काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

अनुभूति

ती जो थिए घरको जगमा पुरिएका इँट तथा पत्थरझैँ अनाम गुमनाम, ती थिए कर्मनिष्ठ र सही मानेमा कम्युनिस्ट जो एकादेशको धरानमा संघर्षरत थिए एउटा सुनौलो भविष्य निर्माणका लागि।

१३ आश्विन २०८२
अ+
अ-

दुई वर्षअघिको दसैँमा हिमालखबर डटकममा मैले एउटा संस्मरणात्मक लेख लेखेको थिएँ- ‘बाँच्न गाह्रो कम्युनिस्ट पुत्र भएर’ शीर्षकमा । मलाई अंकल भन्ने एक जना युवाले मैले लेखेका कुरा पढ्ने इच्छा जाहेर गरेकाले त्यो लेख उसलाई पठाइदिएँ ह्वाट्स एपमा। दुईचार सातापछि ऊसित भेट हुँदा मेरो लेखबारे उसको राय सोधेँ। उसले लेख पढेकोमा पहिले मलाई शंका त थियो, तर उसले साँच्चिकै पढेको रहेछ। मेरा बालाई उपचारका लागि भारतको सिलिगुडी लैजानुपरेको र बा त्यहीँ बितेको। बा कम्युनिस्ट भएकै कारण हाम्रो पूरै परिवारले दुःख झेल्नुपरेको। उसले लेख पढेको प्रमाणस्वरूप बतायो। अनि उसले एउटा कुरा पनि थप्यो, “तर अचेल कम्युनिस्ट भनेपछि त बदमास, फटाहा, कमिसनखोर भन्ने बुझिन्छ। कम्युनिस्ट त धेरै धनी भएका छन् अंकल!”

त्यसो भन्ने तन्नेरी मेरो छोराकै मित्रमण्डलीभित्रै पर्छ। उनीहरूका पुस्तालाई अहिले चलेको चलनअनुसार ‘वाई’ (अथवा ‘मिलेनियल’) पुस्ता भनिन्छ। कम्युनिस्टहरूप्रति त्यस ‘वाई’ पुस्ताको धारणा त उसको भनाइबाट प्रस्ट भइहाल्यो। अहिले आन्दोलन गरेर सरकार पल्टाउने ‘जेड’ (अमेरिकीहरू त्यसलाई ‘जी’ उच्चारण गर्छन्) पुस्ता कम्युनिस्टहरूलाई कुन आँखाले हेर्छ त्यो त आन्दोलनको क्रममा आगो झोसिएका निजी घरहरूमा धेरैजसो कम्युनिस्ट नेताहरूको परेबाट नै बुझ्न सकिन्छ।

अनि मैले लेखक कुमार नगरकोटीलाई सम्झेँ जो मेरो हिसाबमा ‘एक्स’ पुस्तामा पर्छन्। उनले लेखेका यी हरफहरू सम्झेः

 मान्छेहरू एमालेलाई नेपालको कम्युनिस्ट पार्टी भन्दा रै’छन्। छक्क पर्छु। जुन पार्टीमा एनजिओज, स्टक ब्रोकर्स, ठेकेदार्स एवम् नवबुर्जुवाको हालीमुहाली छ त्यो पार्टी कम्युनिस्ट पार्टी? हद होती है जनाब! आप भी कमाल करते हैँ नेकपा साहेब। हम गरिबोँ से मजाक करते हैँ।

कुमारको यो टिप्पणी १९ पुस २०७६ मा कान्तिपुरको कोसेलीमा छापिएको ‘चंगाजस्तो मन आकाशगंगातिर उडिजान्छ’ शीर्षक लेखमा परेको थियो। कुमारले एउटा खास पार्टीको नाउ लिए पनि नेपालका कम्युनिस्ट नामधारी अरू पार्टीहरूको हकमा पनि यो टिप्पणी साह्रै बेठीक ठहरिँदैन।

कम्युनिस्ट भनेर चिनिएकाहरूप्रति ‘एक्स’ र ‘वाई’ पुस्ताको धारणा माथि पढिहाल्यौँ र ‘जेड’ (वा ‘जी’) पुस्ताको व्यवहार उनीहरूले गरेको अग्निदाहमा देखिहाल्यौँ।

नभन्दै महँगा कार चढ्ने, आलिसान महलमा बस्ने, करोडौँमा खेल्ने र फाइभस्टार घटीको होटेलमा नजाने भएका छन् कम्युनिस्ट भनाउँदाहरू अहिले। जसलाई उनीहरू दलाल पुँजीपति भनेर मुखले दुत्कार्छन् उनीहरू आफैँ त्यसैमा रूपान्तरित भएका छन्। बाहिर जनवादको नारा लगाउँदै आफूलाई सर्वहारा भन्छन् भित्रभित्रै धनवादको अर्जक सहारा बन्छन्। उनीहरूको यस दोगला चरित्र तथा पाखन्डप्रति ‘एक्स’, ‘वाई’ र ‘जेड’ पुस्ताको क्षोभ, आक्रोश, घृणा उम्लनु आश्चर्यको कुरा होइन। आखिर उनीहरूले कमाउनिस्ट उपाधि त्यसै पाएका होइनन्।

पश्चिमाहरूले ‘बेबी बुमर्स’ नाउ दिएको मेरो पुस्ताले देखेको कम्युनिस्टहरू भने अर्कै खालका थिए। कण्टकमय छ भनेर जान्दाजान्दै राजकुमार दिक्पालले जस्तै तिनले त्यही बाटो समातेका थिए। गरिबदुःखी र निमुखाका आवाज बनेका थिए र उनीहरूको हकहितका निम्ति समर्पित थिए ती। निजी स्वार्थ त्यागेर सामूहिक स्वार्थ अँगालेका थिए। उनीहरूले खोजेको न्याय, समानता, भातृत्वमा आधारित खुसहाल दुनियाँ मलाई एक सुन्दर सपनाजस्तो लाग्थ्यो। (हुन त अहिले पनि त्यो सपना नै छ।) जुन समयमा म हुर्किरहेको थिएँ, मैले देखेका कम्युनिस्टहरू यस्तै थिए।

पश्चिमाहरूले ‘बेबी बुमर्स’ नाउ दिएको मेरो पुस्ताले देखेको कम्युनिस्टहरू भने अर्कै खालका थिए। कण्टकमय छ भनेर जान्दाजान्दै राजकुमार दिक्पालले जस्तै तिनले त्यही बाटो समातेका थिए। गरिबदुःखी र निमुखाका आवाज बनेका थिए र उनीहरूको हकहितका निम्ति समर्पित थिए।

यो म हुर्केबढेको एकादेशको धरानको कुरा हो जहाँ मैले बाल्यकालदेखि नै कम्युनिस्ट सिद्धान्त अँगालेका, कम्युनिस्ट पार्टीमा लागेका र आफूलाई कम्युनिस्ट भन्नेहरूलाई नजिकबाट देखेको थिएँ। कम्युनिस्टको एउटा जड त हाम्रो आफ्नो घरमै पलाएको थियो मेरा बाको स्वरूपमा। मेरा बा रानी-जोगबनीको बबिन मिलमा काम गर्ने मजदुर हुँदैखेरि सात सालको क्रान्तिमा बन्दुक बोकेर विराटनगरको राणा बडाहाकिम उत्तमशमशेरको निवासमा धावा बोल्ने डफ्फामा सामेल हुनुभएको थियो। राणाशाहीको दुर्ग मानिएको भवनउपरको आक्रमणमा त्यसरी भाग लिएपछि रोपिएको क्रान्तिको बीजले उहाँलाई कम्युनिस्ट बनाएको हुनुपर्छ जुन सिद्धान्तप्रति उहाँ जीवनपर्यन्त बफादार रहनुभयो। म चार-पाँच वर्षको हुँदासम्म बा घरमा बहुधा अनुपस्थित हुनुहुन्थ्यो। असलमा मेरो बाल्यकाल उहाँले नडोर्‍याईकन बित्यो भन्दा हुन्छ। धेरै पछि म वयस्क भएर राजनीतिका कुरा बुझ्ने भएपछि मात्र थाहा पाएको थिएँ उहाँ त्यसरी घरबाट लामो समय गायब रहने र घर आए पनि एक रातको बासपछि कतै गइहाल्ने कारण। त्यो समय देशमा कम्युनिस्ट पार्टीउपर प्रतिबन्ध लागेको समय रहेछ जो संवत् २००८ देखि २०१२ सम्म कायम रहेको थियो। लरीचालकको पेसाले उहाँलाई त्यसै पनि टाढा टाढा लैजान्थ्यो त्यसमाथि सक्रिय कम्युनिस्ट भएकाले गोप्य तवरमा पार्टीको काम गर्नुपर्ने। उहाँ घरबाट गायब रहने असली कारण त्यो रहेछ।

हाम्रो घरमा उहाँका कामरेडहरू बरोबर आइरहन्थे। तिनमा सबैथरीका मानिस हुन्थे- बिनाजुत्ता खाली गोडा हिँड्ने मजदुर, किसान भनिनेदेखि साना खुद्रे व्यापारी, निम्नस्तरका जागिरेदेखि शिक्षक तथा पढालेखा व्यक्तिसमेत। महानिर्वाचन नाउ दिइएको संवत् २०१५ को पहिलो आम निर्वाचनको समय नजिकिँदै जाँदा मानिसहरूको त्यो ओहोरदोहोर, आनाजाना झनै बढ्न गएको थियो। उनीहरू लामो समय छलफलमा अल्झिन्थे। मार्क्सवाद, समाजवाद, साम्यवाद, पुँजीवाद, सर्वहारा वर्गजस्ता शब्द बातचितमा उल्लेख गर्थे। लेनिन, स्टालिन, माओत्से तुङका नाउ लिन्थे। बोल्सेभिक क्रान्ति र चिनियाँ क्रान्तिबारे घोत्लिन्थे। रुस र चीनमा झैँ नेपालमा किसान र मजदुरहरूको शासन ल्याउनुपर्छ भन्थे।

अंग्रेजी धेरै टाढाको कुरा थियो त्यसैले उनीहरूले बुझ्ने र पढ्ने क्रान्तिका किताब प्रायः हिन्दीमा हुन्थे। पढालेखा कामरेडहरू महापण्डित राहुल सांकृत्यायनलिखित मानव समाज, भागो नहीं दुनिया को बदलो, साम्यवाद ही क्यो, वैज्ञानिक भौतिकवाद, म्याक्सिम गोर्कीका माँ, मेरे विश्वविद्यालय, निकोलाइ ओस्त्रोवस्कीको अग्निदीक्षा, यशपालको दादा कामरेड, कृश्न चन्दरको एक गधे की आत्मकथा, ल्यु साओ चीको असल कम्युनिस्ट कैसे बनें ? जस्ता पुस्तकको चर्चा गर्थे। त्यसैबेलातिर नेपाली भाषामा प्रकाशित गोविन्द लोहनीले लेखेको यो हो सोभियत रुस आजको चीन तथा जगतमोहन अधिकारीद्वारा लिखित कामरेड जाने होइन? जस्ता कथाका पुस्तकहरू नपढी नहुने बताउँथे।

चीनमा कम्युनिस्ट क्रान्ति सफल भएको एक दशक पनि पुगेको थिएन, तर रुसी क्रान्ति सम्पन्न भएको चार दशक नाघिसकेको थियो। चीन आफ्नो आन्तरिक स्थायित्व कायम राख्नमा नै मूलतः तल्लीन थियो भने उता सोभियत रुसले औद्योगिकीकरण र विज्ञान तथा प्रविधिमा ठूलो फड्को मारिरहेको थियो। उसले पहिलो भू-उपग्रह ‘स्पुत्निक’ अन्तरिक्षमा छाडेको थियो। पहिलो जीव लाइका नाउको कुकुरलाई परीक्षणस्वरूप अन्तरिक्षमा पठाउँदा पृथ्वीमा जीवित फर्कन नसके पनि त्यसको लगभग दुई वर्षपछि स्त्रेल्का र बेल्का नाउका दुईवटा कुकुरलाई भने अन्तरिक्षको यात्रा गरेर जिउँदै फर्काउन सफल भएको थियो। यसप्रकार मानवसहितको रकेट अन्तरिक्षमा पठाउन सकिने आधार तयार पारिएको थियो। अर्को दुई वर्षमा त युरी गागरिनलाई अन्तरिक्षमा सफलतासाथ पठायो पनि। अन्तरिक्षको दौडमा सोभियत संघले संयुक्त राज्य अमेरिकालाई धेरै पछाडि पारेको देखिन्थ्यो। यसबाट अन्यत्रका झैँ नेपालका कम्युनिस्टहरू पनि हौसिएका थिए। किनभने त्यतिन्जेल सोभियत रुस रहँदै आएको थियो विश्व कम्युनिस्ट आन्दोलनको प्रेरणापुञ्ज।

त्यसैबेलातिर भारतको केरल राज्यमा बालिग मतदानका आधारमा कम्युनिस्टहरू पहिलो निर्वाचित सरकार बनाउन सफल भएका थिए। बिनारक्तपात र बिनासशस्त्र क्रान्ति प्रजातान्त्रिक तवरबाट बनेको कम्युनिस्ट सरकारको विश्वमै यो सम्‍भवतः पहिलो उदाहरण थियो। इ एम एस नम्बुदिरिपाद केरलको मुख्यमन्त्री बने। जवाहरलाल नेहरूको केन्द्रीय सरकारले नम्बुदिरिपादको कम्युनिस्ट सरकारलाई हटाएर दुई वर्षपछि नै त्यहाँ राष्ट्रपति शासन लागु गराए त्यो छुट्टै कुरा हो। तर जतिन्जेल केरलमा कम्युनिस्ट सरकार टिक्यो त्यो नेपाली कम्युनिस्टहरूका लागि औधी प्रेरणादायी विषय थियो। उनीहरू नम्बुदिरिपादको विद्वत्ता र सादगीपनको दुहाइ दिन्थे।

राजनीतिक रूपमा कम्युनिस्टहरूको उत्साह एकदमै चुलिएको यस्तै बेलामा (कम से कम धरानमा) २०१५ को महानिर्वाचन भनिएको आम चुनाव आयो। कम्युनिस्ट पार्टीले चुनाव चिह्न पाएको थियो एउटा हँसियाको माझमा तीन घोगा मकै। नेपाली कांग्रेसको चुनाव चिह्न झ्याम्म परेको एउटा फिट्टो रूख थियो भने गोरखा परिषद्को घर थियो क्यार! डा. के आई सिंहको संयुक्त प्रजातन्त्र पार्टीको चिह्न चाहिँ धानको बाला थियो।

मुख्यमन्त्रीको हैसियतमा उनले पाउने सरकारी गाडीमा नम्बुदिरिपाद परिवारका सदस्यलाई त के आफ्नी पत्नीलाई समेत ‘यो सुविधा तिमीहरूका लागि होइन, सरकारले मुख्यमन्त्रीलाई दिएको हो’ भनेर चढाउन्नँ भनेको चर्चा गर्थे। केरलमा भोटद्वारा नै कम्युनिस्ट सरकार बन्छ भने नेपालमा किन बन्न नसक्ने भनी आफ्नो तर्कलाई विश्वासिलो बनाउँथे। उनीहरू यस्तो सरकार आउनेमा विश्वस्त थिए जसले किसानहरूलाई जोतअनुसारको पोत दिन्थ्यो, दुःखीगरिबलाई दुई छाक खान पुग्ने रोजगार दिन्थ्यो, छोराछोरीलाई नि:शुल्क शिक्षा दिन्थ्यो, बिरामी परेका बेला औषधिमुलो गराइदिन्थ्यो, टाउकामाथि एउटा छानो दिन्थ्यो, समानतामा आधारित अमनचैन दिन्थ्यो। उनीहरू एकआपसलाई ‘कामरेड’ भनेर सम्बोधन गर्थे। त्यो यस्तो सम्बोधन थियो जो पुलिंग र स्त्रीलिंग दुवैका लागि समानरूपमा प्रयोग हुन्थ्यो। समानता र बन्धुत्वको अभिव्यक्ति थियो त्यो सम्बोधन। उमेरको भेदभाव पनि थिएन त्यसमा। एउटा तन्नेरी प्रौढ व्यक्तिको कामरेड हुन सक्थ्यो वा प्रौढ व्यक्तिको कामरेड तन्नेरी हुन सक्थ्यो। ओहोदाक्रमको कुनै गन्ध थिएन त्यस सम्बोधनमा।

राजनीतिक रूपमा कम्युनिस्टहरूको उत्साह एकदमै चुलिएको यस्तै बेलामा (कम से कम धरानमा) २०१५ को महानिर्वाचन भनिएको आम चुनाव आयो। कम्युनिस्ट पार्टीले चुनाव चिह्न पाएको थियो एउटा हँसियाको माझमा तीन घोगा मकै। नेपाली कांग्रेसको चुनाव चिह्न झ्याम्म परेको एउटा फिट्टो रूख थियो भने गोरखा परिषद्को घर थियो क्यार! डा. के आई सिंहको संयुक्त प्रजातन्त्र पार्टीको चिह्न चाहिँ धानको बाला थियो। त्यस पार्टीले ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो’ भन्ने आकर्षक चुनाउ प्रचार गीत बनाएको थियो जो निकै लोकप्रिय बनेको थियो।

मैले पनि आठ-नौ वर्षको आफ्नै उमेर समूहसित मिलेर हँसिया र तीन घोगा मकै चिह्न छापिएको हाते पर्चा बाँडिहिँडेको थिएँ। तुल, ब्यानर र अनेक झल्लरका तडकभडकयुक्त प्रचार केही थिएन उसबेला, माइकिङधरि दुर्लभ थियो। धरान निर्वाचन क्षेत्र नम्बर ३३ मा परेको थियो र दिव्यराज आचार्य थिए कम्युनिस्ट पार्टीका उम्मेदवार। आँखामा चस्मा लगाउने रोबदार आवाजका धनी दिव्यराज हक्की र स्पष्टवक्ता भनेर चिनिन्थे। बा र उहाँका कामरेडहरूलाई पूर्ण विश्वास थियो आफ्नो उम्मेदवारको जितमा। तर जब निर्वाचनको नतिजा निस्क्यो सबैको आशाविपरीत बाजी मारे नेपाली कांग्रेसका उम्मेदवारले जो धरानबासीका लागि लगभग अपरिचित व्यक्ति थिए टाढा कतै इनरुवातिरका। कम्युनिस्ट र कांग्रेस उम्मेदवारबीच कति कडा मुकाबिला थियो त्यो उनीहरूले प्राप्त गरेका मतसंख्याबाटै प्रस्ट हुन्थ्यो। केवल १४८ मतले पछाडि परेका थिए कम्युनिस्ट उम्मेदवार दिव्यराज आचार्य।

त्यस चुनावको एउटा रमाइलो पक्ष चाहिँ के थियो भने सिनुवारीका एक जना दानालाल चौधरी नाउका स्वतन्त्र उम्मेदवार उठेका थिए र तिनको चुनाव चिह्न परेको थियो फणा उठाएको गोमन सर्प। त्यो चुनाव चिह्न यति प्रसिद्ध भयो कि चुनावपछि गोमन सर्पलाई गोमन नभनी दानालाल भन्ने थेगो नै बसालेका थिए धरानबासीले। दानालाल आयो, दानालालले डस्ला, दानालालसित होसियार, दानालालसित जोगिनु भन्ने गर्थे मानिसहरू।

धरान रहेको निर्वाचन क्षेत्रमा भन्दा कम्युनिस्टहरूका लागि हृदयविदारक नतिजा थियो सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३७ को जहाँ पार्टीका उम्मेदवार कृष्णराज वर्मा केवल १०७ मतको अन्तरबाट एक जना स्वतन्त्र उम्मेदवारबाट पराजित भएका थिए।

कुल १०९ सदस्य रहेको संसद्‌मा  नेपाल कम्युनिस्ट पार्टीले जम्मा चार सिट जितेको थियो जसमा ललितपुरबाट तुलसीलाल, पाल्पाबाट कमलराज रेग्मी र रौतहटबाट दुई उम्मेदवार परेका थिए। नेपाली कांग्रेसले ७४ सिट जितेर एकमना सरकार बनायो, नेपाल राष्ट्रवादी गोर्खा परिषद्ले १९ सिट र संयुक्त प्रजातन्त्र पार्टीले पाँच सिट ल्याएर संसद्‌मा क्रमशः दोस्रो र तेस्रो पार्टी बन्न पुगे। चार सिट ल्याउने कम्युनिस्ट पार्टी संसद्‌मा पनि चौथो स्थानमा रह्यो। जम्मा ४७ स्थानमा उम्मेदवार उठाएको कम्युनिस्ट पार्टीका लागि यो नतिजा केही अप्रत्याशित थियो। यसका संस्थापक नेता पुष्पलालसमेत काठमाडौँमा नेपाली कांग्रेसका गणेशमान सिंहबाट पराजित हुन पुगेका थिए निर्वाचनमा।

आम निर्वाचनमा हार खानुपरे पनि त्यसको दुई वर्षपछि भएको धरान नगरपालिकाको चुनावमा नौवटा वडामध्ये आठवटा वडामा चुनाव जितेर कम्युनिस्टहरूले त्यस हारको साटो फेरे। राजनीतिमा यस्तै उलटपुलट हुन्छ- कहिले तल कहिले माथि। केदारनाथ खनाल धरान नगरपालिकाको पहिलो मेयर तथा कृष्णप्रसाद श्रेष्ठ बीए उपमेयर बने। विजयी वडा सदस्यहरूमा राम ताम्राकार, यज्ञप्रसाद आचार्य, केशवप्रसाद आचार्य र गोविन्द मोक्तान कम्युनिस्ट पार्टीका थिए भने योगेन्द्रबहादुर थापा र सूर्यप्रसाद उपाध्यायले कम्युनिस्ट पार्टीको समर्थनबाट जितेका थिए। नेपाली कांग्रेसका भागवतगोविन्द श्रेष्ठ एक्ला थिए वडा नं २ बाट जित्ने।

धरान नगरपालिकाको चुनावमा जित्ने उम्मेदवारहरू स्थानीय तवरमा कम्युनिस्ट भनेर चिनिएकाहरू नै थिए। तिनमा कृष्णप्रसाद श्रेष्ठ र यज्ञप्रसाद आचार्य अरू हेरी नयाँ थिए, तर पढालेखा थिए- बनारसबाट बीए पास गरेर आएका। धरानमा बीए पास गर्ने पहिलो व्यक्ति भएका कारण कृष्णप्रसाद श्रेष्ठको त बोलाउने नाउ नै ‘बीए कृष्ण’ हुन गएको थियो।

कम्युनिस्टहरूमाझ एकआपसमा एक किसिमको बिरादरीको भावना र व्यवहार थियो उसबेला। बाटामा भेट्दा ‘फलानाको छोरा होइन? नानी कता हिँड्यौ?’ भन्थे, सरोकार जताउँथे। नानी उसबेला केटा र केटी दुवैलाई ठूलाले प्रयोग गर्ने उभयलिंगी सम्बोधन थियो।

यीबाहेक धरानका उसबेलाका जानेमानेका कम्युनिस्टहरूमा थिएः ईश्वरमान विश्वकर्मा, जदुबीर विश्वकर्मा, हिरालाल विश्वकर्मा, तुलाराम विश्वकर्मा (टीआर विश्वकर्मा), छविलाल लम्साल, विष्णुकुमार हमाल ठकुरी (बीकेटी), बाँझगराका श्रीबहादुर आले र निर्मल गिरी, पृथ्वीमान मोते, धनबहादुर थापा (बर्मेली), भीम मास्के, कृष्णभगत श्रेष्ठ, चन्द्रबहादुर श्रेष्ठ, मेरा बा इन्द्रबहादुर थापा र चिनीदेवी श्रेष्ठ जसलाई सबैजना ‘नीनी’ भनेर बोलाउँथे।

यिनमा बाँझगराका श्रीबहादुर आले र निर्मल गिरी तथा धनबहादुर थापालाई मैले भेटेको वा चिनेको थिइनँ। बाँकी सबैलाई मैले उसैबेला चिनेको थिएँ। ईश्वरमान विश्वकर्मा हाम्रो घरनजिकै हात्तीसारको डाँडामा बस्थे र पेसाले गहना कमाउने काम गर्थे घरैमा बसेर। नि:सन्तान थिए तिनी। मलाई भेट्दा प्यार दुलारको व्यवहार गर्थे। बडा भलादमी र मृदुभाषी तिनी केही आध्यात्मिक झुकावका थिए, नित्य गीता पाठ गर्ने। उनका वचन नपेतुलेका र संयमित तथा केही परिष्कृत प्रकृतिका हुन्थे। कसैको लोग्ने भन्नुपर्दा ‘उनको नाथ’ भन्ने शब्दावली प्रयोग गर्थे। ‘हाथी चले बाजार तो कुत्ता भौंके हजार’ मैले उनकै मुखबाट पहिलोचोटि सुनेको थिएँ र सुगाले जसरी टिपेको थिएँ जसलाई अद्यापि बिर्सेको छैन। उनकै सिको गर्दै प्रयोग पनि गर्छु बेलाबखत।

जदुबीरले पनि सुनको गहना कमाउने पुर्ख्यौली पेसा नै अंगीकार गरेका थिए, तर थिए बोलक्कड र झक्की स्वभावका। खोल्सापारि इलाकामा बस्थे क्यार! हिरालाल र तुलाराम ती दलित दाजुभाइ हुन् जसलाई पिँढीमा बसाएर पण्डित छविलाल पोख्रेलले पढाएका थिए उसबेला विद्यमान छुवाछुतको संकीर्ण परम्परा तोड्दै। पृथ्वीमान मोते त टोल्याहा नै थिए हाम्रोभन्दा दुईचार घर पर्तिर घर भएका। उनी कपडा नै सिलाउँथे बजारको एउटा कपडा पसलको बरन्डामा बसेर। टेलरिङ सप खुल्ने समय आइसकेको थिएन धरानमा। केही मोटो ज्यानका बीकेटी फरासिला स्वभावका थिए। मगरहरू ठकुरीका मावली हुन् भन्ने परम्परागत मान्यताअनुसार उनी मेरा बालाई मामा भनी बोलाउँथे। छविलाल लम्साल मजदुर नेता भनेर चिनिन्थे र थिए मेरा बाका जिग्री दोस्त। भीम मास्केको घर चतरालाइनको छाता चोकमै थियो। कृष्णभगत श्रेष्ठ र चन्द्रबहादुर श्रेष्ठ दुवै फुस्रेका बासिन्दा थिए। सधैँ मेकअपका साथ चिरिच्याट्ट देखिने पुरानोबजारकी चिनीदेवी केही कडा टाइपकी थिइन् बोली र मिजास दुवैका हिसाबले।

कम्युनिस्टहरूमाझ एकआपसमा एक किसिमको बिरादरीको भावना र व्यवहार थियो उसबेला। बाटामा भेट्दा ‘फलानाको छोरा होइन? नानी कता हिँड्यौ?’ भन्थे, सरोकार जताउँथे। नानी उसबेला केटा र केटी दुवैलाई ठूलाले प्रयोग गर्ने उभयलिंगी सम्बोधन थियो। अचेल खासगरी काठमाडौँमा त्यसको लिंगभेद गरी केटीको हकमा मात्र प्रयोग गरिन्छ र सानो केटालाई बाबु भन्ने गरिन्छ। बाबु त मान गरेर नामका अघिल्तिर राखिने उपसर्ग थियो, जस्तै बाबु राजेन्द्रप्रसाद (भारतका प्रथम राष्ट्रपति)। बाका धेरैजसो कामरेड मित्रहरू सहृदयी लाग्थे मलाई पनि। ‘अंकल’ भन्ने अहिले सर्वव्यापी भएको भावनात्मक सम्बन्धबिनाको साइनो भित्रिइसकेको थिएन हाम्रो दैनन्दिन लवजमा। व्यक्ति हेरी म काका या ठूलो बा जे सुहाउँदो हुन्छ त्यो साइनो लगाएर पुकार्थें बाका कामरेडहरूलाई। अथवा मलाई सिकाइएअनुसारको साइनो लगाउँथेँ, जस्तै धनकुटादेखिकै बाका जिग्री दोस्तहरूमा दुई राजभण्डारी दाजुभाइ थिए। दाजु चाहिँलाई ‘तरी बा’ (वा तरीम बा) र भाइलाई ‘चिरी बा’ भनेर नेवार भाषामा आदरार्थी साइनो प्रयोग गर्थें जस्तो मलाई सिकाइएको थियो।

मेरी आमातर्फबाट साइनो लगाउनु चाहिँ मलाई सजिलो थियो। आमालाई भाउजू भन्नेलाई म काका भन्थेँ भने दिदी भन्नेलाई मामा। बाका राजनीतिक मित्रमण्डलीमा स्थापित भाइचाराले त्यस्तो निकट भावनात्मक सम्बन्धलाई जन्माएको थियो। साह्रोगाह्रोमा एकअर्कालाई सघाउनुपर्छ, कम्युनिस्टहरू त्यागी र समाजसेवी हुनुपर्छ भन्नेमा उनीहरूको जोड थियो। उत्तिकै जोड सदाचारमा पनि थियो। जुवातास खेल्नु हुन्न र मध्यपान गर्नु हुन्न भन्ने मान्यता राख्थे। त्यस मान्यताको अमल पनि गर्थे।

पुराना कम्युनिस्ट नेता रामप्रसाद खनालको भनाइमा त्यो यस्तो बेला थियो जतिखेर धरानका प्रत्येक दोस्रो घर या त कम्युनिस्टको थियो या कम्युनिस्ट समर्थकको। आम निर्वाचनमा धरानको बहुमत कम्युनिस्ट उम्मेदवारको पक्षमा त्यसै खसेको थिएन। अर्को आम निर्वाचनमा अवश्य राम्रो गर्नेछौँ भनेर डटेका थिए राजनीतिको अभरिलो चिप्लो मैदानमा कम्युनिस्टहरू। पार्टीको संगठन र कामरेडहरूको जोस हेर्दा उनीहरूको त्यो आकांक्षा पूरा हुन असम्भव लाग्दैनथ्यो। तर त्यो अर्को आम निर्वाचन फेरि भएन।

बरु त्यसबेला नब्बे सालको भन्दा कडा राजनीतिक भुइँचालो गयो मुलुकमा। त्यो भुइँचालो थियो निर्वाचनमार्फत अठार महिनाअघि मात्र बनेको सरकारलाई बर्खास्त गर्ने राजा महेन्द्रले गरेको शाही घोषणा। त्यो पुस १ गतेको दिन थियो २०१७ सालको। त्यस दिन अपराह्न एउटा डकोटा जहाज निकै तल्लो उचाइमा धरान बजारमाथि अकस्मात् देखा पर्‍यो र आकाशमा एकदुई फन्को मार्दै हाते पर्चा छरेर गयो। संयोगले म त्यतिखेर धरान अस्पतालनजिकको सडकमा हिँडिरहेको थिएँ घरतिर आउने क्रममा। बाटामा हिँड्ने अरूजस्तै आकाशबाट झारिएको पर्चा समात्न दौडेको थिएँ म पनि। ‘आगे प्रजा गैह्रके…’ भनेर सम्बोधन गरिएको त्यो पर्चा राजाले देशको शासनसत्ता आफ्नो हातमा लिएको जनाउ थियो जनसाधारणलाई।

राजाको घोषणापछि सुरु भयो अनिश्चय र त्रासको एउटा लामो दौर। प्रतिबन्ध, गिरफ्तारी, खानतलासी, हिरासत र वारन्टको त्यस दौरमा प्रायः सबै पार्टीका नेता र कार्यकर्ताहरूको भागाभाग भयो। सरकारको निसानामा कामरेडहरू पनि परे। कोही समातिए, कोही भाग्न सफल भए। ‘लाल सलाम कामरेड’ भन्ने सम्बोधन सुन्न छाडियो। हँसिया-हथौडा जडित लाल झन्डा गायब भए। कम्युनिस्ट पार्टी भनेर लेखिएका सूचनापाटी एकाएक हराए। हाम्रो घरमा भएका बाले पढ्ने कम्युनिस्ट शास्त्रका पुस्तक-पत्रिकाहरू बोरामा खाँदेर छिमेकको घरमा लुकाइए। बा आफैँ सम्‍भावित गिरफ्तारीबाट जोगिन कतै लुक्न जानुभयो। भाग्ने क्रममा सिमाना काटेर भारत नै पुग्नेहरू पनि कैयन् थिए। कति त पछिसम्मै उतै निर्वासनमा रहे।

अनपेक्षित त्यस राजनीतिक भुइँचालोको धक्काबाट राजनीतिक पार्टीहरू लथालिंग भए। त्यस भुइँचालोद्वारा उत्पन्न कोलाहल मत्थर हुन्जेल र धुलोमुलो सफा हुँदासम्म धेरै कुरा बदलिसकेका थिए। राजाले नयाँ संविधान जारी गरेर राजनीतिक पार्टीहरूको कुनै स्थान नभएको पञ्चायत नाउको निर्दलीय राज्य व्यवस्था लागु गरेका थिए। जंगबहादुरको पालाको मुलुकी ऐनको ठाउँमा नयाँ मुलुकी ऐन जारी भएको थियो। त्यसले छुवाछुत र जातप्रथाको उन्मूलन गरेको थियो। त्यसैले नयाँ मुलुकी ऐन जारी भएको दिन १ भदौलाई दलित समुदायका संघसंस्थाहरूले मुक्ति दिवस भनेर मनाउन लागेका थिए। जग्गाको स्वामित्वमा हदबन्दी कायम गर्ने भूमिसुधारको नीति लागु गरिएको थियो। पूर्व-पश्चिम राजमार्गको रेखांकन भएको थियो। साबिकको नगरपालिकालाई नगरपञ्चायत बनाएर त्यसको चुनाव पनि गराइसकिएको थियो। अब मेयर होइन त्यसको ठाउँमा प्रधानपञ्च र उपमेयरको ठाउँमा उपप्रधानपञ्च रहने नयाँ व्यवस्था गरिएको थियो।

केही थिए पार्टी सिद्धान्तको कुम्लोलाई मिल्काएर राजा नै सबकुछ हुन् भनेर पञ्चायतमा लाग्ने र केही थिए पञ्चायती चुनावमा भाग लिँदालिँदै पनि आफ्नो पार्टीसितको संलग्नता भित्रभित्रै कायम राख्ने।

अवैध घोषित राजनीतिक पार्टीहरूभित्रै मत विभाजन भएको थियो अब के गर्ने भन्नेबारे। एकथरी थिए भारत निर्वासनमै बसेर राजाको निर्दलीय र अप्रजातान्त्रिक व्यवस्था विरुद्ध क्रान्ति गर्नुपर्छ भन्ने मतका। अर्काथरी थिए नेपालभित्रै रहेर आन्तरिक संघर्ष गर्ने र त्यसका लागि राजाले खडा गरेको पञ्चायतका निकाय तथा वर्गीय संगठनहरूमा प्रवेश गर्दै चुनाव लड्नुपर्छ भन्ने विचारका। यो आन्तरिक मतमतान्तर प्रतिबन्धित नेपाली कांग्रेस र कम्युनिस्ट दुवै पार्टीमा थियो। तर नेपाली कांग्रेसभित्र त्यो मतमतान्तर गुट विभाजनमा मात्रै सीमित रह्यो भने कम्युनिस्टहरू त प्रतिबन्धित अवस्थामै दुई फ्याकमा विभाजित भए। कालान्तरमा त अनेक टुक्रामा विखण्डित हुँदै गए।

साबिकका राजनीतिक पार्टीका नेता र कार्यकर्ताहरू लाखापाखा लागेका थिए। कोही थोरै जेल सजाय पाएर छुटेका थिए, कसैले माफी पाएका थिए, कोही झ्यालखानभित्रै थिए, कति लुकीछिपी बसेका थिए, कसैको वारेन्ट खारेज भएको थियो, कति भारत निर्वासनमै कुइच खाइरहेका थिए। कतिले पञ्चायत प्रणालीप्रति त्वम् शरणम् गरेका थिए। कोही पदको प्रलोभनमा परेका थिए। कोही सरकारी गुप्तचरमा रूपान्तरित भएका थिए।

केही थिए पार्टी सिद्धान्तको कुम्लोलाई मिल्काएर राजा नै सबकुछ हुन् भनेर पञ्चायतमा लाग्ने र केही थिए पञ्चायती चुनावमा भाग लिँदालिँदै पनि आफ्नो पार्टीसितको संलग्नता भित्रभित्रै कायम राख्ने। धरान नगरपालिकाका प्रथम मेयर केदारनाथ खनाल पाटनको मजिस्ट्रेट पद पाएर धरानबाट हिँडे। भाषणमा आगो ओकल्ने हिरालाल विश्वकर्मा पञ्चायत राजनीति अंगीकार गरेर पछि सहायक मन्त्री बने। विष्णुकुमार हमाल (बीकेटी) र यज्ञप्रसाद आचार्यहरू कम्युनिस्ट सिद्धान्तलाई पूरै तिलाञ्जली दिएर पञ्चायतमा लाग्नेमध्ये पर्थे। यज्ञप्रसाद आचार्य त नेपाल युवक संगठनको केन्द्रीय सभापति नै भए।

दोस्रो कोटिमा पर्थे गोविन्द मोक्तानजस्ता नेता जो दुई दुई पटक प्रधानपञ्च चुनिए पनि प्रतिबन्धित कम्युनिस्ट पार्टीको सदस्य रहिरहे। मेरा बा पनि नेपाल मजदुर संगठनको केन्द्रीय सदस्य हुनुभयो। माथि उल्लिखित केही व्यक्तिमध्ये अपवादबाहेक बाँकी जति पनि पुराना कम्युनिस्ट थिए ती सबै जीवनपर्यन्त कम्युनिस्ट रहे।

प्रजातन्त्रको उदयकालदेखि नै कम्युनिस्टको बेर्ना उमार्ने मलिलो ब्याड रहँदै आएको थियो धरान, अर्को भाषामा कम्युनिस्ट ह्याचरी। त्यसैले लालकिल्ला या लालगढ भनेर चिनियो धरान। यस मजबुत किल्लाको जग बसाल्ने निर्माणकर्ताहरू को थिए धरानमा?

नेपाली कम्युनिस्ट पार्टीको स्थापना संवत् २००६ मै कलकत्ता (हालको कोलकाता)मा भएको थियो र त्यसको लगत्तैजसो वा २००७ सालतिर गोप्य तबरमा धरानमा त्यस पार्टीको शाखा खुलेको हुन सक्ने अनुमानसम्म गर्न सकिन्छ यकिनसाथ भन्न नसके पनि। सात साल या आठ साल जहिले खुलेको भए पनि सुरुको त्यस कमिटीमा महेन्द्रमोहन श्रेष्ठ, गणेश मास्के, गोपाल श्रेष्ठ, विष्णुप्रसाद पराजुली, ईश्वरमान विश्वकर्मा, गोपालचन्द्रसिंह प्रधान र यज्ञप्रसाद आचार्य (चुङवाङ निवासी) यी सात जना रहेको तथ्य केही वर्षअघि मात्र मैले थाहा पाएको थिएँ पुराना कम्युनिस्ट नेता रामप्रसाद खनालबाट। त्यस कुरालाई विजयपुरका कृष्णप्रसाद कोइरालाको हवाला दिँदै देवराज अधिकारीले पनि एक ठाउँमा लेखेर पुष्टि गरेका छन्।

मलाई आश्चर्य लागेको थियो जुलुसमा नारा उराल्दै हिँडेको कहिल्यै नदेखेको सधैँ आफ्नो घरको आरनमा बसेर गहना कमाइरहने मृदुभाषी मेरा बाका परममित्र ती भलामानुष ईश्वरमान विश्वकर्मा धरानका संस्थापक कम्युनिस्ट रहेको थाहा पाउँदा। अझ बढ्ता आश्चर्य त महेन्द्रमोहन श्रेष्ठ संस्थापक सेक्रेटरी थिए भन्ने थाहा पाउँदा लाग्यो। सरल र भद्र स्वभावका महेन्द्रमोहन धरान पब्लिक हाइस्कुलमा हामीलाई पढाउने सरमध्ये एक थिए। उनी सिद्धहस्त भ्वायोलिनवादक भएको तथ्य उनको व्यक्तित्वको छिपेको पक्ष थियो। उनको त्यो पक्ष उद्घाटित भएको थियो एकपटक हाइस्कुलको चउरमा आयोजित एक सांस्कृतिक कार्यक्रममा।

म दङदास भएको थिएँ उनले भ्वायोलिनमा ‘लागी छुटे ना अब तो सनम, चाहे जाये जिया तेरी कसम’ बोलको गीतको धुन बजाएको सुन्न पाउँदा। काली टोपी लाल रुमाल भन्ने हिन्दी फिलिमको त्यो गानामा भ्वायोलिनको विशिष्ट तान परेको थियो र उसबेला त्यो गानाका साथै फिलिम पनि खुबै हिट भएको थियो। भ्वायोलिनमा त्यस गानाको संगीत काटीकुटी उस्तै बजाएका थिए महेन्द्रमोहन सरले।

यस्ता संगीत साधक र विनम्र प्रकृतिका हाम्रा महेन्द्रमोहन सर कसरी क्रान्तिकारी हुन सक्थे कम्युनिस्ट पार्टीको संस्थापना गर्ने? पत्याउन गाह्रो थियो यो कुरा। मेरो अनुमानमा समेत थिएन उनी कुनै बेला कम्युनिस्ट क्रान्तिकारी थिए भन्ने। किनभने उनी राजनीतिबाट साँच्चै विरत र कोसौँ टाढा देखिन्थे। तर इतिहास यही हो भन्छन् जानिफकारहरू। उनीहरूका अनुसार २००८ सालमा राजा त्रिभुवनको धरान सवारी हुँदा कालो झन्डा देखाउने कुरामा मतभेद भएका कारण कम्युनिस्ट पार्टीबाट राजीनामा दिएर उनले चटक्कै छाडेका थिए राजनीति। देशमा प्रजातन्त्र कलिलो छ। अहिले राजाको विरोध गर्नु प्रजातन्त्रको हितमा हुँदैन। आखिर जनता र राजा मिलेबाट नै प्रजातन्त्र आएको हो भन्ने उनको विचार थियो रे। तर उनको विमतिका बाबजुद राजा त्रिभुवनलाई उनका पार्टीका कामरेडहरूद्वारा धरानमा कालो झन्डा देखाउने काम भयो।

भारतीयहरूले ‘कम्युनिज्म’ लाई साम्यवाद र कम्युनिस्टलाई साम्यवादी भनेर उहिल्यै हिन्दीमा रूपान्तरित गरेर नेपालीका लागि सजिलो बनाइदिएको भए तापनि किन हो त्यसको चलनचल्ती नेपालमा उत्ति भएन, खासगरी नामकरणको हकमा।

धरानमा कम्युनिस्टको बीउ रोप्ने संस्थापकहरूमा महेन्द्रमोहन सर र ईश्वरमान विश्वकर्माबाहेक अन्य पाँच जना मेरा लागि पूर्णतः अपरिचित र इतिहासको गर्तमा विलुप्त बिल्कुल गुमनाम पात्रहरू हुन्। कतै पढेको थिएँ धरानमा कम्युनिस्ट पार्टी खडा गराउने संयोजकको भूमिका चाहिँ डीपी अधिकारीले गरेका थिए, जसलाई मैले चिन्दा उनी विराटनगरमा बस्ने गर्थे। समयको फेर, तिनै अधिकारी पञ्चायतकालमा राजाको मन्त्री हुन पुगे।

भारतीयहरूले ‘कम्युनिज्म’ लाई साम्यवाद र कम्युनिस्टलाई साम्यवादी भनेर उहिल्यै हिन्दीमा रूपान्तरित गरेर नेपालीका लागि सजिलो बनाइदिएको भए तापनि किन हो त्यसको चलनचल्ती नेपालमा उत्ति भएन, खासगरी नामकरणको हकमा। यतिका पार्टी छन् आफूलाई मार्क्सवादी दर्शनका अनुयायी भएको दाबी गर्ने। तर कसैले पनि आफ्नो पार्टीको नाउ साम्यवादी भनेर राखेका छैनन् कम्युनिस्ट पार्टी भनेर नै राखेका छन्। व्यक्तिलाई पनि कम्युनिस्ट नै भन्छन् सबै, साम्यवादी भन्दैनन् हम्मेसी। केही आड र भरोसा बाँकी रहेकाले होला अझै पनि कम्युनिस्टको नाममा जनताले भोट दिइरहेछन्।

धरानमा पहिलो नगरपालिका गठन हुँदा होस्, नगरपञ्चायत बन्दा होस् या फेरि नगरपालिका भएपछि होस् कम्युनिस्टको छवि बोकेका या उनीहरूको समर्थन पाएकाहरूले नै चुनाव जित्दै आएको अकारण होइन। यसको पृष्ठभूमिमा उच्च आदर्शप्रति समर्पण भाव बोकेका अनेकन् ज्ञात-अज्ञात पुराना कम्युनिस्टहरूको त्याग र अविचलित निष्ठाको ताप रहेको छ। उनीहरूको नि:स्वार्थ परिश्रम र बलिदानका कारण नै हो धरान पछिसम्म पनि चिनिएको लालकिल्ला भनेर।

ती जो थिए घरको जगमा पुरिएका इँट तथा पत्थरझैँ अनाम गुमनाम, ती थिए कर्मनिष्ठ र सही मानेमा कम्युनिस्ट जो एकादेशको धरानमा संघर्षरत थिए एउटा सुनौलो भविष्य निर्माणका लागि। तिनको सामुन्ने आजको जुन धुपौरेहरूको भीड छ राजसी ठाँट र महलको विलासिताको पछाडि दौडिरहेका, ती त तुच्छ पथभ्रान्त कंकण लुब्ध पान्थहरू हुन्। कम्युनिस्ट किमार्थ होइनन्।