काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ आश्विन २०८२
अ+
अ-

मुग्लिन–नारायणगढ सडक खण्डमा सुक्खा पहिरो जान थालेको दुई साता पुग्न लागेको छ। इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा २८ भदौदेखि पहिरो जान थालेको थियो। ७ असोजमा ठूलो पहिरो खस्दा दुवैतर्फको आवागमन पूर्णरूपमा अवरुद्ध छ।

सडक डिभिजन कार्यालय चितवनका प्रमुख नारायणप्रसाद घिमिरेका अनुसार एक सय ५० मिटर लामो र एक सय ५० मिटर चौडा पहिरो खसेपछि दसैँमा घर जाने हजारौँ यात्रु वैकल्पिक राजमार्गमा धकेलिएका छन्। “दैनिक चारवटा एक्सकाभेटर चलाएर पन्छाउने काम भइरहेको छ, शुक्रबारसम्म सक्ने लक्ष्य छ,” घिमिरे भन्छन्।

२७ भदौयता तुइनखोलामा १३ वटा पहिरो गइसके। यो सडक २०७२ देखि २०७६ सालसम्म चार वर्ष लगाएर चौडा पारिएको थियो। विश्व बैँकको तीन अर्ब ३२ करोड रुपैयाँ सहयोगमा सडक बनाइएको थियो।

दुई लेन रहेको उक्त खण्डमा यसपालि मात्रै होइन, पहिरोको समस्या निर्माणदेखिकै छ। केही बेर पानी नै पर्नेबित्तिकै ठाउँ-ठाउँमा पहिरो जाने गरेको छ। यसपालि पानी नपरेकै बेला सुक्खा पहिरो गयो।

“पहिरो पन्छाएपछि तारजाली र ढुंगा लगाएर कस्ने तयारी गरिरहेका छौँ,” घिमिरे भन्छन्। पछिल्ला दिनमा तुइनखोला र कालीखोला गरी दुई ठाउँमा पहिरो गइरहने समस्या देखिएको थियो। “कालीखोलामा अहिले समस्या देखिएको छैन,” घिमिरे भन्छन्।

घिमिरेका अनुसार दुई वर्षमा सकिने गरी काम थालिएको सडक महाभूकम्प र नाकाबन्दीका कारण ढिलो भयो। बाटो पहिले साढे पाँच मिटर चौडा थियो। सात मिटर विस्तार गरेर ११ मिटर चौडा बनाएर पिच गरिएको थियो।

यो सडकखण्ड वैशाख १२ मा गएको महाभूकम्पका कारण दिन थिलथिलो भएको थियो। विस्तारको काम गर्न थालेपछि पहिरो जान थाल्यो। सवारीसाधन जुनसुकै बेला पहिरोमा पर्ने जोखिम छ।

किन जान्छ पहिरो?

मुग्लिन–नारायणगढ सडकमा पहिरो जानुको मूल कारण भौगोलिक संरचना नै हो। सडक खण्ड प्राकृतिक रूपमा नै अस्थिर, कमजोर भू–बनोट भएको क्षेत्रमा पर्छ। तर, निर्माणको क्रममा यो संवेदनशीलता गम्भीरतापूर्वक विचार गरिएन।

भूगर्भविद डा. रञ्जनकुमार दाहाल भन्छन्, “कमजोर भू-बनोट रहेको क्षेत्रमा सडक बनाउँदा भित्तामा दर्बिलो रोकथामको उपाय अपनाउन नसक्दा यस्तो भएको हो, कुनै दिन ठूलै समस्या निम्तिन सक्छ।”

दाहालको अध्ययन अनुसार मुग्लिन-नारायणगढ खण्डको ६० प्रतिशत भाग ठूलो भीमकाय पहिरोको फेदमा छ। भीमकाय पहिरो भनेको पुरानो पहिरो विस्तारै-विस्तारै बगिरहने समस्या हो। भौगोलिक अवस्था अनुसार भीमकाय पहिरो सुसुप्त अवस्थामा हुन्छ। दाहालका अनुसार सडक निर्माण गर्दा दह्रो पर्खाल लगाएर छेक्न नसके बगेर तल आउँछ। कहिलेकाहीँ नदी नै थुन्नेगरी विपद् निम्तिन सक्ने दाहाल बताउँछन्। “निर्माण गर्दा जसरी यो भू-भागको संवेदनशीलता ख्याल नगरी कोट्याइयो, त्यसले सडक आसपासको क्षेत्र झन् थिलथिलो बन्यो,” उनी भन्छन्, “नेपालमा भीमकाय पहिरोको अध्ययन निकै कम मात्रामा हुन्छ, धेरै प्राविधिकलाई यसबारे पर्याप्त ज्ञान पनि छैन।”

तस्बिर : विनोद श्रेष्ठ

सरकारले परम्परागत भौगर्भिक अध्ययनमा आधारित भएर बाटो खनेकाले समस्या निम्तिएको दाहाल बताउँछन्। मुग्लिन-नारायणगढको भौगर्भिक अवस्था थाहा पाएर पनि सरकारले बेवास्ता गरेको दाहाल बताउँछन्।

चितवन सडक डिभिजनका प्रमुख घिमिरे कमजोर भौगर्भिक अध्ययनका कारण समस्या निम्तिएको स्वीकार्छन्। “तत्कालका लागि पहिरो रोक्न कदम चाल्ने हो, दीर्घकालीन समाधानका लागि सरकारले पहल गर्नुपर्छ,” उनी भन्छन्।

मुग्लिन-नारायणगढ सडक फराकिलो पार्ने क्रममा थालिएको सुरुआत नै त्रुटिपूर्ण रहेको दाबी दाहालको छ। बाटो खन्नुअघि भू-इन्जिनियरिङको अध्ययन अत्यन्तै कम भएको उनी बताउँछन्। दाहालको भनाइअनुसार भीमकाय पहिरो भएको ठाउँमा भू-इन्जिनियरिङको अध्ययन गर्दा परम्परागत भौगर्भिक अध्ययनले पुग्दैन। भीमकाय पहिरोमा चट्टान सग्लो नै भेटिन्छन् र माटो पनि त्यति नै हुन्छ।

सग्लो चट्टानले देखिँदा प्राविधिक झुक्किन सक्छन्। भौगर्भिक संरचना तथा कडा चट्टान भएको ठाउँ भनेर त्यसै अनुसारको भिरालो भागको व्यवस्थापन गर्ने डिजाइन तयार गरिछ। “एक-दुई ठाउँको भू-बनोट हेरेर सबै ठीक छ भनी टालटुले अध्ययन गरी सडक बनाइएको छ,” उनी भन्छन्।

जब सडकको लागि भित्ता कटान थालियो, भीमकाय पहिरोहरूको भित्री भागमा रहेको र माथिल्लो भागमा रहेका धुजाधुजा परेका चट्टानहरू बग्न थाले। त्यतिबेलै बलियो पर्खाल लगाएर ढुंगा-माटो रोक्ने प्रयास गरिएन। मुग्लिन खण्डमा पहिले सडक पहाड ताछेर मात्र बनाइएको थियो। पछि पुरानो भीमकाय पहिरोको फेद काटेर बनाइएको दाहाल बताउँछन्।

के हो दीर्घकालीन समाधान?

सडक विभागले मुग्लिन-नारायणगढ सडकको समस्याबारे खासै चासो राखेको छैन। “पहिरो गएको ठाउँलाई मजबुत पार्नेबाहेक अहिले विकल्प खोजिएको छैन,” विभागका प्रवक्ता प्रभातकुमार झा भन्छन्।

भूगर्भविद् दाहाल तत्कालका लागि जहाँ-जहाँ पहिरो खसेको छ, ती क्षेत्रमा पर्खाल लगाएर बाटो खुलाउनुपर्छ। तर, स्थायी समाधान भने सुरुङ मार्ग रहेको उनी बताउँछन्। यो खण्डमा धेरै पहिरो जाने क्षेत्र मुग्लिन-जलबिरे र जलबिरे-कालीखोला हो। मुग्लिन-जलबिरे ४ किलोमिटर र जलबिरे-कालीखोला २.८ किलोमिटर छ। ती दुवै ठाउँमा सुरुङ मार्ग बनाउन सकिने दाहाल बताउँछन्।

“त्रिशूलीको वारिपारि दुवैतिरको भू-बनोट उस्तै भएकाले पारिपट्टि सडक खनेर समाधान निस्किँदैन,” उनी भन्छन्। जुगेडी खोला करिब डेढ किलोमिटर माथिबाट दुई लेनको सुरुङ खन्न सकिने उनी बताउँछन्।

सुरुङ खन्दा खर्च भने महँगो हुन जान्छ। एक किलोमिटर सुरुङ खन्न पाँच अर्ब रुपैयाँ लाग्ने दाहाल बताउँछन्। “अहिले यो सडक १८ घण्टा जाम हुँदा सरकारलाई २१ करोड रुपैयाँ घाटा छ, यस्तो घाटा कति भइसक्यो,” दाहाल भन्छन्, “घाटा बेहोरिरहनुभन्दा सुरुङ खन्नु उत्तम हो।”