काठमाडौँ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशको सत्ता गठबन्धन गर्न सहमति जुटेको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच प्रदेशमा गठबन्धन गर्ने विषयमा शनिबार तीनबुँदे सहमति भएको छ। दुई दलबीच प्रदेश सरकार गठन र नेतृत्व बाँडफाँटबारे सहमति जुटेको हो।
दुवै दलबीच भएको लिखित सहमतिअनुसार प्रदेशसभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने निर्णय गरिएको छ। सहमतिपत्रमा कोसी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व माओवादी केन्द्रले गर्ने उल्लेख छ।
मधेस र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा भने अन्य दलसँग परामर्श गरेर नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति भएको छ।
सहमतिमा पछिल्लो समय प्रदेशसभामा देखिएका असमझदारी, बजेट निर्माणका विवाद तथा राजनीतिक प्रतिस्पर्धाबाट उत्पन्न समस्या समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन र विकासलाई गति दिने उद्देश्य राखिएको उल्लेख गरिएको छ। सहमतिपत्रमा एमाले अध्यक्ष ओली र नेकपा संयोजक दाहालले हस्ताक्षर गरेका छन्।
