा ड्रोन पूर्वाधार, साना नौकासहित दर्जनौँ सैन्य लक्ष्यमा आक्रमण गरिएको जनाएको छ। सेन्ट्रल कमान्डले स्ट्रेट अफ हर्मुज विश्वव्यापी व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग भएकाले त्यसमा इरानको नियन्त्रण स्वीकार्य नहुने स्पष्ट पारेको छ।
यता इरानको इस्लामिक रिभोलुसनरी गार्डले अमेरिकी दाबी अस्वीकार गर्दै स्ट्रेट अफ हर्मुज आफ्नो क्षेत्र भएको र बाह्य सैन्य हस्तक्षेप स्वीकार नगर्ने जनाएको छ। गार्डले अमेरिकी उपस्थितिलाई गैरकानूनी भन्दै आवश्यक परे थप प्रतिकार गर्ने चेतावनी पनि दिएको छ। इरानी सरकारी सञ्चारमाध्यमले सोमबार बिहान अमेरिकी आक्रमणका क्रममा विभिन्न स्थानमा विस्फोट भएको र कम्तीमा एक जनाको मृत्यु भएको जनाएको छ।
आइतबार इरानले गरेको प्रतिआक्रमण बहराइन, कुवेत, कतार, जोर्डन र ओमानसम्म फैलिएको थियो। इरान र पश्चिमबीच लामो समयदेखि मध्यस्थकर्ताको भूमिका खेल्दै आएको ओमानले पनि पछिल्लो आक्रमणप्रति असन्तुष्टि जनाउँदै इरानी कूटनीतिज्ञलाई बोलाएर विरोध जनाएको छ।
आइतबार अमेरिकी सेनाले करिब १४० सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको थियो। यसलाई पछिल्ला सातामा गरिएको सबैभन्दा ठूलो सैन्य कारबाही मानिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकी सेनाले इरानी लक्ष्यमा व्यापक बमबारी गरेको पुष्टि गरेका छन्। यसको प्रतिक्रियामा इरानले अमेरिकी सैन्य उपस्थिति रहेका क्षेत्रीय मुलुकहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गर्दै स्ट्रेट अफ हर्मुजमा आफ्नो नियन्त्रण कायम रहने र त्यहाँबाट आवतजावत गर्ने जहाजले इरानका नियम पालना गर्नुपर्ने अडान दोहोर्याएको छ।
इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर कालिबाफले अब एकतर्फी सम्झौताको समय समाप्त भएको बताउँदै आफ्नो प्रतिबद्धता पूरा नगर्ने पक्षले मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
इरानले जलघाँटी बन्द रहेको दाबी गरिरहे पनि अमेरिका र राष्ट्रपति ट्रम्पले समुद्री मार्ग सञ्चालनमा रहेको बताएका छन्। अमेरिकी सेनाले ओमानको दक्षिणी समुद्री मार्ग प्रयोग गर्ने जहाजलाई सुरक्षा दिन थालेपछि इरानले त्यस मार्ग प्रयोग गर्ने जहाजलाई समेत निशाना बनाउन थालेको जनाइएको छ।
युद्धका कारण सुरुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० अमेरिकी डलरसम्म पुगेको थियो। पछिल्ला दिनमा मूल्य केही घटे पनि ऊर्जा आपूर्ति र समुद्री सुरक्षाप्रतिको अनिश्चितता अझै कायम रहेको छ।
युद्ध अन्त्यका लागि पाकिस्तान, कतार र इजिप्टलगायत देशहरूले मध्यस्थता जारी राखेका छन्। वार्तासँग परिचित एक क्षेत्रीय अधिकारीका अनुसार युद्धविरामलाई स्थायी बनाउने प्रयास अझै रोकिएको छैन। पाकिस्तानले आफ्ना विदेश मन्त्रीले इरानका वरिष्ठ कूटनीतिज्ञसँग टेलिफोन वार्ता गरी दुवै पक्षलाई तनाव कम गर्न आग्रह गरेको जनाएको छ।
यसैबीच, इरानका नयाँ सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले आफ्ना पिता अयातुल्ला अली खमेनीको अन्त्येष्टिपछि पहिलो सार्वजनिक वक्तव्य जारी गर्दै इरानमाथि भएका आक्रमणको प्रतिशोध लिइने प्रतिबद्धता व्यक्त गरेका छन्।