काठमाडौँ
००:००:००
८ श्रावण २०८३, शुक्रबार

८ श्रावण २०८३
तस्बिर: रोयटर्स/एएनआई
अ+
अ-

पेरिस । फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ। बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउने उद्देश्यसहित ल्याइएको यो प्रस्तावलाई राष्ट्रपति इम्यानुएल म्याक्रोँले समर्थन गरेका छन्। एएफपीका अनुसार संसद्ले नयाँ वर्षदेखि यस विषयमा बहस सुरु गर्ने अपेक्षा गरिएको छ।

यसअघि अस्ट्रेलियाले पनि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन पारित गरिसकेको छ।

फ्रान्स सरकारले तयार पारेको मस्यौदामा किशोरकिशोरीहरूले डिजिटल स्क्रिनको अत्यधिक प्रयोगका कारण विभिन्न स्वास्थ्य तथा सामाजिक जोखिम सामना गरिरहेको उल्लेख गरिएको छ।

अनियन्त्रित अनलाइन पहुँचका कारण बालबालिका अनुपयुक्त सामग्रीको सम्पर्कमा आउने, साइबर उत्पीडनको सिकार बन्ने तथा उनीहरूको निद्राको ढाँचामा नकारात्मक असर पर्ने अध्ययनहरूले देखाएको मस्यौदामा उल्लेख छ।

प्रस्तावमा दुई प्रमुख व्यवस्था समावेश छन्। पहिलो, १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्ममा पहुँच उपलब्ध गराउनु गैरकानुनी ठहरिनेछ। दोस्रो, माध्यमिक विद्यालयहरूमा मोबाइल फोनको प्रयोगमा थप कडाइ गर्ने व्यवस्था गरिएको छ।

राष्ट्रपति म्याक्रोँले नाबालिगहरूको डिजिटल सुरक्षालाई आफ्नो सरकारको प्राथमिकतामध्ये एक भएको बताएका छन्। यद्यपि, प्रस्तावको कार्यान्वयन र अन्तर्राष्ट्रिय कानुनसँगको अनुकूलता सम्बन्धी विषयमा थप छलफल आवश्यक रहेको उनको भनाइ छ।

फ्रान्समा सन् २०१८ देखि प्राथमिक र निम्न माध्यमिक विद्यालयहरूमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लागू भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन्छ।

यसअघि फ्रान्सले सन् २०२३ मा १५ वर्षलाई ‘डिजिटल कानुनी उमेर’ निर्धारण गर्ने व्यवस्था पारित गरेको थियो। नयाँ प्रस्तावले त्यस व्यवस्थालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यसैबीच, फ्रान्सको माथिल्लो सदन सिनेटले १३ देखि १६ वर्ष उमेरका किशोरकिशोरीले सामाजिक सञ्जालमा दर्ता हुनुअघि अभिभावकको अनुमति अनिवार्य गर्ने प्रस्ताव पनि पारित गरेको छ। उक्त प्रस्ताव अहिले राष्ट्रिय सभामा विचाराधीन रहेको छ। राष्ट्रिय सभाबाट अनुमोदन भएपछि मात्र यो कानुनका रूपमा लागू हुनेछ।