काठमाडौँ
००:००:००
११ श्रावण २०८३, सोमबार

११ श्रावण २०८३
गोली लागेर घाइते भएकाहरुको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार गरिदै ।
अ+
अ-

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडपमा परी घाइते भएका ९ जना सर्वसाधारणको शरीरमा गोली लागेको पाइएको छ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगन्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने अन्य ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर गम्भीर घाइते भएका मेहतालाई आइतबार राति ११ः२५ बजे विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

को–को हुन् घाइते ?

प्रहरीका अनुसार झडपमा परी २२ जना घाइते भएका छन्। घाइतेमध्ये ९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी (८ नेपाल प्रहरी र ५ सशस्त्र प्रहरी) छन्। घाइते ९ जना सर्वसाधारणकै शरीरका विभिन्न भागमा गोली लागेको छ।

विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत जयप्रकाश मेहताको पेटमा लागेको गोली शल्यक्रिया गरी निकालिएको छ। सोही अस्पतालमा उपचाररत मिथलेश मेहताको पेटको बायाँ भागमा, हरेराम यादवको देब्रे तिघ्रामा र अमलेश मेहताको ढाड तथा गर्धनमा गोली लागेको छ।

न्युरो अस्पतालका सर्जन डा. सुदीप खनियाले एक जनाको शल्यक्रिया गरिएको र उनको शरीरबाट बुलेट निकालिएको पुष्टि गरे। “यहाँ उपचाररत अन्य घाइतेहरूको चोट हेर्दा पनि बुलेट जस्तै देखिन्छ। विस्तृत रिपोर्ट आएपछि थप प्रष्ट हुन्छ,” उनले भने।

त्यस्तै, विराट नर्सिङ होममा उपचाररत रविन्द्र मेहताको देब्रे तिघ्रामा गोली लागेको छ। उनलाई आईसीयूमा राखिएको छ। सोही अस्पतालमा उपचाररत अमित कुमार यादवको कम्मरमुनि, सुनिल कुमार मेहताको बायाँ पाखुरामा र सुनिल मेहताको देब्रे पिँडुलामा गोली लागेको छ।

अर्का घाइते अमित यादवको पेट र देब्रे हातमा गोली लागेकाले नोबेल अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

घाइतेमध्येका मिथलेश मेहता स्थानीय अमरसिंह माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्। छोरालाई गोली लागेको खबर पाएपछि अस्पताल पुगेका उनका बुबा दिलीप मेहताले भने, “छोरा एक्लो सन्तान हो। उसको पेटमा गोली लागेको रहेछ, अहिले अप्रेसन गरिएको छ।”

विवादको जड : बोलबम र डीजे

साउने सोमबारका लागि बोलबम यात्रामा निस्कन लागेको एउटा समूहले डीजे बजाएको विषयलाई लिएर आइतबार राति करिब ९ बजे दुई पक्षबीच विवाद सुरु भएको थियो।

सामान्य भनाभनबाट सुरु भएको विवाद छोटो समयमै उग्र बनेपछि दुवै पक्षबाट लाठी, ढुंगा र भाला प्रहार भएको थियो। उत्तेजित भिडले स्थानीय घर, मेडिकल पसल र सवारीसाधनमा तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेपछि कप्तानगन्ज बजार क्षेत्र तनावग्रस्त बनेको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो। तर भिड सुरक्षाकर्मीमाथि नै जाइलागेपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो।

सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार नेपाल प्रहरीले ३ राउन्ड र सशस्त्र प्रहरीले २२ राउन्ड हवाई फायर गरेका थिए।

झडपमा इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर राकेश राईको टाउकोमा गम्भीर चोट लागेको छ।