काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ आश्विन २०८२
अ+
अ-

काठमाडौं। यौन शोषणको आरोपमा भारतमा फेरि एक जना धार्मिक गुरू पक्राउ परेका छन्। भारतीय मिडियाका अनुसार स्वामी चैतन्यानंद सरस्वतीको नामले चर्चित पार्थ सारथी आगराबाट समातिएका हुन्।

उनको मोबाइलमा केही महिलासँग गरिएको च्याटको संवाद फेला परेको प्रहरीले जानकारी दिएको छ। जसमा महिलाहरूलाई आकर्षित गर्न उनले लोभ्याउने प्रस्ताव राखेको पुष्टी भएको छ।

चैतन्यानंदको फोनबाट केही एयरहोस्टेसको फोटो पनि फेला परेको छ। प्रहरीले उनीसँगै दुई महिला सहयोगीलाई पनि नियन्त्रणमा राखेको छ। भारतीय अखबारहरूले प्रहरी कार्यवाहीबाट जोगिन स्वामी चैतन्यानंद पछिल्लो समय भागी–भागी हिँड्ने गरेको जनाएका छन्। उनी सीसीटिभी क्यामेरा नभएको सस्तो होटलमा लुकेर बस्ने गर्थे। केही समय उत्तर प्रदेशको धार्मिक शहर वृन्दावन र मथुरामा पनि लुकेर बसेका थिए। उनका लागि सहयोगीहरूले होटलको व्यवस्थापन गर्थे।

उनी २७ सेप्टेम्बरमा आगराको एउटा होटलमा बसेको र प्रहरीले २८ अगस्टको बिहान साढे तीन बजे पक्राउ गरेको बताइएको छ। तर, प्रहरीले मंगलबार मात्र यसको खुलासा गर्‍यो, जब दिल्लीको पटियाला हाउस कोर्टले प्रहरीलाई ५ दिनका लागि हिरासतमा राखेर सोधपुछ गर्ने अनुमति प्रदान गर्‍यो।

उनीमाथि शारदा इन्स्टिच्युटको १७ छात्रामाथि यौन शोषण गरेको आरोप लागेको थियो। उनीविरूद्ध ४ अगस्टमा बसन्तकुञ्ज उत्तरी प्रहरी विभागमा उजुरी दर्ता भएको हो । त्यतिबेला उनी इन्स्टिच्युटको प्रमुख थिए। उजुरी परेपछि ९ अगस्टमा उनलाई पदबाट निस्कासित गरियो भने यसपछि फरार थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनी छात्राहरूलाई धम्की दिएर, अश्लील म्यासेज पठाएर र विदेश यात्राको लोभ देखाउँदै आफ्नो जालमा पार्थे। उनी आफ्नो विधार्थीलाई राती कोठामा बोलाएर परीक्षामा कम नम्बर दिने धम्की पनि दिन्थे। उनको मोबाइलको म्यासेज बक्समा छात्राहरूलाई ‘बेबी’, आइ लव यु’, आई अडोर यु’ जस्ता सन्देश पठाएको भेटिएको छ।

यस विषयमा ३२ छात्राहरूसँग सोधपुछ भइसकेको र १७ जनाले आफूमाथि यौन उत्पीडन भएको स्विकार गरेका छन्। स्वामी चैतन्यानंद सरस्वतीविरूद्ध पहिले पनि आपराधिक मुद्दा दायर भएको थियो। सन् २००९ मा उनीविरूद्ध डिफेन्स कोलोनीमा धोका दिएको आरोप लागेको थियो।

सन् २०१६ मा पनि एक महिलाले आफूमाथि उत्पीडन गरेको आरोप लगाएकी थिइन। स्वामीको निजी जीवनको विषयमा अहिले पनि धेरै कुरा बाहिर आएको छैन। उनी २०१० देखि शारदा इन्स्टिच्युट अफ इन्डियन मेनेजमेन्ट ट्रस्टमा आवद्ध थिए। ट्रस्टले छात्राहरूलाई शिक्षा उपलब्ध गराउँदै आइरहेको छ। स्वामीको उमेर ६२ वर्ष बताइएको छ। उनले अमेरिकाको शिकागो विश्वविद्यालयबाट एमबीए गरेका थिए भने २८ पुस्तक प्रकासन गरिसकेका छन्।