काठमाडौं। नेपालमा पहिलो संस्करणको एनपीएल (नेपाल प्रिमियर लिग) खेल्न आएका भारतका पूर्वस्टार ब्याट्सम्यान शिखर धवनको अनलाइन बेटिङमार्फत आर्जन गरेको सम्पत्ति रोक्का हुने भएको छ।
भारतको न्युज एजेन्सी पिटिआईले जनाएअनुसार मनी लाउन्ड्री रोकथाम कानुन (पिएमएलए) अन्तर्गत अनलाइन बेटिङ एप वन एक्स बेटको प्रमोशनबाट आम्दानी गरेका केही खेलाडी र अभिनेताको सम्पत्ति जफत गर्न लागिएको हो। जसमा धवनलगायत अन्य क्रिकेटरमा युवराज सिंह, सुरेश रैना, रोबिन उथप्पा समावेश छन्।
यस विषयमा अभिनेता सोनु सुद, अभिनेत्री मिमी चक्रवर्ती (ममता बनर्जीको पार्टीकी सांसद पनि) र अंकुश हाजरा (बंगाली सिनेमा) सँग सोधपुछ भएको समाचारमा उल्लेख छ।
भारत र नेपालमा अनलाइन बेटिङ गैरकानुनी छ। तर, यति हुँदाहुँदै पनि गत वर्ष त्रिभुवन विश्वविधालयको अन्तर्राष्ट्रिय खेल मैदानमा भएको पहिलो संस्करणको एनपीएलमा बेटिङ साइटको प्रचार गर्दै विज्ञापन राखिएको थियो। विभिन्न मिडिया र नेपाल प्रहरीले नेपाल क्रिकेट संघलाई अनलाइन बेटिङको लोगो हटाउन दबाब दिए पनि केपी ओली सरकारको आडमा क्यानले आफ्नै देशको कानुनको खिल्ली उडाउँदै निर्धक्क प्रचारप्रसार गरेको थियो।
शिखर धवन एनपीएल खेल्न कर्णाली याक्समा आवद्द भएका थिए। गैरकानुनी कमाईंको अनुसन्धान गर्ने प्रवर्तन निर्देशालय (इडी) का अधिकारीको भनाई उल्लेख गर्दै पिटिआईले लेखेको छ– अनलाइन बेटिङ एपबाट कमाएको रकम ‘प्रोसिड्स अफ क्राइम’ अर्थात अपराधबाट कमाइएको सम्पत्ति मानिनेछ।
वन एक्स बेटबाट भएको कमाईं उनीहरूले विभिन्न सम्पत्ति खरिद गर्न प्रयोग गरेको इडीको भनाई छ। यी सम्पत्ति संयुक्त अरब इमिरेट्स (युएई) मा खरिद गरेको पुष्टी भइसकेका छन्। उनीहरूले बेटिङ एपबाट गैरकानुनी कमाईं कति गरे, अहिले त्यसको मूल्यांकन गर्ने कार्य भइरहेको न्युज एजेन्सीले बताएको छ।