काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

जनस्वास्थ्य

स्वास्थ्य संकट थप्दै तारेका खान्की

१२ आश्विन २०८२
तस्बिर- नेपालन्युज।
अ+
अ-

२९ भदौ २०८१ मा खाद्य तथा गुण नियन्त्रण विभागको टोली अनुगमनका क्रममा सिनामंगलस्थित प्राप्ति फुड प्रोडक्ट्स पुग्यो। टोलीले उद्योगको भण्डारण कक्षबाट गुणस्तरहीन घिउ फेला पार्‍यो। विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार उद्योगमा लेबल नलगाइएको ३० लिटर डब्बा घिउ, ३० किलोग्राम नौनी र ५० लिटर तयारी घिउ भेटिएको थियो। विभागले उद्योगका सञ्चालकलाई गुणस्तरमा सुधार गर्न चेतावनी दिएर छोड्यो।

विभागको टोली गोदावरी नगरपालिका–११ ललितपुरको प्रशंसा कलेक्सन एन्ड रिफाइन प्रशोधन केन्द्रको अनुगमनमा पुग्दा झन् डरलाग्दो दृश्य देखियो। त्यहाँ वनस्पति घिउलाई खिया लागेको ड्रममा तताएर ‘शुद्ध’ भन्दै सञ्चालकले बिक्री गरिरहेका थिए।

अर्कोपटक विभागको टोली भक्तपुर, सल्लाघारी क्रन्ची फ्राइड चिकेन बर्गर हाउस पुग्दा खानेकुरा तार्न प्रयोग गरिएको तेल गुणस्तरहीन भेटियो। उपभोक्ताको स्वास्थ्यका लागि हानिकारक तेल प्रयोग भएको पाइएपछि विभागले पकाएको खानेकुरा नष्ट गरेर सञ्चालकलाई पाँच दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दियो।

खाद्य तथा गुण नियन्त्रण विभागको मापदण्डअनुसार पकाइरहेको तेलको टीपीएम (पुनः प्रयोग गरिएको वा प्रयोगमा आएको तेलको गुणस्तर) भ्यालु २५ भन्दा बढी हुनु हुँदैन। तर, विभागले बालाजुस्थित बालाजु बर्गर हाउस अनुगमन गर्दा खानेकुरा तार्न प्रयोग गरिएको तेलमा ३६.५ टीपीएम भ्यालु भेटेको प्रवक्ता महर्जन बताउँछन्। काठमाडौँको एयरपोर्टस्थित एयरपोर्ट बर्गर हाउस एन्ड थकाली किचेन प्रालिमा पनि तार्न ठिक्क राखिएको २५ लिटर तेलमा टीपीएम भ्यालु ३३ देखिएको थियो।

भक्तपुरको द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनमा त पटक पटक एउटै तेलमा खानेकुरा तारेको र तार्न प्रयोग गरिएको तेल गुणस्तरहीन भेटिएको थियो। पुरानो सिनामंगलमा रहेको दाउरा थकालीमा टीपीएम भ्यालु २६ भएको तेल प्रयोग गरिएको र एकपटक प्रयोग गरिएको तेलमा पुनः खानेकुरा तारिएको परीक्षणका क्रममा भेटिएको थियो। ७ कात्तिकदेखि पुस मसान्त २०८१ सम्म हामीले पसल तथा उद्योगहरूमा अनुगमन गरी खाद्यवस्तुको नमुना परीक्षण गरेका थियौँ,” महर्जन भन्छन्।

बेलाबेला विभागको टोलीले गर्ने यस्तो अनुगमनमा संकलित नमुनाले रेस्टुराँ र क्याफेमा बन्ने खानाको गुणस्तर ज्यादै कमजोर रहेको तथ्य उजागर गर्छन्। अहिले पनि सहरी क्षेत्रका अधिकांश खानाघरको अवस्था योभन्दा भिन्न छैन। विभागले ३ फागुन २०८१ मा काठमाडौँ उपत्यकाबाहिरका जिल्लामा होटल, रेस्टुराँ, मिठाई पसल र तेल उद्योगहरूको अनुगमन गर्दा पनि खानेकुरा तार्न प्रयोग गरिएको तेल अर्धप्रशोधित, लेबल नलगाइएको, राम्रोसँग भण्डारण नगरिएको र पटक पटक प्रयोग गरिएको भेटेको थियो।

तीनपटकभन्दा बढी एउटै तेलमा तारेका खानेकुरा स्वास्थ्यका लागि ज्यादै हानिकारक हुन्छन्। तर, सहरका कैयौँ होटल, रेस्टुराँ तथा खाजा पसलका लागि यसो गर्नु सामान्य भएको छ।

होटल, रेस्टुराँ, खाजा पसल तथा खुला रूपमा ठेलामा पकाएर बिक्री गरिने खानेकुराको गुणस्तर कमसल मात्र छैन, त्यसले स्वास्थ्यमा नै जोखिम थपिरहेको छ। व्यवसायीहरूले खानेकुरा पकाउँदा लेबल नभएको र कमसल गुणस्तरको तेल प्रयोग गर्ने गरेको भेटिन्छ। एकपटक तताइएको तेल अरू खानेकुरा पकाउँदा धेरैपल्ट प्रयोग हुने गरेको छ, जसले उपभोक्ताको स्वास्थ्यमा जोखिम निम्त्याइरहेको स्वास्थ्यसम्बन्धी अनुसन्धानले समेत देखाउँछ।

एउटै तेलमा तीनपटकभन्दा बढी तारेको खानेकुरा स्वास्थ्यका लागि ज्यादै हानिकारक हुन्छ। तर, सहरका कैयौँ होटल, रेस्टुराँ तथा खाजा पसलका लागि यसो गर्नु सामान्य जस्तै हो। खाद्य तथा गुण नियन्त्रण विभागको अनुगमन प्रतिवेदन, २०८१ मा साना पसलदेखि तारे होटलसम्म एउटै तेलमा पटक पटक खानेकुरा तार्ने गरेको तथ्य उजागर गरिएको छ। तर, यो समस्या साना खाजा पसल, ठेला र होटल रेस्टुराँहरूमा बढी मात्रामा भेटिएको छ। ती होटल, रेस्टुराँ तथा पसलहरूमा गुणस्तरहीन खानेकुराको बिक्री मात्रै होइन, सरसफाइसमेत कमजोर छ। राजमार्गका होटल तथा रेस्टुराँहरूमा पनि खानेकुरा बनाउँदा निम्न कोटिको तेल प्रयोग गरिन्छ।

पछिल्लो समय व्यस्त जीवनशैलीका कारण होटल, रेस्टुराँ र खाजा पसलमा खान जानेको संख्या बढिरहेको छ। तर, त्यहाँ पकाइने खानेकुराको गुणस्तर कमजोर भएको अनुगमनमा भेटिएको तथ्यले पुष्टि गरेको छ। खाद्य स्वच्छन्दता तथा गुणस्तर ऐन, २०८१ को दफा १६ मा न्यून गुणस्तरका खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्रीवितरण गर्न/गराउन पाइँदैन। तर, खाद्य तथा गुण नियन्त्रण विभागले गरेको अनुगमन तथा परीक्षण प्रतिवेदन हेर्दा व्यवसायीहरूले कानुनविपरीत सामानको बिक्री गरेको देखिन्छ। यस्तो खानेकुराले नसर्ने रोगको जोखिम बढाएको छ। मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्छन्, “पछिल्लो समय अत्यधिक तेल र गुलियो प्रयोग गरिएका खानेकुराले स्वास्थ्यमा समस्या परेर अस्पताल आउनेको लर्को नै लागेको छ भन्दा हुन्छ।”

विश्व स्वास्थ्य संगठनको एसटीईपीएस सर्वे, २०१९ ले भन्छ– नेपालमा २६ प्रतिशतभन्दा बढी वयस्कले तयारी खानेकुरा (फास्ट फुड) खान्छन्। तयारी खानेकुरामा खराब चिल्लो पदार्थ (ट्रान्सफ्याट)को मात्रा बढी हुन्छ।

नेपाल डायटेरी सर्भेले सहरी क्षेत्रमा अत्यधिक मात्रामा फास्टफुड र कमसल तेलको प्रयोग गरिएको देखाउँछ। नियमित खाने तेल पनि धेरै समय तताए ट्रान्सफ्याट बन्छ, जुन स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ। नेपालमा उत्पादन र प्रयोग गरिने तेलमा ट्रान्सफ्याट हुने गरेको पाइएको छ। वनस्पति घिउ र विभिन्न ब्रान्डका तेलमा ट्रान्सफ्याट बढी हुन्छ।

ट्रान्सफ्याट भनेको औद्योगिक प्रक्रियामार्फत वनस्पति तेललाई ठोस वनस्पति घिउमा मर्जाटिन प्रयोग गर्दा बन्ने हानिकारक बोसो हो। खाद्य पदार्थलाई लामो समयसम्म टिकाउन, स्वाद र बनावटमा सुधार गर्न यसको प्रयोग गरिन्छ। तर, विश्व स्वास्थ्य संगठनले यसलाई खतरनाक बोसोका रूपमा वर्गीकरण गरेको छ। यसले हृदयाघात, उच्च रक्तचाप, क्यान्सर, मधुमेहजस्ता रोग बढाउँछ। ट्रान्सफ्याटका कारण नेपालमा दम, मुटु, मिर्गौला, मधुमेह, पक्षाघात, क्यान्सरलगायत नसर्ने रोगबाट प्रभावित हुनेहरूको संख्या बढिरहेको छ।

पत्रु खानाले बढायो नसर्ने रोग

नेपालमा नसर्ने रोगहरूको प्रकोप बढ्दै गएको छ। सन् २०१९ मा गरिएको एसटीईपीएस सर्वेक्षणअनुसार कुल मृत्युको ७१.१ प्रतिशत नसर्ने रोगका कारण भएको थियो, जुन २०१५ मा ६३.७ प्रतिशत थियो। कुल मृत्युदरको २४ प्रतिशत मुटु र रक्तनलीसम्बन्धी रोगहरू, १६.३ प्रतिशत दीर्घकालीन फोक्सोसम्बन्धी रोगहरू र ११.९ प्रतिशत क्यान्सर कारक छ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१६ देखि २०१८ सम्म समुदायकेन्द्रित सर्वेक्षण गरेको थियो। सन् २०१९ मा प्रकाशित सर्वेक्षणअनुसार नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगबाट भएको छ।

सरकारी तथ्यांकअनुसार नसर्ने रोगमध्ये पहिलो मुटुरोग, दोस्रो श्वासप्रश्वास र तेस्रो क्यान्सरका कारण मृत्यु हुन्छ। ३० वर्षअघि सरुवा रोगबाट मृत्यु हुनेको संख्यालाई अहिले नसर्ने रोगले उछिनेको छ। नेपालमा पछिल्ला वर्षमा नसर्ने रोगको प्रकोप बढ्नु चिन्ताको विषय बनेको जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन्। “अस्वस्थ जीवनशैली र ट्रान्सफ्याटयुक्त तयारी खानेकुराको बढी प्रयोगले मान्छेमा उच्च रक्तचाप, मधुमेहजस्ता रोग बढिरहेका छन्,” उनी भन्छन्।

वन्तका अनुसार नसर्ने रोग जीवनशैलीसँग सम्बन्धित भएकाले खानपान र शारीरिक व्यायाममा ध्यान दिएमा मात्र न्यून गर्न सकिन्छ।  पुराना सरुवा रोग पूर्णरूपमा नियन्त्रणमा आएसँगै विकसित देशहरू अब नसर्ने रोगको रोकथाम तथा उपचारमा केन्द्रित छन्। तर, नेपाल सरुवा रोगसँगै नसर्ने रोगको दोहोरो मारमा परेको वन्त बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नसर्ने तथा मानसिक रोग शाखाका प्रमुख फणीन्द्र बरालले पछिल्लो समय नसर्ने रोग बढेकाले यसको उपचार सहज बनाउन प्रदेशस्तरमा उपचार केन्द्रको स्थापना गर्ने रणनीति बनाएको बताउँछन्। “अखाद्य खानेकुराका कारण नसर्ने रोग बढेपछि यसको नियन्त्रणका लागि कदम चालिरहेका छौँ,” उनी भन्छन्।

मुख्य कारक बन्दै मुटु रोग

नेपालमा हृदयरोग (मुटुरोग)का ६० लाख बिरामी छन्। यो रोगका कारण वार्षिक ४६ हजार ३९९ नेपालीको मृत्यु हुने गरेको छ। नसर्ने रोगबाट मृत्यु भएकामध्ये सबैभन्दा बढी मुटुरोगका छन्। चिकित्सकहरूका अनुसार चिल्लो पदार्थलाई धेरैपटक तताएपछि बन्ने खराब चिल्लो पदार्थ (ट्रान्सफ्याट)बाट बनेको खानेकुराले हृदयाघातको सम्भावना अत्यधिक बढाउँछ।

पछिल्लो समय युवावयमै मुटुरोग तथा हृदयाघात देखिनुमा खराब चिल्लो पदार्थ नै प्रमुख कारण भएको मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन्। “बजारमा पाइने तयारी तथा प्याकेटका खानेकुरा, बिस्कुट, तयारी चाउचाउ, पेय पदार्थ, चकलेट, केक, कुकिज आदि ट्रान्सफ्याटयुक्त पत्रु खानेकुरा हुन्। ट्रान्सफ्याटले नराम्रो कोलेस्ट्रोल उत्पादन गर्छ र मुटुका भल्भहरू बन्द हुने सम्भावना बढाउँछ। मुटुरोग र हृदयाघातबाट बच्न, बचाउन ट्रान्सफ्याटलाई नियन्त्रण गर्नुपर्छ,” डा. रेग्मी भन्छन्।

गुलियो पदार्थ, पेय पदार्थ, चिल्लो पदार्थलगायतले नसर्ने रोग बढाएका छन्। गुलियो पदार्थमा चिनी मात्र नभई प्रशोधित कार्बोहाइड्रेट, मैदा, मैदाबाट बनेका परिकार पनि पर्छन्।

धेरै कार्बोहाइड्रेट, प्रशोधन गरेको कार्बोहाइड्रेट र चिनीको प्रयोगले मोटोपनको समस्या बढ्ने देखिएको छ। चिल्लोभन्दा पनि गुलियो पदार्थ मुटुका लागि धेरै खतरनाक छ भनेर विभिन्न अनुसन्धानले देखाएका छन्। डा. रेग्मीका अनुसार मुटुरोगबाट मृत्यु हुनेको संख्या बढ्नुको प्रमुख कारण ट्रान्सफ्याट पनि हो। बढी मात्रामा बाहिरको तयारी खानेकुरा युवाले नै खाने भएकाले उनीहरूमा यो रोग बढेको डा.रेग्मीको भनाइ छ। उनी भन्छन्, “हृदयाघातबाट मृत्यु हुने युवाको संख्या ५० प्रतिशत छ। कारण यस्तै खानेकुरा हो।”

न मापदण्ड, न अनुगमन

विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त पहलमा २०२२–२३ मा गरिएको अध्ययनले नेपालको ट्रान्सफ्याटको सेवन, अवस्था र नियन्त्रणको तथ्य उजागर गरेको थियो। उक्त अध्ययनमा पनि एउटै तेलमा पटक पटक खानेकुरा पकाइएको, तार्ने गरिएको, पकाउन तथा बिक्रीका लागि लेबल नभएको सस्तो तेलको प्रयोग गरिएको र बिक्री गरिने सामानमा ट्रान्सफ्याटको मात्रा बढी भएको उल्लेख छ। अध्ययनपछि औद्योगिक ट्रान्सफ्याट प्रयोगसम्बन्धी मापदण्ड (२०८०) पनि बनाइएको थियो। मापदण्डमा खानामा चिल्लो पदार्थ दुई प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख छ।

मापदण्ड भए पनि रेस्टुराँ, होटल, मिठाई पसल, प्याकेटका खानेकुरामा कति ट्रान्सफ्याटको प्रयोग छ भनी नियमित अनुगमन हुन सकेको छैन। मापदण्डमा प्रत्येक खानेकुरामा लेबलिङ गर्नुपर्छ भनिएको छ। ट्रान्सफ्याटको मात्रा लेखिएको हुनुपर्छ भनिएको छ। तर, बजारमा लेबलिङ गरेको नभेटिएको उपभोक्ता अधिकारकर्मी विष्णु तिमिल्सिना बताउँछन्।  “डढेको चिल्लो कति छ भनेर परीक्षण गरिन्छ। त्यो कत्तिको स्वस्थकर छ भन्ने कुरा परीक्षण भएको छैन,” उनी भन्छन्। तिमिल्सिना तारे होटलमा पकाउन तथा तार्न प्रयोग गरिएको तेल साना खाजा पसल र ठेला पसलमा खानेकुरा तार्न प्रयोग गरिने गरेको भेटिएको बताए। उनी भन्छन्, “बजारमा पाइने तयारी र पकाएको खानेकुराको गुणस्तर छैन, यस्ता खानेकुराको बिक्री भए पनि प्रभावकारी अनुगमन छैन।”

खाद्य तथा गुण नियन्त्रण विभागका प्रवक्ता श्रेष्ठ खाजा पसल, होटल, रेस्टुराँहरूमा पकाइने तथा बिक्री गरिने खानेकुराको परीक्षण नियमित हुन नसकेको स्वीकार गर्छन्। नियमित अनुगमन हुन नसकेका कारण ट्रान्सफ्याटलगायत अखाद्य वस्तुको प्रयोग र नियन्त्रणमा चुनौती भएको उनको भनाइ छ। गुलियो पदार्थको नियन्त्रणका लागि मापदण्ड भने अहिलेसम्म बन्न सकेको छैन।

नसर्ने रोगको महामारीलाई संयुक्त राष्ट्रसंघले महामारीसरह मान्यता दिएको छ। यस विषयलाई दिगो विकासअन्तर्गतको दिगो विकास लक्ष्यमा समेटिएको छ। जसमा नसर्ने रोगका कारण समयअगावै हुने मृत्युलाई रोकथाम र उपचारमार्फत घटाउनु र मानसिक स्वास्थ्य तथा कल्याण प्रवर्द्धन गर्नु हो भनी उल्लेख गरिएको छ।

सरकारले नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनासमेत बनाएको छ। नसर्ने रोगको जोखिम कम गर्नकै लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अध्यक्षतामा नसर्ने रोग व्यवस्थापन समिति गठन भएको छ। त्यस्तै, विश्व स्वास्थ्य संगठनले दक्षिण-पूर्वी एसियाली क्षेत्रमा नसर्ने रोगविरुद्ध लड्न बृहत् रणनीति मस्यौदा तयार गरिसकेको मन्त्रालयका नसर्ने तथा मानसिक रोग शाखाका प्रमुख बराल बताउँछन्।